संविधानसभाले बनाएको संविधानले राजनीतिक अस्थिरता मात्रै ल्यायो, स्थिरताको जग बसाल्न सकेन । त्यसको मुख्य कारण प्रजातन्त्रलाई प्रतिक्रियावादी घोषित गरेर नौलो जनवादको खोजमा १० वर्षसम्म कथित् विदेशी प्रभाव भित्र्याउने तत्वले जनयुद्धको रनभुल्लमा परेर बाह्रबुँदे दिल्ली सम्झौताका माध्यमबाट लोकतन्त्रको जुन पाखण्ड प्रदर्शन गरे, त्यही बालहठको परिणाम हो, राजनीतिमा नैतिकता र चरित्रहीनताको लाजमर्दो संकट उत्पन्न भएको हो ।
लोकतन्त्र र नयाँ संविधानले नैतिकता र चरित्रमा त्यस प्रकारको ह्रास मात्र ल्याएको छैन, देशलाई अन्त्यहीन संकटको दुष्चक्रमा पनि फँसाएको छ । संविधानले संघीयता र समानुपातिकको जुन विषवृक्ष रोपिदिएको छ, त्यसले नेपालमा राजनीतिक स्थिरता असम्भव तुल्याइदिएको तथ्य, अहिले प्रदेश सरकारमा देखिएको चरम अराजकता र चरित्रहीनताको नाङ्गोनाचले थप प्रस्ट पारेकै छ । त्यसलाई बेलैमा रोक्न सकिएन भने राजनीति मात्र विशृंखलित हुने होइन, मुलुकको स्वतन्त्र अस्तित्व नै सम्हाल्न नसक्ने अवस्थामा पुग्ने यथार्थ कसैबाट लुकेको छैन । त्यसका लागि विदेशी एजेन्टहरू सत्ताका नाकानाकामा जसरी तैनाथ भइसकेको जस्ता आरोप–प्रत्यारोप लाग्ने गरेका छन्, तिनले पनि त्यही वास्तविकतालाई पुष्टि गर्दछन् ।
नेपाली राजनीतिका मार्गदर्शक तथा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले उत्तिबेलै अर्थात् २०१३ सालमै भनेका थिए– “साथीहरूमा उत्कर्ष र संकट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ । राजनीति र नैतिकता दुई भिन्न तत्व हुन् र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन भन्ने एकथरी विचार तपार्इंहरूले पनि अवश्य नै सुन्नु भएको होला । यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसैकसैको भनाइ त के पनि छ भने सफल राजनीतिका लागि नैतिकता बाधक मात्र हुन्छ । अझ अर्कोथरीको भनाइ के छ भने नैतिकताबिनाको राजनीति सफल भए पनि ग्राह्य छैन र नैतिकताबिनाको राजनीति सर्वथा पापाचार मात्र हो ।
एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको कुँजी हो भनिएको छ । त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ । राजनीति भनेको मोक्षको मार्ग होइन । पार्टीहरू विभिन्न किसिमका राजनीतिका माध्यम मात्र हुन् । तसर्थ, कुनै राजनीतिक पार्टी, मुमुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसकै मूर्खता हो । मेरो भनाइको तात्पर्य के हो भने माथिका नैतिकताका दुवै दृष्टिकोण अतिवादका उदाहरण मात्र हुन् । राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ । म चाहन्छु, देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टीले नै यसवारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग प्रारम्भ गर्नुपर्छ । र, कसले भन्न सक्छ, यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलने छैन !”
“साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकताबिनाको राजनीति निरर्थक र अलिनो हुन्छ । त्यसो हुनाले त्यो अग्राह्य हुन्छ । हामीले साथीहरूबीच नै असत्यको प्रचार ग¥यांै, गैर–इमान्दार भएर काम ग¥यौं र आपसमा अविश्वास ग¥यांै भने हामी राजनीतिक कार्यकर्ताहरूको संघर्षमय शुष्क जीवनको संबल नै के रहन्छ र ! नैतिकताका बारेमा ठूलो भाषण दिने मेरो इच्छा छैन । मनुष्य आफैं एउटा अत्यन्त कमजोर र निरीह प्राणी हो । तर कस्तै संकटका अवसरमा पनि हामीले यी मानवोचित गुणहरूलाई भुलेनौं भने घोर अन्धकार र निराशाका अवस्थामा पनि यसको क्षीण प्रकाशले हामीलाई जीवित र उल्लासमय बनाइराख्नेछ ।”
(प्रदीप गिरिबाट सम्पादित तथा विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित राजनीतिक अभिलेखबाट साभार)
राष्ट्रिय राजनीतिका जिम्मेदार पार्टीहरूका केही कुरा, कांग्रेस आफैंले उनका कालजयी चेतावनीलाई भुलेकाले आजको अवस्था झेल्न सबै बाध्य छन् । अझै कतै उज्यालो बाँकी छ भने त्यसको विस्तारले अँध्यारो हटाउने अपेक्षा किन नराख्ने ?
प्रतिक्रिया