देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पञ्चायतको काँचो वायु पलाएकै हो ?



पञ्चायतकालको प्रारम्भमा सरदार विष्णुमणि आचार्य, बागमती अञ्चलका मुख्य अञ्चलाधीश थिए । उनी धेरै पढेलेखेका त थिएनन् तर को मान्छे कस्तो हो र त्योसँग कस्तो व्यवहार गर्नुपर्छ, त्यसमा उनी सिद्धहस्त थिए,अहिलेका ओलीजस्तै । त्यसबेला कुशल प्रशासकको काम हुन्थ्यो, अलि चलाख पञ्चहरूलाई विभिन्न प्रकारका विकास योजनाका नाममा हत्पति फर्काउन नसक्ने मोटो रकमको पेस्की दिएर नत्थी लगाइदिने र त्यसैका आडमा ती पञ्चलाई दासानुदास बनाएर पछिलगाइराख्ने चलन थियो । युग बदलियो । नाम, काम र परिवेश पनि बदलियो । तर प्रवृत्ति बदलिएको छैन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई जसरी हनी ट्र्यापमा फसाएर उनका माध्यमबाट आफ्ना शत्रु साध्न थालेका छन्, त्यसले पञ्चायतको प्रेत कहाँ निवास गर्न पुगेको रहेछ भन्ने मात्र होइन, त्यो काँचोवायु अझै कति प्रभावकारी रहेछ, त्यो पनि प्रस्ट भएको छ ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जुन दिन कांग्रेसलाई गठबन्धनबाट लात्ताले हानेर निकालेका थिए, त्यही दिन बडो उत्सवका साथ भित्र्याइएकी तरुनी कान्छी श्रीमतीका जारलाई आफ्नी कान्छीतिर फेरि आँखा उचालेर हेरेका खण्डमा तँलाई पनि यसैगरी लात्ताले हानेर रिङबाट बाहिर निकालिदिन्छु नि ! भनेको कसैले पनि बिर्सेका छैनन् होला । किन भने उनले कथित जनयुद्धकालमा पनि यसैगरी धम्क्याएका थिए– ढाडमा टेकेर टाउकामा प्रहार गर्ने घोषणा गरेर । कहाँ बसेर कसको आडमा त्यो धम्की व्यवहारमा कसरी उतारे, त्यो बाह्रबुँदे दिल्ली सम्झौताबाट मात्र होइन, झन्डै दुई तिहाइ बहुमतको संसद् भंग गरेको घटनाले पनि पुष्टि गरेकै हो, फेरि दोहो¥याइरहन आवश्यक छैन । सबैलाई कण्ठ छ ।
नेपाली राजनीतिमा ओलीलाई आफ्ना शत्रुमाथि ईख फेर्न विष बोकेर हिँड्ने सातिर खेलाडी मात्र होइन, क्रूर पात्रका रूपमा पनि याद गरिन्छ । त्यो यथार्थ, व्यवहारमा पनि सत्य सावित हुने गरेकै छ । उनीमाथि त्यस्तो आरोप विरोधीलेभन्दा बढी उनकै सगोत्रीले लगाउने गरेको वास्तविकता पनि कसैबाट छिपेको छैन । त्यसमाथि कम्युनिस्टले कम्युनिस्टलाई दिने धोका र गद्दारी कति घातक हुन्छ, त्यो ओली र प्रचण्डलाईभन्दा बढी अरू कसलाई थाहा होला र ! तसर्थ, उनीहरूका धम्की र चेतावनी कस्ता हुन्छन्, नचिन्ने र नबुझ्ने कुरै थिएन ।
त्यस्ता ओलीलाई लक्ष गरेर प्रचण्डले त्यस दिन दिएको लात्ताले हान्ने चेतावनी कसलाई किन दिएको हो, त्यो उनले नबुझ्ने कुरा पटक्कै थिएन । तैपनि तुरुन्तै जवाफ फर्काउने उनको जन्मजात स्वभावका विपरीत ओली, त्यस बेला चुपो लागेर बसे । प्रचण्डलाई कांग्रेसबाट फुटाएर अर्को गठबन्धन निर्माण गरेपछि अब उनको लक्ष्य बन्नपुगेको छ, त्यो गठबन्धन बलियो तुल्याएर आलोपालोमा आफूलाई प्रधानमन्त्रीमा स्थापित गर्नु । त्यसका निम्ति रवि लामिछानेको समर्थन र सहयोगको महत्व बढ्न पुगेको हो । त्यही कारण होला, ओली प्रचण्डको लात्तीको चोट थाप्न र खप्न आतुर देखिएका छन् । उनको चुरीफुरीले त्यही सावित गरेको छ ।
प्रचण्डको सत्ताका लागि कतै पनि पल्टिन सक्ने अस्थिर तथा अविश्वसनीय चरित्रको अत्यन्त सूक्ष्म अध्ययन गरेका ओलीलाई देउवाले हल्का इशारा मात्र गरे भने फेरि पासा पल्टिनेमा पूरै आश्वस्त हुन नसके पनि त्यो सम्भावनालाई इन्कार पनि गर्न नसकेका कारण ओली अहिलेको गठबन्धनका गाँठा फुकाउनभन्दा कस्नतिर लागेका छन् । प्रचण्डबिना नम्बर गेममा उनको विकल्प सीमित छ । हालत देउवाको पनि त्यही छ । त्यो कुरा, बुझेकाले त प्रचण्ड मनमनै दंग परेर बसेका छन् । रवि लामिछानेको छुकछुकेपनबाट झोक चले पनि सहेर बस्न विवश भएको कारण पनि त्यही हो ।
देउवाको लचिलोपन र सबैलाई समेटेर बढ्ने स्वभावका कारण उनको स्थिति मजबुत मात्र होइन, सुदृढ पनि छ । उनको त्यही पोजिसन, ओलीलाई अपाच्य मात्र होइन, असैह्य पनि भइरहेको छ । त्यही कारण उनी देउवाको पोजिसनको अनावश्यक आलोचना गरेर थाकिरहेका छैनन् । उनी कांग्रेस र देउवाप्रति मात्र होइन, प्रचण्डप्रति पनि उत्तिकै सशंकित छन् । उनको अविश्वसनीय चरित्रका कारण मात्र पनि होइन, ओलीको सत्तारोहणको रोडा उनी हिजो मात्र थिएनन्, भोलि पनि बन्नसक्ने सम्भावनाले पनि मौका परे ठोक्न र उस्तै परे बोक्न पनि तयार रहेको देखिएकै छ ।
कांग्रेसले सहकारी पीडितको घाउमा मलहम लगाउन आन्दोलनको घोषणा गरेपछि रवि लामिछानेका छाउराहरूको सातो जान थालेको छ । प्रहरीको प्रयोग गरेर आन्दोलन दबाउने र त्यसमा थपडी बजाएर मनोरञ्जन प्राप्त गर्ने सुरले लहैलहैमा लागेका उरन्ठेउलाहरू लुक्ने दुलो खोज्न थालिसकेका छन् । उनीहरू मारमुग्रीबाट बच्न उपत्यका बाहिर जाने टिकट काट्न थालेका छन् । जिल्लामा गए पनि सहकारी पीडित आन्दोलनकारीबाट उनीहरू बच्न सक्ने हुन् कि होइनन्, त्यो झन् अनिश्चित छ ।
सुन्नमा आएको छ, प्रचण्डजीको दबाबमा रवि लामिछाने गृहमन्त्री पदबाट राजीनामा दिन तयार भइसकेका छन् तर ओलीले अझै हरियो झन्डा नदेखाएकाले उनी अड्किरहेका छन् । उनले आफ्नो पार्टीबाट गृहमन्त्रीमा सिफारिस गर्ने व्यक्तिको चयन पनि गरिसकेका छन् । उनको त्यो चयनले पनि त्यो पार्टीमा फुट र विभाजन ल्याउने किन निश्चित छ भने विना मापदण्ड उनले नाम सिफारिस गरेकाले पार्टीभित्र विद्रोहको लहर चल्न थालेको छ ।
त्यसमा पनि ओलीको हनी ट्र्यापविछिन थालिसकेको र प्रचण्डको लात्ती पनि उचालिन थालेको आभास हुन थालेकाले २०८४ को चुनाव अगावै रविले उनको दुईमध्ये एउटा पासपोर्ट फेरि सदुपयोग गर्नै पर्ने हुन लागेको चर्चा चल्न थालेको छ ।