काठमाडौं । गीतकार सङ्घ नेपालले १५ औं स्थापना दिवसका अवसरमा बिशिष्ट गीतकार डा. भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’द्वारा सम्मानित गरेको छ । प्रमुख अतिथि संस्कृति, तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले गीतकार डा. रिजाललाई एक लाख ५१ हजार रुपैयाँ सहित माला र र ताम्रपत्रद्वारा सम्मान अर्पण गरेका थिए ।
त्यसैगरी, मैथिली गीतकार अशोक दत्तलाई २५हजार२५२ नगद राशि सहित ‘विष्णु मनसरा मातृभाषा २०८०’ प्रदान गरिएको थियो भने अमेरिकामा कार्यरत पद्मा लिंखा मगरलाई १५ हजार राशिसहितको ‘वर्ष डायस्पोरा गीतकार सम्मान’ प्रदान गरिएको थियो । कार्यक्रममा ‘भैरवनाथ रिमाल कदम वर्ष गीत पुरस्कार–२०८०’ मा छनौटमा परेका १० गीत मध्येबाट मदनमाबो लिखित ‘आमा’ र विष्णु भण्डारी लिखित ‘चाहना हो तिमी मेरो’ पुरस्कृत भएका थिए । माबो र भण्डारी जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत भएका हुन् ।
यस्तै यस वर्षको ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार–२०८०’ बाट दुई गीति पुस्तक पुरस्कृत भए । गीतकार पूर्णबहादुर साउद शिरिष लिखित ‘आधाआधी’ र जनक वाग्ले लिखित ‘मैना चरी कहाँ गई’ पुरस्कृत भएका हुन् । साउद र वाग्लेलाई जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन माननीय मन्त्री हित बहादुर तामाङले समारोहलाई सम्बोधन गर्दै गीतकार संघ र समग्र कलाकारिता क्षेत्रमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा सम्मानीत गीतकार डा. रिजाल बिशिष्ट गीतकार राजेन्द्र थापासंगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा संघका सल्लाहकार एवं अक्षयकोषका संरक्षक अमर बान्तु ,प्रतिलिपी रजिष्ट्रार कार्यालयकी प्रमुख पूण्यमाया गुरागाईं लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमका सभापति तथा संघका अध्यक्ष वसन्त वित्यासी थापाले संघद्वारा सम्मान गर्ने संस्कारलाई निरन्तरता दिएको बताएका थिए ।
गीतकार संघ नेपालका कोषाध्यक्ष चेतन खतिवडाले स्वागत मन्तव्य राखेका थिए भने संघका उपाध्यक्ष रमेश कोइरालाले कार्यक्रमको सहजिकरण गरेका थिए ।
प्रतिक्रिया