देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हेमन्तको अध्यक्षतामा पूर्व विद्यार्थी समाज

देशान्तर

भक्तपुर । आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुरको पूर्वविद्यार्थी समाजको हिजो शनिबार सम्पन्न साधारणसभाले सर्वसम्मतरूपमा हेमन्त प्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समाजको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय उपाध्यक्षमा रवि राणा, तृतीय उपाध्यक्षमा भुवनलाल श्रेष्ठ, सचिवमा गोकुल शर्मा, सहसचिवमा मनोजमणि भण्डारी, कोषाध्यक्षमा साधना भट्टराई चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा प्रा.डा. दिलिप पराजुली, प्रकाश केसी, घनश्याम कार्की, रजनेश सिंह, निर्मला थापा, प्रकाश आचार्य र पुरुषोत्तम कारञ्जित निर्वाचित एवं मनोनीत भएका छन् । साधारणसभाको उद्घाटन विद्यालयकी २०२८ सालदेखि शिक्षिका जाल्पादेवी प्रधानले बिरुवासहितको गमलामा पानी सेचन गरी उद्घाटन गरेकी थिइन् उनले पूर्वविद्यार्थी समाजले के के गर्ने स्पष्ट उद्देश्य हुनुपर्ने र विद्यालयले पनि समाजबाट के के अपेक्षा गरेको स्पष्ट भए मात्र सँगै जान सकिने बताइन् ।

साथै साधारणसभा र छात्रवृत्ति वितरणमा मात्र सीमित नभई नियमित पूर्वविद्यार्थीको भेटघाटको वातावरण मिलाउनुपर्ने समेत सुझाव दिइन् । सल्लाहकारहरूको तर्फबाट बोल्दै वरिष्ठ पत्रकार एवं देशान्तरका प्रधान सम्पादक कबिर राणाले समाजले विद्यालयको भौतिक र प्राज्ञिक सुधारका लागि टेकोको काम गर्दै छात्रवृत्तिलगायत विद्यालयको अन्य आवश्यक कार्यमा सहयोग गर्न एउटा स्थायी अक्षय कोष स्थापना गर्नुपर्ने कुरामा जोड दिँदै आफू पढेको विद्यालयको गुणस्तर वृद्धिको लागि जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए । समाजका संस्थापक अध्यक्ष अभिनेता रवीन्द्र खड्काले आफू विभिन्न सामाजिक संस्थामा कार्यरत रहँदा आफू पढेको विद्यालयमा पनि गुणस्तर वृद्धिको लागि संस्था खोल्नुपर्ने सोचेर समाज जन्मिएको स्पष्ट पारे ।


विद्यालयका प्राचार्य रामबाबु रेग्मीले समाजले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिको लागि धेरै नै सहयोग गरिरहेकोमा अझै सहयोग बढाउनुपर्ने माग गरे । विद्यालयमा २२ वटा कोठा भए पनि अहिले आएर अपुग भएकोले खाली जग्गामा पाँचतले भवन बनाउन सकिए विद्यार्थीलाई सहजताका साथ पढाउन सकिने भएकोले उक्त आवश्यकताको पूर्ति गर्न पनि समाजले सहयोग गर्नेमा आफू आशावादी रहेको बताए ।


समाजका अध्यक्ष प्रतिष्ठित गीतकार सुवासचन्द्र ढुंगेलले आफ्नो दुई कार्यकालको कार्यप्रगतिको फेहरिस्त प्रस्तुत गर्दै धेरै गर्न चाहेकोमा केही मात्र गर्न सकिएको बताए । उनकै कार्यकालमा अमेरिकी सहयोग संस्था यूएसआईडीले २०२४ सालमा आफैंले बनाएको विद्यालय भवन २४ करोड लागतमा पुरानै स्वरूपमा पुनर्निर्माण गरेको थियो । त्यसैगरी उनकै पालामा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई १० हजारका दरले दुई दर्जनभन्दा बढीलाई समाजले सहयोग गरेको समेत उल्लेख गरे । वर्तमान वरिष्ठ उपाध्यक्ष शंकर थापाले स्वागत गरेको कार्यक्रम सचिव गोकुल शर्माले सञ्चालन गरेका थिए ।