देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘क्यानका गतिविधिबारे जानकार छु’-टंकलाल घिसिङ

देशान्तर




राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकासका लागि आफू सधैं लागिरहेको बताउ“दै अहिले लगानी गर्दा क्रमशः नतिजा आउने कुरामा विश्वस्त रहेको बताएका छन् । अहिलेसम्मकै सर्वाधिक ठूलो उपलब्धिका रूपमा नेपाली क्रिकेट टिमले दोस्रो पटक टी–२० विश्वकप खेल्दै गर्दा नेपाल क्रिकेट संघ क्यान भित्र र बाहिर देखिएका गतिविधिले भने आफू चिन्तित बनाएको पनि बताए । उनै सदस्यसचिव घिसिङस“ग गरिएको कुराकानीको सम्पादित अंश।

सदस्यसचिव भएर आएको तीन वर्ष पुग्न लाग्यो तपाईंले के गर्नुभयो ?
लागेको हिसाबले ३ वर्ष हो । अवधिका हिसाबले ३० महिना र मैले राखेपमा सदस्यसचिवको रूपमा काम गरेको हिसाबले २६ महिना हो । तपाईं किन आउनु भयो केका लागि आउनु भयो भन्ने प्रश्न महत्वपूर्ण छ । नेपाली खेलकुदका दुई वटा ठूला अभिभाराहरू पूरा गर्नु नै तत्कालीन कार्यभार थियो । केही दीर्घकालीन र केही तत्कालीन गरेर दुई खालका काम विभाजन गरेको थिए । मैले कार्यभार सम्हाल्दै गर्दा २०७५ सालको आठौं पछाडि दुई—दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद हुन सकिरहेको थिएन । त्यसले गर्दा मैले पहिलो काम नवौं राष्ट्रिय खेलकुद भनेको थिए । अन्तर्राष्ट्रिय प्रतियोगिताका हिसाबले १९औं एसियाली खेलकुद सम्मुख आइसक्दाखेरि त्यसको तयारी भएको थिएन । जसलाई मैले काम गरेको ३० दिन भित्र २३ वटा खेलको सुरुमा ५४० जनालाई छनोट गरेर त्यसलाई अगाडि बढाए । जिम्मेवारी सम्हालेको हिसाबले त लामो भयो काम गर्न पाएको हिसाबले ६ महिनाको बीचमा नवौं राष्ट्रिय खेलकुद आयोजना गरेर सर्वाधिक खेल सर्वाधिक खेलाडी र नेपाली खेलकुदको इतिहासमा पहिलोपटक राष्ट्रिय खेलकुदको रनिङ ट्रफी ट्रफी टुर र विश्व खेलकुदको स्तरमा नेपाली खेलकुद प्रतियोगितालाई उठाउनका लागि ‘क्लिन स्पोर्ट्स’को अवधारणा अन्तर्गत ‘एन्टी डोपिङ कमिटी’नै गठन गरेर ठूलो संख्यामा खेलाडीहरूको डोपिङ टेस्ट गर्ने कुरा ‘डोपिङ कन्ट्रोलर अफिसर’ र ‘स्याफ्रोन’हरूको उत्पादन गर्ने कुरा गरेको छु । नेपाली खेलकुदमा पहिलो पटक अनुसन्धानका लागि ‘रिसर्च’ कमिटी नै गठन गरेर खेलाडीहरूको बारेमा अध्ययन गर्ने काम भयो । त्यसमा ६ हजार बढी खेलाडीबाट १ हजार बढी खेलाडीलाई ६० वटा प्रश्नहरू तयार गरेर नवौं राष्ट्रिय खेलकुदलाई लियौं । पहिलो पटक राखेपको ‘डेडिकेटेड’ वेभसाइट ‘मोबाइल एप्स’ खेलकुद अवधिका लागि मात्रै नभएर पहिलो राष्ट्रियदेखि नवौं राष्ट्रिय खेलकुद, पहिलो दक्षिण एसियाली खेलकुददेखि १३औं दक्षिण एसियाली खेलकुद, पहिलो एसियाली खेलकुददेखि १९औं एसियाली खेलकुद पहिलो टोकियो ओलम्पिकदेखि अन्तिम टोकियो ओलम्पिकसम्म जोडिएको नेपाली खेलकुदको इतिहासलाई संग्रृहीत गर्ने कामहरू भएका छन् । घरेलु प्रतियोगिता सम्पन्न गर्न सके र जति समय पाए अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि काम गरे । मैले पदभार सम्हाल्दै गर्दा खेलकुद बिमालेखको कुरा गरेको थिएँ । खेलकुदमा बिमा नहुनु दुःखद् कुरा हो । यसलाई कुनै पनि हालतमा कार्यान्वयन गर्नेछु भनेर भनेको थिए । त्यो निर्णय अहिले कार्यान्वयनमा आउन २४ महिना लाग्यो । किनभने बिमालेखको काम मैले मात्रै चाहेर हुने कुरा थिएन । सरकारको नीति तथा कार्यक्रममा हुनु पर्ने, बिमा प्राधिकरणसँग समन्वय गरेर गर्नुपर्ने विभिन्न खेलकुदका ‘स्टेक होल्डर’हरूसँग राय सुझाव लिएर गर्नुपर्ने भए पनि यसलाई कार्यान्वयन गर्न सकेकोमा उत्साहित छु ।

तपाईं खेलकुद विकास ऐन, २०७७ जारी भइसकेपछि सदस्यसचिव भएर आउनुभयो, ऐन कार्यान्वयन अलि ढिला भएन र ?
खेलकुद ऐन आइसकेपछि ऐन कार्यान्वयनको सन्दर्भमा म आउँदा जारी भएको डेढ वर्ष भइसकेको थियो । तर पनि ऐन कार्यान्वयनमा जति तीव्रता हुनुपर्ने थियो त्यो तीव्रता पाएको थिएन । त्यसपछि मैले एउटै नामको एकभन्दा बढी खेल संघहरू थिए । सबैभन्दा बढी खेल संघहरू दर्ता भएको हिसाबले कराँते थियो । ती संघहरूलाई मर्ज गर्ने काम गरें । म सदस्यसचिव भएर काम गर्दै गर्दाखेरि २५ वटा नयाँ संघ दर्ताका लागि मेरो टेबलमा आइपुगेको थियो । पहिला रहेका २०९ र पछि २५ वटालाई दर्ता गरेको भए खेल संघको संख्या २३४ पुग्ने थियो । तर, मैले २ अंकमा राष्ट्रिय खेल संघहरू झार्छु भनेर अठोट लिएर काम गरे । त्यो मेरो ऐनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता थियो । त्यसअनुसार मैले झारें पनि । अहिले ६१ को हाराहारीमा खेल संघहरू आएका छन् । आवश्यकताका हिसाबले भोलि सबै मापदण्ड पूरा भयो भने थपिएलान् पनि । तर, यत्ति कुरा हो कि दुई अंकभन्दा बढी हुँदैन । देशभरि नेटवर्क भएको कराँतेजस्तो खेललाई एकताबद्ध बनाएर एसियाली खेलकुदमा लगियो र त्यही कराँते खेलबाट एरिका गुरुङले देशलाई ऐतिहासिक रजत पदक दिलाइन् ।

खेल संघ दुई अंकमा झार्ने भन्दै गर्दा केही सफलता हासिल गरे पनि तेक्वान्दोको विवाद किन समाधान हुन सकेको छैन भने केही खेल संघहरूले आफ्नो औचित्य पुष्टि गर्न नसके पनि किन राख्नुभयो ?
म आउँदा एडेभेन्चर स्पोर्ट्स तीन वटा थिए त्यसलाई एउटा बनाइयो । नयाँको रूपमा ‘ई स्पोटर््स’ हो । ईस्पोर्ट्समार्फत नेपालले एसियाली खेलकुदमा सहभागिता जनाइसकेको छ । यसैगरी नेपालका प्राइभेट क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको उपलब्धिलाई हेर्दा र आज आईटीको दुनियाँ छ यसले हामी र हाम्रा खेलाडीलाई पनि उपलब्धि हासिल गर्ने धेरै सम्भावना भएकोले यसलाई व्यवस्थित गर्नका लागि नै हामीले काम गरेका हौं । नेपाल ‘माउन्टेनरिङ कन्ट्री’ भएका कारणले आइसहक्कीजस्ता खेलहरूको सम्भावना छ । तर गतिविधिका हिसाबले अझैं पनि सोच्नुपर्छ । संघ हुने गतिविधि नहुने अवस्थाको विषयमा मैले पनि पटकपटक भन्दै पनि आएको छु । राष्ट्र र संघहरूमा निर्वाचनका लागि मात्रै जिल्ला र संघहरू गठन गर्ने काम भयो । अझ भन्ने हो भने खेल गतिविधिका लागि भन्दा पनि भोटका लागि (हाँस्दै) भएका छन् । यसलाई हामीले नियमन गर्ने तयारी गरिरहेका छौं । ६१ भित्र परेका खेल संघहरू सदाका लागि परेको पनि होइन । नपरेको सदाका लागि बाहिरै भन्ने पनि होइन । हामीले निरन्तर फिल्टर गर्ने काम गर्छौं । खेल संघहरूलाई ६१ मा राख्दै गर्दा ती खेल संघहरूलाई वर्गीकरण गर्नका लागि समिति गठन गरेर काम अघि बढाएको छ । उक्त समितिलाई राखेपले दिएको समय त नाघिसकेको छ । त्यो समितिमा युवराज लामा हुनुहुन्छ । उहाँ कराँतेको अध्यक्ष पनि हुनुहुन्छ । समिति बनाउँदा उहाँलाई खेल संघको अध्यक्षभन्दा पनि पूर्वसदस्यसचिवको नाताले संयोजक बनाएको हुँ । त्यो कमिटीले आफ्नो कामलाई अन्तिमअन्तिम चरणमा पु¥याउनु भएको छ । तेक्वान्दोको सन्दर्भमा पनि समितिबाट प्रतिवेदन आयो र त्यसका आधारमा सरकारले निर्णय गरेर कार्यान्वयन गर्नका लागि अघि बढ्दा अदालतले बदर गरिदियो । त्यसले गर्दा अहिले तेक्वान्दो पूर्ववत् अवस्थामा फर्किएको छ ।

एउटा भएका संघहरू पनि तदर्थवादमा चल्ने, चुनाव गर्न नसक्ने अवस्थामा पनि छन् त ?
खेल संघहरूको चुनाव ८–१० वर्षसम्म नभएका पनि छन् । म आएको त साढे २ वर्ष भएको छ । म एक्लो हुँला यति धेरै खेल संघहरूको चुनाव गराएको । त्यसैका कारण धेरै संघहरूको निर्वाचन भएर अध्यावधिक पनि भएका छन् । भइकन पनि एउटा विवाद, प्रक्रिया नमिल्दा हुने झमेला बेहोरेका पनि छन् । ब्याडमिन्टनको कुरामा आउँदा हाम्रो ऐनअनुसार कम्तीमा ४ प्रदेश गठन गरेपछि मात्रै निर्वाचन हुने प्रावधान हुँदाहुँदै गरिएको निर्वाचनलाई हामीले मान्यता दिएका छैनौं । पछिल्लो चरण उहाँहरूले ४ वटा प्रदेश गठन गरेका डकुमेन्ट पेस गर्नु भएको छ । हामीले उहाँहरूलाई निर्वाचनको निमित्त सहजीकरण गरिरहेका छौं । अब छिट्टै निर्वाचनको तालिका उहाँहरूले प्रकाशित गर्नुहुन्छ ।

पौडी संघको निर्वाचनलाई अन्तर्राष्ट्रियले मान्यता दिएन भन्ने कुरा आएको छ ?
यो विषयमा हामीलाई थाहा भएन ।

यो ओलम्पिक कमिटीको राजनीतिसँग जोडिएको त होइन ?
कसको राजनीति के भनेर त म भन्दिनँ । पौडी संघको जो अध्यक्ष हुनुहुन्थ्यो उहाँकै नेतृत्वमा निर्वाचन भएको हो । कति समयभित्र बाहिर जानकारी गराउनुपर्ने के गर्ने हो त्यो कुरा उहाँलाई नै थाहा होला । त्यो नगर्दा अन्तर्राष्ट्रियले मान्यता नदिएको हो भने त अध्यक्ष नै काम नगरेर भन्ने पुष्टि हुन्छ नि त । जे निर्वाचन भएको छ, त्यसबाट निर्वाचित भएको कमिटीलाई नै परिषद्ले चिन्दछ ।

राखेपमै दर्ता भएको ओलम्पिक कमिटी र राखेपको बीचमा अलि समन्वयको कमी छ है ?
ऐनमै पनि के भनेको छ भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरू ओलम्पिकको अम्ब्रेलामा हुने प्रतियोगिताहरूमा नेपाल ओलम्पिक कमिटीले राखेपसँग समन्वय गरेर काम गर्ने भन्ने छ । त्योभन्दा बाहेक अन्य संघहरूका अन्तर्राष्ट्रिय महासंघहरूको प्रतियोगितामा सीधै संघले राखेपसँग स्वीकृति लिएर सहभागी हुन्छन् । खेलकुद विकास ऐनमै ओलम्पिक कमिटी र राखेपको काम, कर्तव्य र अधिकारको कुरा स्पष्टसँग उल्लेख गरिएको छ ।
अलि बढी स्पष्ट भएन र ?
काम, कर्तव्य र अधिकारको सन्दर्भमा अलि बढी स्पष्टभन्दा पनि भएको भन्द बढी पाइला चाल्दा आएको समस्या हो जस्तो लाग्छ । तर, उहाँहरूले आफ्नो ‘टीओआर’ भुल्नु भएको छ भने, खेलकुद विकास ऐनले नै राखेपमा दर्ता, नवीकरण, परिषद्सँग समन्वय भनेर स्पष्टसँग लेखेको कानुनी व्यवस्था छ, त्यसमा टेकेर मैले उहाँहरूलाई ध्यानाकर्षण गर्ने कुरा गरेको छु । यसभन्दा अगाडि नवीकरणको कुरा आएको थियो । सायद उहाँहरूले निर्णय गर्दै हुनुहुन्छ होला, नवीकरणको लागि । ओलम्पिकको विधानमा अहिले पनि खेलकुद विकास ऐन २०७७ मा भएको व्यवस्थाभन्दा विपरीत रहेकाले त्यसलाई सच्याएर ल्याउनुस् भनेको छु । यस्ता कुराहरूमा धेरै पटक पत्र पठाइएको छ । यसैलाई लिएर ओलम्पिक र राखेपबीचको विवाद भनेर बुझ्न भएन ।

सदस्यसचिव खेलकुद विकास ऐनअनुसार खुला प्रतिस्पर्धाबाट आएको व्यक्ति तर जसको सरकार हुन्छ उही पार्टीको ट्याग लाग्ने गर्छ, अहिलेको सन्दर्भमा तपाईं माओवादीको मान्छे, अनि खेल संघहरूमा माओवादीलाई कसरी सेटल गर्ने भन्ने कुरामा अलि बढी ध्यान दिनुहुन्छ हो ?
खै, मैले त्यस्तो गरेको छैन ।

क्रिकेटकै प्रसंगमा, तपाईंले छुम्बी लामालाई किन क्यानमा सदस्य मनोनीत गरेर पठाउनु भयो, उहाँ त यसअघि पनि हुनुहुन्थ्यो, कि छुम्बीका लागि क्यान भनेको समानुपातिक कोटा हो ?

छुम्बी लामा लामो समयदेखि क्रिकेट बुझेको व्यक्ति भएको नाताले राखेपले सिफारिस गरेको हो । माओवादीकै मात्र पठाउनुपर्ने भनेको भए क्रिकेट नै नबुझेको पार्टीको झण्डामात्रै बोकेको पठाउँथे होला नि । तर, त्यहाँ जानेले क्रिकेट त बुझ्नु प¥यो नि । त्यसैले क्रिकेट बुझेकै साथीलाई पठाइएको हो ।

खेलकुद ऐनअनुसार खेल संघमा राखेपको प्रतिनिधि पठाउने व्यवस्था छैन, तर क्यानको विधानमा भएको लुप होल प्रयोग गरेर पठाउनु भयो होइन त ?
खेलकुद विकास ऐनअनुसार पठाउने व्यवस्था छैन । हामीले पठाउनका लागि सबै संघहरूलाई बाध्यकारी पनि गराएका छैनौं । सबै संघहरूले परिषद्बाटै स्वीकृत गरेको विधानमा त्यो व्यवस्था राखेर साधारणसभाबाटै अनुमोदन गरेर ल्याउँदा त त्यसलाई कानुनको अंग मान्नु प¥यो नि त ।

खेल संघहरूका विधान त खेलकुद विकास ऐनअनुसार नै बनाउनु पर्छ होला नि ?
ऐनभन्दा बाहिर गयो भनेर यसलाई ठान्नु हुँदैन । कतिपय अन्तर्राष्ट्रिय महासंघहरूका कुरालाई पनि खेल संघहरूले आफ्नो विधानमा राख्नुपर्ने हुन्छ । कतिपयमा हाम्रो यति नै जनाको कार्यसमिति भन्ने पनि त छैन । त्यसैले खेल संघहरूले कतिपयमा १ जना, २ जना र अझ धेरै संख्यामा उपाध्यक्ष नै राखेका हुन्छन् । त्यो खेल संघको जिम्मेवारी हो । त्यसैले संघले साधारणसभाबाट पारित गरेर ल्याएको विधानलाई यो भएन त्यो भएन भनेर काँटछाँट गर्दा संघको स्वायत्ततालाई पनि त हनन् गर्न भएन नि ।

नेपाल भलिबल संघका प्रतिनिधि पठाउन किन ढिला गरेको त, दुई वर्ष हुन लागिसक्यो, कि कुन खेलमा बढी चार्मिङ छ, त्यसमा मात्रै पठाउने भन्ने त होइन ?
भलिबलको धेरै ठूलो कमिटी छ । यत्रो कमिटीको बैठक कसरी राख्नुहुन्छ भनेर अध्यक्षलाई सोधेका थिए । भलिबल फेरि राष्ट्रिय खेल पनि भएकाले यसको चार्मिङ नहुने कुरै भएन । देशको ७७ वटै जिल्ला, पालिका र वरिको पाटोमा पनि खेलिने भएकाले यसको क्रेज अत्यधिक छ । अहिले नेपाली क्रिकेट विश्वकपमा पुगेको छ तर धेरै खेलिने खेल भलिबल हो । भलिबलका लागि त्यति धेरै ठाउँ पनि चाहिँदैन ।

क्रिकेटलाई १ अर्ब ३० करोड बजेट विश्वकपसम्म पुगेकाले पनि होला, भलिबल एसियन लेभलमा बामे सर्दैछौं, भलिबलको कभर्डहलको लागि ४०–५० करोडको बजेट हाल्न नसकिएको हो कि, त्योअनुसारको प्रस्ताव नआएको हो ?
म सदस्यसचिव भएर आउँदै गर्दा भलिबलको कर्भडहलको लागि भनेर वार्षिक रूपमा थोरैथोरै बजेट छुट्ट्याइराखेका थियौं । तर त्यो फ्रिज हुने काम भएको थियो । यस विषयमा हामीले भलिबल संघसँग कुरा गर्दा जग्गा नभएर भन्नुभयो, जग्गा उपलव्ध गराउनको लागि काठमाडौं महानगरभित्रको चाहियो कि बाहिरको चाहियो भनेर पनि सोधे । उहाँहरूले काठमाडौं उपत्यकाभित्र भए राम्रो हुन्थ्यो भन्नुभयो । त्यसपछि कागेश्वरी नगरपालिकाका मेयर उपेन्द्र कार्कीलाई सम्पर्क गरेर भलिबल संघ र उहाँहरूको बीचमा सम्झौता गराइयो । त्यतिबेला भलिबल, बक्सिङ र रग्वीको सम्झौता भएको थियो । तर जहाँ भलिबल कर्भडहल बनाउने भनेर सम्झौता गरियो त्यहाँ पूर्वाधार बन्ने सम्भावना नै छैन । यस्तो अवस्थामा त संघले प्राविधिक कुराहरू बुझाएर राखेप र नगरपालिकालाई ध्यानाकर्षण गराएर अर्को स्थानमा जग्गा खोजेर सम्झौता गर्ने प्रक्रिया अघि बढाउन सकिन्थ्यो । त्यसैले राज्यले मात्रै बजेट विनियोजन गरेर भएन । संघ पनि लाग्नुपर्छ । त्यसैले अहिले स्पष्ट कुरा नआउँदा भलिबलको कभर्डहलको कुरा अघि बढ्न नसकेको हो । अर्को वर्ष हामीले नेसनल ट्रेनिङ सेन्टर बनाउने लक्ष्यमा छौं । भलिबललाई डेडिकेटेड गरेर अरू थुप्रै खेलको प्रशिक्षण गर्न मिल्ने कम्प्लेक्स नै बनाउने योजना हो ।

बजेटकै प्रसंगमा, खेलकुदको बजेट बनाउँदा मन्त्रीलाई बाइपास गर्नुभयो ?
मैले बाइपास गरे भन्ने कुरा मलाई नै थाहा छैन । अहिलेको सिस्टमअनुसार ‘लाइन आइटमवाइज इन्ट्री’ गर्नुपर्छ । हामीलाई त्यो सिस्टमको एक्सेस दिने मन्त्रालय नै हो । त्यहाँ भरेपछि मात्रै मन्त्रालयले अर्थमा पठाउने हो ।

तपाईंले सीधै अर्थमन्त्रीलाई भेटेर बजेटमा हस्तक्षेप गर्नुुभयो भन्ने आरोप लागेको छ ?
मैले अर्थमन्त्रीसँग भेटें कि भेटिन भनेर गर्ने प्रश्न नै होइन । एउटा सदस्यसचिवको कहिले राष्ट्रपति, प्रधानमन्त्री, सबै मन्त्री, विपक्षी दलको नेतासँगको भेट त स्वाभाविक नै हुन्छ नि । स्वाभाविक रूपमा अर्थमन्त्री माओवादी पार्टीकै भएको नाताले अलि बढी भेट भयो होला । म विगतमा माओवादीकै राजनीतिबाट आएको र पछि पनि राजनीति आउन सकुँला । तर, सदस्यसचिव भएर आएपछि मैले पार्टीगतभन्दा पनि खेलकुदकै काम गरेको छु ।

तपाईं सदस्यसचिव भएपछि रंगशालाको सबै जिम्मा राखेपले लिन्छ भन्नुभयो अनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता विदेश पठाइदिनु भयो होइन त ?
यो विषय अखिल नेपाल फुटबल संघ एन्फालाई सोध्नुपर्छ । एन्फाले वैशाखको १२ गते मागेको थियो, हामीले त्यसको १६औं दिनमा मागेको सबै डकुमेन्टहरू दिएँ । तर त्यसपछि के के भयो यो कुरा हामीलाई राम्रोसँग जानकारी गराइएको छैन । एन्फाको घाँसेमैदान संरक्षणका लागि ४ जना स्टाफ थिए । अहिलेको भन्दा अघिल्लो खेल पनि काठमाडौंमा नभइराख्दाखेरि घाँसको अवस्था के भयो ? उहाँहरूको चार चार जना स्टाफ त्यहाँ हुने, उहाँहरूले नै बनाउने भनेर जिम्मा लिने, मैदानको स्थिति पूरै नाजुक हुने अवस्था आयो । त्यसपछि मैदानको स्थितिलाई अपग्रेड गरौं भनेर हामीले लिइसकेपछि अहिले तपाईंहरू हेर्न सक्नुहुन्छ । कुनै पनि अन्तर्राष्ट्रिय महासंघहरूसँग समन्वय गर्ने जिम्मा राखेपको होइन । एएफसी र फिफासँग राखेपको समन्वय हुँदैन । यो समन्वय गर्ने काम एन्फाको हो । उहाँहरूले यहाँ प्रतियोगिता गराउन नसक्ने अनि दोष राखेपलाई लगाएर हुँदैन । राखेपले त खेल संघले मागेको सहयोग दिने हो । अहिले मैदानको अवस्था एकदमै राम्रो छ ।

लाइट (बत्ती) नमिलेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना नभएको हो त ?
तत्कालका लागि प्रतियोगिता राति नै गर्नुपर्छ भन्ने थिएन । हिजोको दिनमा यमनसँगको गेममा लाइटको त्यही लक्सलेभलले कसरी पुग्यो यसको जवाफ एन्फा र एएफसीले दिनुपर्छ होला । मलाई थाहा छैन । यो बीचमा लाइट बिग्रिएको पनि होइन, लाइटको फोकस अन्यत्र सारिएको पनि होइन, लाइटकै समस्या हो भने उज्यालेमै गेम गराउन पनि सकिन्थ्यो । यस्तो हुँदा संघको साथीहरूले अन्तर्राष्ट्रिय महासंघसँग राखेर देशका समर्थकहरूको नेपालमै खेल हेर्न पाउने अधिकारका लागि पहल गर्नुपर्ने थियो । उहाँहरूले मागेको सबै डकुमेन्टहरू उपलब्ध गराउँदा पनि नेपालमा गेम ल्याउन सक्नु भएन, यो भनेको एन्फाको नेतृत्वमा रहेका साथीहरूको जोडबल पुगेन भन्ने नै हो ।

अन्त्यमा नेपालले विश्वकप खेलिरहेको छ, अहिले अन्य देशका प्रदर्शनहरू हेर्दा अब नेपाली टिम बनाउँदा केही कुराहरू अर्थात् विदेशमा बसेका नेपालीहरूलाई पनि समावेश गर्ने कुरा सोच्नुपर्छ जस्तो लाग्छ कि लाग्दैन ?
वास्तवमा हामीले आफ्नो देशको प्रतिनिधित्व गर्ने सन्दर्भमा गैरआवासीय नेपाली जसले राष्ट्रिय टिममा बसेर खेल्न सकिने कानुनी व्यवस्थालाई समेत मध्यनजर गरेर प्रतिभावान् खेलाडीहरूलाई अब संयोजन गर्नै पर्छ । अस्ति एसियन गेममा बहराइनको मेडल लिस्ट हेर्दा ऊ एकदमै माथि थियो । तर उहाँहरूको खेलाडीहरू बहराइनकै थिए कि थिएनन् भन्ने कुरा पनि हो । तर, हामी हाम्रो घरेलु खेल मैदानबाट उत्पादन भएर यो तहसम्म नेपाली क्रिकेट टिमले सफलता हासिल गरेको छ, एकाध म्याचहरूमा हामी तलमाथि भएका पनि छौं । एकाध प्रदर्शनबाट आफूलाई कमजोर ठान्नु हुँदैन भन्ने सन्देश पनि यहीँबाट दिन चाहन्छु ।
पछिल्लो समय नेपाल क्रिकेट संघ क्यानको विषयमा जुन कुराहरू छरपष्ट भएका छन् त्यसबारे तपाईंहरू जानकार हुुनुहुन्छ ?
नेपाली क्रिकेट टिम यतिबेला विश्वकप खेल्न अमेरिका गएको छ । सरकारले टिम तयारीका लागि कुनै कसर बाँकी राखेको छैन । सरकारले अहिले खेलकुदलाई विशेष चासोको रूपमा पनि लिएको छ । अहिले नेपाली खेलाडीहरू अमेरिकामा गएर विश्वकपको क्लोज क्याम्पमा बस्नुको साटो होटलहोटल हिँडेको कुरालाई म र सिंगो राखेपलाई चिन्तित पनि बनाएको छ । यस विषयमा हामीले पटकपटक क्यानको ध्यानाकर्षण पनि गराएका छौं । अहिले नेपाली टिम फ्लोरिडामा दोस्रो खेलका लागि पुगिसकेको अवस्थामा त्यहाँ आयोजना हुने मिट एन्ड ग्रिटजस्ता कार्यक्रमहरू आयोजना गरेर खेलाडीलाई अनावश्यक व्यस्त नबनाउन भनेर क्यानलाई पत्र नै पठाइसकेका छौं ।