देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रथी सिग्देलविरुद्ध फेरि उजुरी

देशान्तर

काठमाडौं । नेपाली सेनाको प्रधानसेनापति बन्ने लाइनमा रहेका रथी अशोकराज सिग्देलले जन्ममितिमा कीर्ते गरेको विषयमा उनीविरुद्ध पुनः उजुरी परेको छ । यसअघि उपरथी ताराध्वज पाण्डेले जन्ममिति कीर्ते गरेको आरोप लागेपछि राजीनामा दिँदा नै उनको विवाद पनि बाहिर आएको थियो । तर, विवादकै बीच सिग्देल रथीमा बढुवा भएका थिए । सिग्देलको अहिलेको उजुरीमा पनि छानविन भएन भने भदौ २५ देखि ४५ औं प्रधानसेनापति बन्ने पक्का छ । अहिले वरिष्ठ रथी रहेका सिग्देल प्रधानसेनापति प्रभुराम शर्मा साउन २४ गते नै अवकाशको एक महिना अगाडि बिदामा बस्दा कामु प्रधानसेनापति बन्नेछन् ।

तर, उनले नेपाली सेनामा जागिर खाँदा बुझाएका नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा कीर्ते भएको भन्दै विभिन्न निकायमा उजुरी परेको छ । जेठ ९ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, गृहमन्त्री, रक्षामन्त्री, संसद्को राज्य व्यवस्था तथा सुशासन समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानसेनापति समक्ष उजुरी हुलाकमार्फत रजिस्ट्री गरी पठाइएको विश्वस्त स्रोतले देशान्तरलाई बताएको छ । 

वास्तविक जन्ममिति २०२१ साल चैत १९ गते भएका सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा भने २०२३ माघ १९ गते बनाएका छन् ।

 सिग्देलले दोहोरो नागरिकता बनाउनुका साथै विवरण परिवर्तन गरी जाजरकोट जिल्लाबाट प्रतिलिपि बनाएको उजुरीमा उल्लेख छ । नेपाली सेनाको अभिलेखालयमा रहेको उनले भर्ना हुँदा भरिएको तीन महले फाराम सिटरोल र सर्टिफिकेटअनुसारको जन्ममिति २०२३ माघ १९ भएता पनि नागरिकता अनुसारको जन्म मिति २०२३ साउन २९ जनाइएकोले नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलाई ‘उमेर (वर्ष)’ मात्र उल्लेख गरिने तत्कालीन प्रचलन अनुरूप भर्ना हुँदा पेस गरेको नागरिकता मिति २०४० साउन २९ मा जारी गरिएको स्पष्ट देखिएको छ ।

रथी सिग्देलले हाल रूपन्देही जिल्लामा मिति २०४० साउन २९ मा ‘उमेर १७ वर्ष जनाई प्रजिअ दानबहादुर शाहीले जारी गरेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि जाजरकोटबाट २०५८ जेठ ८ मा निकालेका थिए । सोही नागरिकता अहिले प्रयोग गरिरहेका छन् ।

 उनको प्रतिलिपिमा पनि जन्ममितिमा पनि कैफियत देखिएको उजुरीमा उल्लेख गरिएको छ । उनले कीर्ते गरेर नागरिकता जारी मिति नै परिवर्तन गरेका छन् । उनले रूपन्देही जिल्लाबाट बनाएको नागरिकताको प्रमाणपत्रमा नामथर ‘असोकराज सिग्देल’ र जन्मस्थान महलमा ‘जिल्लाः रूपन्देही, न.पा.ः सिद्धार्थनगर, वडा नं.ः ७’ उल्लेख भएकोमा जाजरकोटमा बनाएको प्रतिलिपिमा नामथर ‘अशोकराज सिग्देल र जन्मस्थान ‘जिल्लाः कपिलवस्तु’ मात्र उल्लेख गरिनुलाई पनि कीर्तेको रूपमा बुझ्न उजुरीमा लेखिएको छ ।

सिग्देलले जाजरकोटबाट निकालेको प्रतिलिपिको आधारमा आफ्नो जन्ममिति सन् १९६७ फेब्रुअरी १ तारिख (२०२३ माघ १९) जनाएका छन् भने जन्ममिति नखुलाई उमेर १७ वर्षमात्र लेखिएको नागरिकताको प्रमाणपत्र जारी भएको भनिएको मिति २०४० साउन २९ वा २०४० असोज ९ को आधारमा १७ बर्ष घटाई २०२३ साउन २९ वा २०२३ असोज ९ हुनुपर्नेमा उनले २०२३  माघ १९ बनाउनुलाई पनि गम्भीर रूपमा लिइएको छ । 

त्यसैगरी २०७८ मा पुनः अन्य परिचयपत्र बनाउनका लागि फेरि जाजरकोटको बदला रूपन्देही जिल्लाबाट २०४० असोज ९ जारी भएको नागरिकता प्रयोग गरेका पनि फेला परेको छ । जाजरकोटबाट प्रतिलिपि बनाएपछि पनि सिग्देलले प्रयोग गरिरहनुलाई पनि गम्भीर आशंका गर्ने ठाउँ दिएको छ । 

दुईवटा नागरिकता प्रयोग गरिरहेकाले सिग्देललाई नेपाल नागरिकता ऐन, २०६३ को दफा १२ र १३ अन्तर्गतको कसुरमा रूपन्देही र जाजरकोट जिल्लाका साथै सैनिक अभिलेखालय समेतको कागजपत्र छानबिन गर्न माग गरिएको छ । 

नेपाली सेनामा भर्ना भई जागिर खाने उद्देश्यले सिग्देलले आफ्नो वास्तविक जन्म मिति २०२१ चैत्र १९ लाई शैक्षिक प्रमाणपत्रहरूमा गैरकानुनी कीर्ते गरी २०२३ माघ १९ बनाएको प्रमाण देशान्तरसँग सुरक्षित छ । उनले विद्यालय भर्ना हुँदा, २०३९ सालको प्रवेशिका (एस.एल.सी.) परीक्षाका लागि भरेको फाराम भर्दा, २०४० सालमा सुपिङ क्याम्पस भर्ना हुँदा र २०४०–४३ को सत्रमा त्रिभुवन विश्वविद्यालयको परीक्षाका लागि फाराम भर्दा आफ्नो वास्तविक जन्म मिति २०२१ चैत्र १९ नै उल्लेख गरेका थिए । तर, उक्त मितिका आधारमा २०४३ सालमा नेपाली सेनामा भर्ना हुँदा उमेरको हद २१ वर्ष नाघ्ने भएकोले आफूले अध्ययन गरेको विद्यालयको अभिलेख, सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा रहेको एसएलसीको रेकर्ड र सुपिङ क्याम्पसमा रहेको रेकर्डमा केरमेट गरी सच्याएका थिए । यसैगरी, उनले त्रिभुवन विश्वविद्यालयको रेकर्डमा पनि केरमेट गरेका छन् ।