देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरका पौडेल व्यापारी पनि

देशान्तर


काठमाडौं । देशको जेठो र पुरानो तथा गरिब जनताको स्वास्थ्य सेवाका लागि भरोषाको केन्द्र बनेको वीर अस्पताल दिनप्रतिदिन लथालिंग अवस्थामा पुगेको छ । अस्पतालमा अदालतलको आदेशपछि पुनबर्हाली भएका निर्देशक सन्तोष पौडेलको कर्तुतबारे कर्मचारीहरू नै एकजुट भएका छन् ।
उनीविरुद्ध पटकपटक उजुरी दिए पनि कारबाही गर्नुको साटो सरकारका मन्त्रीले पुरस्कृत गर्दै वीरमै राखी रहेपछि कर्मचारीहरूले पछिल्लो समय फेरि उजुरी लिएर सम्बन्धित निकायहरूमा धाउन पनि थालेको समाचार यसअघिकै देशान्तरमा प्रकाशित भएको थियो । कर्मचारी कटौती, अक्सिजनसमेत खरिद गर्न नसक्ने अवस्था, बिरामीको खाना कटौतीदेखि, कर्मचारीको तलब रोक्का तथा एक्सरे फिल्मदेखि सामान्य ल्याब परीक्षण सामग्रीसमेतको अभाव झेल्दै आएको वीर अस्पताललाई उकास्नका लागि भूमिका खेल्नुपर्ने व्यक्ति पौडेलनै अर्को निजी अस्पतालको व्यापारी भएको प्रमाण देशान्तरले प्राप्त गरेको छ ।

हो, वीरका निर्देशक पौडेल व्यापारिक साझेदार भएर ‘अल्का हस्पिटल फार्मेसी प्रालि’ सञ्चालन गरेका छन् । त्यहाँ उनी तीन जना सञ्चालकमध्ये एक जना हुन् । पछिल्लो समय उनी सञ्चालक समितिको अध्यक्ष भएर निर्णय गरेको डकुमेन्टले पनि पुस्टि गरेको छ । सरकारी कर्मचारी भएर स्वास्थ्य सेवामा काम गरेका निर्देशक जस्तो व्यक्तिले फार्मेसीमा ७७ लाखको सेयर लिएका छन् । उनी सरकारी अस्पतालमा कार्यरत पौडेल आफैं निजी अस्पतालको फार्मेसीमा ब्यापारिक साझेदार बन्दा भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिबाना गर्नुपर्ने वीर अस्पतालका कर्मचारीहरूले बताउने गरेका छन् । एमालेबाट चिकित्सक संघको अध्यक्षमा उम्मेदवार बनेर पराजित भएका पौडेलले अहिले पनि आफूलाई बालकोटको आशीर्वाद रहेको र कसैले पनि केही गर्न नसक्ने भन्दै वीरका कर्मचारीको हुर्मत लिने गरेका छन् । उनका कर्तुतबारे थाहा पाएका तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्पष्टीकरणसहित बर्खास्त गरे पनि अदालतको आदेशपछि पुनर्बहाली भएका थिए भने अहिले त झन् एमाले पार्टी पनि सरकारमा आएकाले पौडेलको रवाफ झनै बढेको छ ।