देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रिकेटमा आश्चर्य, फुटबल खस्कियो

देशान्तर


काठमाडौं । टी–२० फरम्याटको नवौं संस्करणको आईसीसी विश्वकप क्रिकेट अहिले वेस्टइन्डिज र अमेरिकामा आयोजना भइरहेको छ । समूह चरणका खेलहरू भइरहँदा त्यहाँ आएको नतिजा भने आश्चर्यजनक निस्किएका छन् । वेस्टइन्डिज आफैंमा देश नभएर विभिन्न टापु मिलेर क्रिकेट टिम बनेको हो । त्यहाँ क्रिकेटको राम्रो माहोल छ भने वेस्टइन्डिजको टिमले एक दिवसीय र टी २० विश्वकप नै जितिसकेको छ ।
तर पहिलो पटक अमेरिका पनि आयोजकको रूपमा टी २० विश्वकप खेल्यो । अमेरिकामा क्रिकेटको क्रेज नै छैन । त्यहाँका अधिकांशलाई क्रिकेट विश्वकपबारे चासो पनि छैन । त्यसैले त्यहाँ विश्वकप आयोजना हुँदै गर्दा अस्थायी संरचना बनाइएको छ । न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा ड्रप–इन पिच प्रयोग भइरहेको छ । ड्रप–इन पिचहरू मैदान बाहिर बनाइन्छ र त्यसपछि स्टेडियममा स्थापना गरिन्छ । नासाउ स्टेडियमको पिच अस्ट्रेलियामा बनाइएको थियो ।
यस वर्षको जनवरीमा अमेरिकाको फ्लोरिडामा १० वटा पिच समुद्री मार्गबाट लगिएको थियो । जहाँ पाँच महिनाको तयारीपछि मेमा नै नासाउ रंगशालामा फिट गरिएको थियो । १०मध्ये ६ पिच अभ्यासका लागि छन् भने ८ खेल ४ वटा पिचमा भइरहेका छन् । यसैगरी न्युयोर्कमा डिसेम्बर २०२३ सम्म अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला थिएन । यहाँ ६ महिनामा मोड्युलर रंगशाला निर्माण गरिएको हो । यसको पिच अस्ट्रेलियाबाट लगिएको थियो भने स्ट्यान्ड फर्मुला–१ प्रतियोगिताबाट ल्याइएको थियो । यो रंगशालामा ३४ हजार दर्शक बस्न सक्नेछन् । विश्वकपमा पहिलो पटक मोड्युलर स्टेडियम प्रयोग गरिने भएको छ । यहाँ भारत–पाकिस्तान खेलसहित समूह चरणका ८ खेल हुनेछन् । प्रतियोगिता पछि यसलाई पार्कमा परिणत गरिनेछ ।


विश्वकप सुरु भएदेखि अहिलेसम्म आश्चर्यजनक नतिजा आएका छन् । अमेरिकाले १९५ रनको लक्ष्य चेस गरेर आफूलाई अब्ल सावित गर्न सफल भयो भने पाकिस्तानलाई सुपर ओभरमा हराएर नयाँ इतिहास कायम गरेको छ । घरेलु मैदानको फाइदा अमेरिकाले लिए पनि विश्वकप खेल्ने टोलीहरू रन बनाउन निकै संघर्ष गरिरहेका छन् । औसतमा १४० रन एक इनिङमा बन्दा पनि त्यो रन चेज हुन निकै गाह्रो परेको छ । आईसीसीले पनि अमेरिकाको पिचको बारेमा चासो ब्यक्त गर्दै सुधारको खाँचो औंल्याइसकेको छ । टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । पहिलो पटक सन् २०१४ मा बंगलादेशमा खेलेपछि दोस्रो सहभागिता जनाउन १० वर्ष लागेको छ । तर, पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजय भोग्न पुग्यो । घाँससहितको पिच रहेकाले रन बनाउन नेपाली क्रिकेटरले पनि अन्य देशका खेलाडी जस्तै निकै संघर्ष गर्नु परेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ ।

नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय सात रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए । उनले ४८ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२, सेब्रान्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले अविजित ११ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले एक एक विकेट लिए । यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रंगशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो ।
नेपालले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे । यस्तै, करन केसीले १२ बलमा १७ रन जोडे ।
गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका टिम प्रिङगनल र लगन भान विकले तीन तीन तथा बास डी लिड र मकेरेनले दुई दुई विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ २९ गते श्रीलंकासित अमेरिकाको फ्लोरिडामा खेल्नेछ ।


नेपाली क्रिकेटको मैदानभित्रको प्रदर्शन र मैदानबाहिर पदाधिकारीहरूको चर्तिकलाका कारण चर्चामा रहिरहेका बेला नेपाली फुटबल भने अहिले गुमनाम भएको छ । फिफा विश्वकप र एएफसी एसियन कपको क्वालिफायर खेलिरहेको नेपाली टिमले घरेलु खेल नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्न पाएन । कारण हो मैदानको अवस्था र फ्लर्ड लाइट । तर, खेल दिउँसोमा गराउनका लागि एन्फाका पदाधिकारीहरू यतिबेला फिफा र एएफसीसँग कुरा गर्न नसक्ने अवस्थामा पुग्दा नेपाली दर्शकहरू घरेलु मैदानमा राष्ट्रिय टिमले खेलेको खेल हेर्नबाट बञ्चित भएका छन् ।

हुन त एन्फाका पदाधिकारीहरूको आन्तरिक राजनीतिका कारण देश बाहिर प्रतियोगिता हुँदा आफ्ना प्रतिनिधिहरूलाई विदेश सयर गराएर यताको अंकगणित मिलाउन व्यस्त भएकाले पनि नेपाली फुटबल झन्झन् धराशायी बन्दै गएको छ । फल्र्ड लाइट आठौं दक्षिण एसियाली खेलकुदका बेला चीन सरकारले बनाइदिएको हो भने १३औं सागका बेला मर्मत गरिएको थियो । उक्त फल्र्ड लाइटको ‘लक्सलेभल’ नमिलेको भनेर रातिमा खेल सञ्चालन हुन नसकेको बताइएको छ । फल्र्ड लाइट मर्मतको जिम्मा पनि चीनकै भएकाले राखेपले चिनियाँ दूतावासमार्फत पत्राचार गरेको जनाएको छ । राखेपका अनुसार लाइट बिग्रिएको नभई लक्सलेभल रंगशालाको सेन्थेटिक ट्र्याकमा रहेको र त्यसलाई सार्नका लागि पनि चीनबाटै मान्छे आउनु पर्नेछ ।
नेपालले काठमाडौंको खेल साउदी अरबमा खेल्दा यूएईसँग ४–० गोलको पराजय भोगेको छ । अब नेपालले यमनसँग खेल्न बाँकी रहेकाले लगातार पाँच खेलमा पराजय भोग्दा अर्को चरणमा पुग्ने सम्भावना पनि सकिसकेको छ ।