देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदीपलाई ‘मैते’ बनाउन ‘प्रकाश’ मा जस्तो कन्भिन्स गर्नु परेन : सुवेदी

देशान्तर

काठमाडौं । विकास सुवेदीलाई कसैले टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा सम्झन्छन्, कतिले चलचित्र पत्रकार र भिडियो निर्देशकका रूपमा चिन्छन् । तर विकासलाई अहिले चलचित्र उद्योगले सफल स्क्रिप्ट लेखकका रूपमा चिन्ने गरेको छ । अहिलेसम्म सुवेदीले लेखेका जम्मा दुई चलचित्र दर्शकले हेर्न पाएका छन् । अघिल्लो चलचित्र प्रकाश र अहिले हलमा तेस्रो सातामा चलिरहेको चलचित्र पुजार सार्की । तर दुवै चलचित्र सफल भएपछि विकास राम्रो चलचित्र लेखकका रूपमा स्थापित भइसकेका छन् । प्रस्तुत छ, लेखक सुवेदीस“ग देशान्तरकर्मी लोकराज अधिकारीले पुजार सार्कीको रचना गर्भबारे सोधेका प्रश्नहरूको उत्तर र अनुभवसहितको सामग्री उनकै शैलीमा ।

यो कथा मेरो मानसपटलमा लामो समयदेखि थियो । मैले बाल्यकालमा देखेको जीवन भएकाले यो कथा चलचित्रका रूपमा आउँदा म आफैंलाई विश्वसनीय लाग्नु सबैभन्दा ठूलो कुरा थियो । मैले देखेको र सोचेको पात्र कस्ले निभाइदेला र विश्वसनीय लाग्ला भन्ने मूल चिन्ता थियो । हामीले कथा खोज्दा पनि आफ्नो जीवन भोगाइ र परिस्थितिजस्तो प्रभाव पार्छ त्यसैगरी कलाकारहरूको छनोटमा पनि प्रभाव पार्ने रहेछ । चलचित्रको स्क्रिनप्ले र डाइलगको काम गरिरहेका बेला मेरो दिमागमा पल, आर्यन र प्रदीपहरू थिए । तर उहाँहरूको एउटै चलचित्रमा काम गर्ने कुरा असम्भव प्रायः नै थियो । जब मैले स्क्रिप्ट लेखेर सकेपछि यो कुरा निर्देशक दिनेश राउतलाई भने । उहाले काम गराउन सके त राम्रो हुन्छ भन्नुभयो । तिनै कलाकार हामीसँग काम गरिसकेको र व्यक्तिगत रूपमा राम्रो सम्बन्ध भएकाले अन्ततः काम गर्ने कुरा सम्भव भयो । उहाँहरूलाई आफ्नो चरित्रबारे मैले सुनाउँदा तीनै जनाले असाध्यै मन पराउनु भयो । अनि तीन सुपरस्टार एक चलचित्रमा अट्ने अवस्था आयो ।


प्रदीपले जुन भूमिका निर्वाह गरेका छन् त्यो चरित्रबारे मैले छलफल सोच र खोजअनुसार फिट हुने ठानेरै कथा अगाडि बढाएको हुँ । किनकि प्रदीप नेपाली चलचित्र उद्योगले गर्व गर्न सक्ने कलाकार हो । उसले गर्न सक्ने कुरामा कुनै दुई मत थिएन । तर मैते चरित्र हेर्दा सरल भए पनि उसले चलचित्रमा गर्न यात्रा सहज छैन । छिट्टो रियाक्ट गर्ने र मनमा कुरा राख्न नसक्ने मैते बन्न प्रदीप मैते नै बन्न आवश्यक थियो । लेखनकै बेलादेखि म मैतेसँग भित्रबाट सबैभन्दा नजिक थिए । त्यो चरित्रको उतारचढावका साथै उसको व्यवहार अत्यन्तै सरल हुन आवश्यक थियो । हाम्रो चलचित्रभित्र हामी सबै अजात हौं र सबै नेपाली एक अर्थमा मैते हौ भन्ने बुझाउने चरित्र पनि थियो । मैले स्क्रिप्ट सुनाउँदा जुन भावसहित मैते प्रस्तुत गरिरहेको थियो । प्रदीपले त्यही कपी गरेछन् । पछि चलचित्र हेर्दा मैते बनेका प्रदीपबाट म सन्तुष्ट भएँ । बरु प्रदीपलाई मैतेभन्दा पनि हाम्रो अघिल्लो चलचित्र प्रकाशमा प्रकाश बन्न सक्छौं भनेर कन्भिन्स गर्न समय लागेको थियो ।


चलचित्रमा प्रदीप र आर्यनभन्दा पछि पल जोडिएको जस्तो देखिँदा मेरो जोड बलमा हो कि भन्ने तपाईंलाई लगेको जस्तै अरूलाई पनि नलागेको हैन । तर चलचित्रमा कलाकारहरूको घोषणा हुँदा पल जोडिएको कुरा दर्शक तथा पलका फ्यानहरूलाई समेत सरप्राइज नै दिने गरी गर्ने योजना अनुरूप नै पल चलचित्रमा जोडिएको कुरा ढिलो सार्वजनिक भएको सत्य हो । तर मेरो कारण मात्र पल पुजार सार्कीमा जोडिएका हैनन् । नेपाली चलचित्र उद्योगकै एक प्रभावशाली कलाकारको हिसाबले पलको आगमनले चलचित्रलाई राम्रो हुन्थ्यो । साथै पलसँगको मेरो निजी सम्बन्धका कारण पनि म मेरो प्रोजेक्टमा पल अनुबन्धित भएको हेर्न चाहन्थे । एउटा गम्भीर कलाकारको रूपमा पलको परिचय बदलिएको हेर्न चाहन्थे । र चाहन्छु । त्यो मौका यो चलचित्रमा थियो । चलचित्रभित्र मेघराज पात्र चलचित्रको मूल मर्मलाई बोक्ने चरित्र हो । चलचित्रको दर्शन र विचार बोक्ने चरित्र हो । यस अर्थ यो पछि थप हुने चरित्र नै होइन । यो चरित्र चलचित्रको लगलाइन बनेका बेला नै एउटा यस्तो प्रकृतिको विचार बोक्ने चरित्र हुन्छ भन्ने थियो । र यो चरित्र पलले मेहनत गरे उहाँलाई सुहाउँछ र काम पनि गर्न सक्नुहुन्छ भन्नेमा विश्वस्त थिए । तर उहाँले कति मेहनत गर्नुहोला र समय दिन सक्नुहोला नहोला भन्ने चाहिँ थियो । जुन मेहनत पलले आफ्नो ठाउँबाट गर्नुभयो । अहिले म प्रभावित छु । कलाकार मेकरले चाहेअनुसार चल्ने प्राणीहरू हुन् ।
अहिले चलचित्रले तेस्रंो साता प्रवेश पाएको छ । दर्शकको मायाँ उस्तै पाइरहेको छ । पुजार सार्कीसँगै रिलिज भएको फर्की फर्की पनि तेस्रो सातामा प्रवेश गरेको छ । धेरैजसो शुभेच्छुकहरूले प्रतीक्षारत चलचित्रहरू नजुधेको भए हुन्थ्यो भन्ने चाहना राख्नु भएको थियो । तर फरकफरक विषयवस्तुमा राम्रो र बलियो चलचित्र बन्यो भने नेपाली दर्शकको मायामा कमी हुँदैन भन्ने ट्रेन्ड सेटर्स पनि बन्यो । पुजार सार्की कलाकारको लागि निर्माताको लागि खुसीको कुरा भइहाल्यो एउटा सर्जक लेखकको लागि पनि यो सुखद पल हो ।