देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डको भ्रमण बधाई दिन कि आशीर्वाद लिन !

देशान्तर


देशान्तर विशेष संवाददाता
काठमाडौं । डेढ वर्षमा तीन पटक गठबन्धन फेरेर आफ्नो सत्तालाई निरन्तरता दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्ड एक वर्षमा दोस्रो पटक भारत भ्रमणमा जा“दैछन् र यसपालि उनको भ्रमणको बहाना छ, भारतमा तेस्रो कार्यकालका लागि नरेन्द्र मोदीको शपथ । आफ्नो शपथमा छिमेकी देशहरूका राष्ट्र तथा सरकार प्रमुखहरूलाई बोलाउने मोदीको यसअघिको परम्परालाई कायमै राख्दा प्रचण्ड पनि सोही निम्तोमा आइतबार बिहान नया“ दिल्लीका लागि उड्ने तयारी गरिरह“दा उनको भित्री उद्देश्य भने मोदीलाई बधाई दिनेभन्दा पनि आफ्नो सत्ता टिकाउन मोदीको आशीर्वाद लिने रहेको राजनीति र कूटनीतिक मामिलाका जानकारहरूको विश्लेषण छ । मोदीले आफ्नो शपथग्रहण समारोहमा जो जसलाई निमन्त्रणा दिएका छन्, त्यसको सूची हेर्दा पनि थाहा हुन्छ कि मोदीप्रति लचक, आश्रित र उनको पदचाप पछ्याउन राजी हुनेलाई मात्रै उनले आमन्त्रण गरेका छन् । शपथ समारोहमा सहभागी भएमा मोदीको समर्थन पाउने अपेक्षाका साथ प्रचण्ड दिल्ली जा“दैछन्, तर, उनको अभिलाषा पूरा हुन्छ कि हु“दैन मोदीको सरकार पूर्णरूपमा बनेपछि थाहा हुने राजनीतिक विश्लेषकहरूको ठहर छ ।
प्रचण्डको यो भ्रमण यसकारण पनि विवादित छ कि, भारत सरकारले औपचारिक निम्तो बुझाएका नेपालका दिल्लीमा रहेका कूटनीतिज्ञ राजदूत डा. शंकर शर्मालाई फिर्ता बोलाएर उनी जाँदा भारतको विदेश मन्त्रालयले के सोच्छ भन्ने साधारण कूटनीतिक ज्ञान पनि उनमा नदेखिएको यस मामिलाका जानकारहरूको बुझाइ छ ।
फागुन २१ मा कांग्रेससहितको गठबन्धन छाडेर एमाले र रास्वपासहितको गठबन्धन बनाएका प्रचण्ड फेरि कुन बेला गठबन्धन भत्किने हो भन्ने त्रासमा छन् । गठबन्धन जोगाउन सरकारमै सहभागी दलहरूलाई समेत फुटाउने रणनीति अपनाएका प्रचण्ड र केपी शर्मा ओली अझै पनि गठबन्धन सुरक्षित नरहेको निष्कर्षमा पुगेका छन् र त्यसका लागि अन्य हत्कण्डा अपनाउने रणनीतिमा छन् । बजेटले माओवादी र एमालेका बीचमा नै दूरी बढाएको छ । त्यसबीचमा माधवकुमार नेपालको एकीकृत समाजवादी र प्रचण्डलाई विश्वासको मत दिएका अन्य साना दलका बीचमा बढेको विवादले ओली र प्रचण्ड त्रसित छन् । त्यसैमाथि भारतमा चुनावपछि बदलिएको राजनीतिक परिस्थितिको असर पनि वर्तमान सत्ता समीकरणमा पर्ने आकलन गरिएको छ ।


भारतमा चुनावी माहोल सुरु भएपछि नेपालमा भएको गठबन्धन परिवर्तनलाई लिएर उतिबेला नै चुनावपछि भारतको असर पर्न सक्ने चर्चा गरिएको थियो । एकल बहुमत गुमाए पनि भारतमा नरेन्द्र मोदीले नै गठबन्धन सरकारको नेतृत्व गर्दैछन् र उनी आफ्नो मात्रै नभई गठबन्धनमा सहभागी अन्य दलहरूको पनि दबाबमा पर्न सक्नेछन् ।
विगतमा बाहिरी आवरणका रूपमा भारतलाई गाली गर्ने तर, भित्री रूपमा भारतसँग सम्बन्ध कायम गरी सत्तामा हाबी भएका एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय संस्थापन पक्षबीच पछिल्लो समय सम्बन्ध बिग्रेको छ । सम्बन्ध सुधारका लागि नयाँ राजदूत पठाउने ओलीको तयारी छ । भारतमा आफ्ना विश्वासपात्रलाई राजदूत बनाएर पठाएर सम्बन्ध सुधार गर्ने र त्यसपछि सत्तारोहण गर्ने ओलीको योजना रहेको एमालेका एक नेताले बताए । तर, हठातमा गरिएको पछिल्लो निर्णय र भारतको नीतिबीच तादम्यता भने नमिल्ने जानकारहरू बताउँछन् ।


प्रचण्डले आफ्नो सत्ता लम्ब्याउन पछिल्लो डेढ वर्षमा अनेक खेल खेलेका छन् । चुनावी गठबन्धनलाई धोका दिएर विपक्षी गठबन्धन मिलेर सरकार बनाएका प्रचण्डले सरकारको भविष्य सुरक्षित नदेखेर फेरि कांग्रेससहितको गठबन्धन फर्किए भने सहमतिअनुसार प्रधानमन्त्री पद छाड्नुपर्ने समय आउन लागेपछि उनी फेरि बालकोटको बार्दली पुगे । सत्ता जोगाउनकै लागि सहकारी ठगीको आरोप लागेका रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको साँचो जिम्मा लगाएका उनले सरकारमै रहेको जनता समाजवादी पार्टीलाई विभाजन गराइदिए । तर, सत्ताका लागि जे पनि गर्न तयार हुने प्रचण्ड सामु अब भने विकल्प हराउँदै गएको र भारतको साथमा सत्ता लम्ब्याउने रणनीतिमा लागेको धेरैको बुझाइ छ ।