वसन्त लोहनी
बदलिँदो आकाश, समयको उथलपुथल
अभावको जिन्दगी, नियतिको खेल
अपराधको यात्रा, अन्तको थाक्रो
गाएको गीत, बुलन्द वाक्पटुताको
कोरिबाटी गर्दै जाँदा
स्वसिर्जित बौद्धिक शिखरमा पुगेको ऊ
आजकाल झन् टुप्पिएको छ।
आफूमाथि खिसी गरिरहेको आकाश
उ देख्न सक्दैन
बिजुली चम्किदा बल्ल डराउँछ
निर्वस्त्र देखिन्छु भनेर
आफूमाथि टम्म बादल लाग्दा
बल्ल आश्वस्त हुन्छ आफ्नो शिखरत्वको
ढुक्क बनेर चहलपहल देखाउँछ
अनि निहुँ खोज्छ शक्ति देखाउन
लुरुलुरु पेटीमा हिँडिरहेकासँग
अनाहक ब्वाँसोले जस्तो तर्साएर
हुस्सु लागेर अरूले नदेख्ने भएको बेला
तलतिर हेर्छ ऊ चारैतिर, परैसम्म
ठुलो बस्ती देख्छ
आफ्नो अगाडि त्यहाँ सब लिलिपुटियन
सब खिइँदै गएर बामपुड्के भएका
एक अर्कोलाई धकेलिरहेका,
गाली गर्दै चकमा दिइरहेका
कलङ्क र विरूप चेहराहरू
बहस गर्छन् अरूको अस्वाभाविक व्यवहारको
आशय बुद्धिको बौद्धिक व्याख्या गर्छन्
बस्तीको त्यो बन्द कोठाभित्र
मञ्चन भइरहेको अत्यन्त महँगो रमितामा
स्वसिर्जित तीक्ष्ण बौद्धिकता
ओडाल्न थाल्छ ऊ
आफ्नो ज्ञानको विश्वरूप देख्छ
घनिभूत बादलको उज्यालो
अनि आफैलाई आश्वस्त गर्छ
र, आफैँलाई भन्छ –
हराएर जाँदैछन् लाटोकोसेरोको दूर दृष्टिमा
मुस्टेले हानेको वेगमा शिखर चुम्न चाहनेहरू
घर छेउको आलीमा बेपत्ता हुनेछन्
उसको अहंले हाँकेको चाहतको यान
अझै उडिरहेको छ
झ्वाम्म अगाडि गिरिराज देखेर झस्किएको बेला
उसका बन्धु बान्धवको वितण्डा
गिरिराज छेक्न खोज्दै छ
उसका हनुमानले न गिरिराज उडाउन सक्छन्
न त्यहाँ छ कुनै सञ्जीवनी
छ केवल उसैले रोपेको वत्सनाभ
अहिले पूरा झाँगिएको अवस्थामा
अन्त्यमा –
के देखायो यहाँ देख्नेले जानुन्
के भोगायो भोग्नेले जानुन्
म त बालक तोते बोलीको
निश्चल हाँसो उज्यालोको
न लुट भोलिको यो जिउने हाँसो
तिम्रो खेल खेल्दै अँध्यारोको।
प्रतिक्रिया