देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिमण्डल हेरफेर ओलीको कारण रोकियो

देशान्तर


काठमाडौं । जसपा नेपाललाई विभाजन गराउन भूमिका खेलेका र सत्ता जोगाउन जे पनि गरिन्छ भनेर सार्वजनिक रूपमै घोषणा गरेका क्रान्तिकारी सत्तालोलुपको छवि बनाएका छविलाल उर्फ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले सत्ता जोगाउन बहुमत कायम राख्ने तिकडमलाई निरन्तरता दिँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका बेला सत्तारूढकै सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्रेक लगाइदिएका छन् ।


अबको पुनर्गठनमा सरकारलाई समर्थन गरेको दुई पार्टी जनमत र नाउपाबाट एक—एक जना मन्त्री वर्तमान मन्त्रिमण्डलमा भित्र्याउने प्रचण्डको तयारी थियो । यसका लागि उनले आन्तरिक छलफल पनि अगाडि बढाएका पनि थिए भने नाउपाकी अध्यक्ष रञ्जिता चौधरीले छिट्टै पर्यटनमन्त्री बन्ने पनि बताएकी थिइन् । वर्तमान सरकारका दुई मन्त्रीलाई फिर्ता बोलाएर नाउपा र जनमतबाट एक—एकजना मन्त्री भित्र्याउने तयारी स्वरूप प्रचण्डले आफूलाई टेको दिएको मुख्य बैसाखी अर्थात् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एक मन्त्री आफ्नो पार्टीबाट फिर्ता बोलाउने र एक मन्त्री एमालेबाट फिर्ता बोलाई नयाँ दुई मन्त्री भित्र्याउने भनेर याचना गरे पनि ओलीले एमालेका कुनै एक मन्त्री त्यसरी फिर्ता नबोलाउने र यसबारे तत्काल निर्णय नलिने बताएपछि पुनर्गठन तत्काललाई भने टरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथको निम्तोको बहानामा आइतबार दिल्ली जान लागेका प्रचण्डले दक्षिणको संकेत बुझेर थप कदम चाल्न पनि सक्ने आकलन राजनीतिक वृत्तमा गरिएको छ ।


जसपा नेपालको पार्टी फुट र विश्वासको मतविरुद्ध उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेकोे रिट हेर्दाहेर्दैमा रहेकोले अदालतको आदेश यादवको पक्षमा आएमा सत्ता संकट आउन सक्ने र यो सरकार कुनै पनि बेला ढल्न सक्ने भयले प्रधानमन्त्री पुष्पकमल दाहालको ढुकढुकी बढाइरहेको छ । त्यसो त वर्तमान गठबन्धन टिकिरहने कुरामा पनि प्रचण्ड ढुक्क छैनन् । त्यसैले हरेक भाषणमा उनले गठबन्धन टिक्ने र पाँचै वर्ष आफूले नेतृत्व गर्ने दाबी गर्दै आएका छन् । तर जसरी हुन्छ ‘टालाटुली बटुली’ गरेर सत्ता लम्ब्याउन चाहेका प्रचण्डले मधेस प्रदेशमा जनमतलाई मुख्यमन्त्री दिएर केन्द्रमा जनमत र नाउपा भित्र्याएर बहुमत कायम राख्न जे पनि गर्न तयार नेताका रूपमा आफूलाई उभ्याएका छन् । प्रचण्डले नेकपा एसले साथ छोड्ने र फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने पनि आफू निकटलाई सुनाउने गरेको स्रोेतले बताएको छ । त्यस्का लागि जनमत र नाउपालाई सत्तामा भित्र्याउन उनी आतुर छन् तर ओली भने नेकपा एसका दुई मन्त्रीलाई सत्ता बाहिर राख्ने ध्येयका साथ अगाडि बढेका छन् त्यसका लागि उनले जसपा नेपालको विभाजनको मुद्दाको आदेश कुरेर बसेको बताइन्छ । सर्वोच्चले फुट सदर गरेमा नेकपा एसबिनाको गठबन्धन बनाएर १४७ संख्याको बहुमत कायम हुने त्यसबेला फूटेको जसपाका ७ सांसदलाई पनि आफू अनुकूल हिँडाउन सक्ने रणनीतिमा ओली हिँडेको जानकारहरू बताउँछन् ।


प्रधानमन्त्री प्रचण्ड भने आफैंले सुरु गरेको उथलपुथलले आफैंलाई सत्ताच्युत गर्छ कि भन्ने त्रासले घेरेका कारण जनमत र नाउपालाई साथैमा लैजान पाए केही समय सुरक्षित हुन पाइने आशासहित माओवादीका तर्फबाट मन्त्री बनेका एकजनालाई खाली गराउन तयार भएका छन् । प्रधानमन्त्रीको कुर्सीका लागि जे पनि गर्ने तहमा पुगिसकेका प्रचण्डले यदि एमालेले मानेन भने माओवादीका कुनै दुवै मन्त्रीलाई हटाउन पनि तयार हुन सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । यता नाउपाबाट सरकारमा जान खुट्टा उचालेर बसेकी नाउपा अध्यक्ष रञ्जिता चौधरीले आफैं सरकारमा जाने र संस्कृति मन्त्रालय सम्हाल्ने सार्वजनिक गरेकी छन् । उनको दोस्रो पटकको सत्तारोहणको तयारीमा नाउपा भित्र एकमत छैन । उनी मन्त्री बन्नासाथ पार्टी फुट्न सक्ने पनि जानकारहरूले टिप्पणी गरेका छन् ।