देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामान्यमा पीएहरूको हस्तक्षेप

देशान्तर


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सार्वजनिक कार्यक्रमहरूमा भन्ने गरेका छन्– मन्त्रालयमा बसेर नियमित काममा लाग्नै पाइनँ । सरुवा—बढुवाको कुरामै अलमल भइरहेको छ ।’
हुन पनि मन्त्री जोशीलाई यति असजिलो छ कि सरुवा बढुवाको चाप र दबाबले उनकै सचिवालयमा शक्ति संघर्ष चल्न थालेको छ । मन्त्री जोशीलाई उनकै स्वकीय सचिव (पीए)हरूले बदनाम गराउन उद्यत् छन् ।
मन्त्रीका स्वकीय सचिवहरूले अनावश्यक चासो र शक्ति अभ्यास गर्न खोज्दा सरुवा—बढुवाका लागि मन्त्रालयका सचिवसमक्ष मन्त्रीको सचिवालयबाट भन्दै अलग–अलग सूचीहरू पुग्न थालेका छन् । जसमा न त मन्त्रीलाई जानकारी हुने गरेको छ, न त रुचि नै ।
त्यसो त मन्त्रीका स्वकीय सचिवहरू पनि मन्त्रीका आफ्नै मान्छे छन् । मन्त्रीको भतिजा दाबी गर्ने उपसचिव लवराज जोशी, मन्त्री निकट इन्जिनियर दीपक बोहरा र सहोदर छोरी कृषिकी अधिकृत चन्द्रा जोशीबीच सरुवा—बढुवाका लागि शक्ति संघर्ष चलिरहेको छ ।
मन्त्रालयका एक कर्मचारीले भने, ‘सरुवा—बढुवाले यति अप्ठ्यारो छ कि मन्त्रीका पीएहरू तीन जनाले तीन वटा लिस्ट लिएर आउँछन् । सचिवज्यूले कसले भनेको मान्ने ? साह्रै असजिलो भएको छ । स्वकीय सचिवहरूको अनावश्यक चासोले मन्त्रीकै बदनामी भइरहेको छ ।’
मन्त्री जोशीले यी नै शक्तिशाली पीएहरूका कारण पार्टीभित्र पनि आलोचना खेपिरहेका छन् । सरुवा बढुवामा पार्टीका नेताहरूले आफ्नो सिफारिसको कुनै महत्व नदिएको भन्दै उनको आलोचना गर्न थालेका छन् ।
मन्त्रीका स्वकीय सचिवहरूले सरुवामा रकमको समेत लेनदेन गर्ने, तर मन्त्रीलाई अनेक बहानामा कन्भिन्स गर्ने प्रतिस्पर्धा नै चलिरहेको मन्त्रालयका कर्मचारीहरू सुनाउँछन् ।