देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपेन्द्रकै कारण पार्टी फुटेको हो -प्रदीप यादव

देशान्तर



कुनै समयमा मधेसका शक्तिका रूपमा रहेका उपेन्द्र यादव अहिले अधोगतितर्फ उन्मुख छन् । २०६४ सालको मधेसी जनअधिकार फोरम अहिले २०७९ सालको जनता समाजवादी पार्टी नेपालसम्म आइपुग्दा उनको शक्तिमात्रै कमजोर भएको छैन कि अधिकांश नेताहरूले साथ छाडेका छन् । राष्ट्रिय दल बनाउने लक्ष्यका साथ विगतमा बाबुराम भट्टराई, अशोक राईलाई पनि समेट्दा मधेसकै अर्को शक्ति महन्त ठाकुर, उपेन्द्र यादवहरूले साथ छाडेका थिए । बाबुरामले पनि साथ छाडेपछि अशोक राई उनको पार्टीमा थिए । तर अहिले संसद्मा १२ सिट रहेको जनता समाजवादी पार्टी नेपालका ७ जना सांसदले नया“ दल दर्ता गरिसकेका छन् । जनता नया“ दल जनता समाजवादी पार्टी अस्तित्वमा आएको छ । यसको कानुनी परीक्षण हुन त बा“की नै छ तर अहिले नेपालको संसदीय राजनीतिमा फेरि दल फुट्ने घटना सुरु भएको छ । किन फुट्छन् दलहरू, जसपा नेपाल कसका कारणले विभाजित भयो भन्ने प्रश्नको उत्तर हामीले हालै गठन भएको नया“ पार्टी जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवस“ग खोज्ने प्रयास गरेका छौं । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले यादवस“ग गरेको कुराकानीको सम्पादित अंश ।


जसपा नेपाल कि जसपा मात्रै ?

म जसपाको नेता हो । हाम्रो पार्टी विभाजन भएर जसपा भएको छ ।

किन ?
हामीले छुट्टै दल दर्ता गरिसकेका छौं । पहिला जसपा नेपाल थियो अहिले जनता समाजवादी पार्टी नामक दल निर्वाचन आयोगमा दर्ता गरिसकेका छौं । हामीले दल दर्ताको प्रमाणपत्र पनि पाइसकेका छौं ।

किन दल विभाजन गरेर नयाँ बनाउनु भयो भन्ने प्रश्न हो, अनि यसको पुष्ट्याइँ पनि गर्नुपर्छ होला ?
निश्चित रूपमा गर्नुपर्छ । एउटा कुरा प्रस्ट छ कि जनता समाजवादी पार्टी नेपाल हिजो थियो र त्यसबाट विभाजन गरेर जनता समाजवादी पार्टी किन बन्यो, यसको एउटै कारण के हो भने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष हुनुहुन्थ्यो र आज पनि हुनुहुन्छ उपेन्द्र यादवजी, उहाँले एकलौटी ढंगले पार्टी चलाउनुभयो, उहाँले लोकतान्त्रिक तरिकाबाट होइन, उहाँले पार्टीलाई प्राइभेट लिमिटेड कम्पनी (प्रा.लि.) हुन्छ नि हो त्यस्तै बनाउनुभयो । यसैगरी पार्टीमा उपेन्द्रजीको तानाशाही प्रवृत्ति हावी राख्नुभयो । कसैलाई पनि सम्मान नगर्ने, मानमर्दन गर्ने, संघीय र प्रदेश सांसदलाई बधुवा मजदुर ठान्ने, केन्द्रीय सदस्यहरूलाई आफ्नो गोठाला बनाउने, हेपेर कुरा गर्ने, हप्काउने, पार्टीमा कहिले पनि सामूहिक निर्णय नगर्ने, आफूले चाहेको मात्रै कुरा लागू गर्ने, कसैले विरोध गरेमा उसलाई पछि लागेर सिध्याउने गरेकाले उहाँको प्रबृत्तिले आक्रान्त भएर पार्टी फुट्ने परिस्थिति निर्माण भएपछि जनता समाजवादी पार्टी दल दर्ता गर्नु परेको हो ।

मन्त्री बन्न नपाएपछि लाभको पद नपाएपछि मधेसवादी दलहरू फुटिहाल्छन् भन्ने आरोप पनि लगाउँछन् ?
मन्त्रीको लागि यसमा कुनै कुरा छैन । मन्त्रीको लागि उपेन्द्र यादव नै पागल हुन्छन् । तपाईंहरूलाई पनि थाहै छ । २०७९ को चुनावमा पराजित भइसक्नु भएको थियो, जनताले बहिष्कार गरिसकेको मान्छे, चुनाव फेरि लड्नुपर्ने त थिएन । चुनाव नजितेको मान्छे हुने सम्भावना कम भएपछि उहाँले हामीलाई झुटो सपना देखाएर जसरी पनि संसद्मा आउने वातावरण बनाइदिन भन्नुभयो । त्यतिबेला उहाँले हामीलाई पनि ठग्नु भयो । हामीलाई ठगेर एउटा उदाएको नेता रामसहाय यादव (हाल महामहिम उपराष्ट्रपति बन्नुभएको छ) उहाँलाई राजीनामा गर्न लगाएर उहाँको सिटमा उपचुनावमार्फत सांसद बन्नुभयो । यो भनेको रामसहायको राजनीतिक हत्या गराएको रूपमा बुझ्नुपर्छ । उहाँ सम्मानित ठाउँमा गए पनि पार्टीबाट अलग हुने गरी जान बाध्य पार्ने व्यक्ति उपेन्द्र नै हुनुहुन्छ । त्यसपछि हामी सबैलाई प्रयोग गरेर आफू सांसद भएर सदनमा आउनु भयो । चुनावमा उहाँले आफू मन्त्रीभन्दा पनि संघीयता बचाउनका लागि सांसद हुन लागेको भन्ने झुटो कुरा पार्टीमा मात्रै होइन मतदातालाई पनि भन्नुभयो । तर चुनाव जितेर आएपछि एक छिन पनि मन्त्री पदभन्दा बाहिर नबस्ने । ‘पानीबिना मच्छली रहन सक्दैन, त्यसैगरी मन्त्रीबिना उपेन्द्र रहनै सक्दैनन् ।’ त्यसैले यो सबै जाल बुनेर आफू बाराबाट उपचुनाव लड्नु भयो । गठबन्धनको सहारा लिनुभयो, कांग्रेस, माओवादी, लोसपालगायतका दलहरूलाई ठगेर चुनाव जित्नुभयो । चुनाव जितेर आफू मन्त्री बन्नुभयो ।

उपेन्द्र यादव अमेरिकामा भएका बेला किन पार्टी नै फुटाउनुपर्ने अवस्था आयो, उहाँ नेपाल आएर गरेको भए हुँदैनथ्यो ?
अघिल्लो सरकारमा पनि उहाँ मन्त्री हुनुहुन्थ्यो, उहाँले ५४ पटक विदेश यात्रा गर्नुभयो । उहाँ नेपाल आउने, झोला घरमा होइन गाडीमै राख्ने, मन्त्रालय पुगेर सही गर्ने अनि भोलिपल्ट हिँडिदिने गर्नुहुन्थ्यो । उहाँ त एकदुई दिन काठमाडौं अरू दिन विदेशमै सयर गरिरहनु भएको थियो । उहाँको विदेश गइराख्ने बानीलाई किन कुरिराख्ने भनेर नै उहाँ अमेरिका गएका बेला हामीले यता नयाँ दल दर्ता गरेका हौं । उहाँ विदेश उडिरहेकाले हामी हाम्रो काम गरेका हौं । हामी त जनतामा जाने संगठन बनाउने अभियानमा छौं । एक दिन पनि ढिला गर्ने छुट हामीलाई थिएन ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले भन्नुभयो ‘तपाईंहरू आउँदो महाधिवेशनमा पराजित हुने डरले अहिले नयाँ पार्टी बनाएर चोइटिएर जानु भयो रे ?’
मनिष सुमनजीसँग ७ वटा पनि भोट छैन । ७ वटा पनि भोट नभएको मान्छेले बढी कुरा गरेको सुहाउँदैन । उहाँ आफैं उपेन्द्रको गणेश परिक्रमा गरेर समानुपातिकबाट प्रदेशसभा सदस्य हुनुभएको छ । उहाँ कहिल्यै अधिवेशनमा चुनाव लडेर आएको नेता होइन । उहाँ त लोसपाबाट भर्खर जसपा नेपालमा आउनु भएको हो । उहाँले गणेश परिक्रमा गर्ने कुरामा मास्टर डिग्री गर्नु भएको छ । उहाँले धेरै कुरा नगरेकै राम्रो । उहाँलाई यो कुरा राम्रोसँग थाहा छ, छातीमा हात राखेर बच्चाको कसम खाएर मनिष सुमनजीले भन्नुप¥यो ‘कसरी जिल्लाजिल्लामा क्रियाशील सदस्यता वितरण भइरहेको छ, आफू निकटकालाई मात्रै सदस्यता दिनका लागि के के तिकडमवाजी भए उपेन्द्रजीले उहाँलाई आफ्नै हातले लुकाएर बाँड्नका लागि ठेली दिनुभयो यसको जवाफ दिन सक्नुहुन्छ ।’ उपेन्द्रले सदस्यताको ठेली दिँदा नै फलानो फलानो व्यक्तिलाई सदस्य नबनाउनु भनेर पनि भन्नुभएको छ । सांसद प्रदीप यादवलाई नदेऔं, वीरगन्जको मेयरलगायत थुप्रै निर्वाचित जनप्रतिनिधिलाई नै नदिऔं भन्नुभयो । सदस्यता वितरण आसेपासेलाई मात्रै गर्नुभयो । विधि विधानबाट गर्नु भएन, यो कुरा मनिष सुमनजीलाई राम्रोसँग जानकारी छ । उपेन्द्रजी महाधिवेशन गराइराख्नु भएको थिएन । उहाँ आफ्नो लागि थपडी बजाउनेहरूको क्लब निर्माण गर्दै हुनुहुन्थ्यो । उहाँ पार्टीको अध्यक्ष त हुनै सक्नु भएन । पार्टी लोकतान्त्रिक विधिबाट हिँडेको भए सबै सदस्यता वितरण प्रदेशमा जान्थ्यो । प्रदेश कमिटीले जिल्लालाई दिन्थ्यो, जिल्लाबाट निर्णय भएपछि पालिकामा पुग्थ्यो र वडासम्म पुग्थ्यो । वडा कमिटीले हो सदस्यता वितरण गर्ने भनेको । तर यहाँ त केन्द्रीय अध्यक्ष जाने सदस्यता पनि लुकाएर कसैलाई होइन है, तलाईं मात्रै भन्ने गरेर हुन्छ त । पार्टीको महाधिवेशन भनेको त छोरीबेटीको विवाह महोत्सव जस्तो हुन्छ । तामझामले गर्नुपर्छ । तल्लो तहबाट हुँदै महाधिवेशन गर्नुपर्नेमा यहाँ त सीधै केन्द्रको महाधिवेशन गर्न खोजिएको थियो । उपेन्द्रजी जीवनभरि अध्यक्ष बनिरहने सपनामा हुनुहुन्छ ।

उपेन्द्र भनेको मधेसको नेता, भविष्यका प्रधानमन्त्री भनेर तपाईंहरू हिँडेको होइन र, कसरी बिगिँ्रदो रहेछ मान्छे, के सत्ता स्वादकै कारण हो त ?

तपाईंले एकदमै राम्रो प्रश्न गर्नुभयो, यसका लागि धेरैधेरै धन्यवाद दिन चाहन्छु । म पनि भ्रममा थिए । मजस्तो लाखौं युवाहरू भ्रममा प¥र्यौं । २०६४ सालदेखि लगातार उपेन्द्र यादवकै पार्टीमा बसेर काम गरेँ । यो बीचमा धेरै मानिसहरू पार्टीमा आए, गएँ तर म जहिले पनि उपेन्द्रको साथमा थिए । किनभने उपेन्द्रजी अब सुध्रिन्छन् र पार्टी पनि राम्रो हुन्छ भन्ने आशले मैले काम गरिरहेँ । तर जति गर्दा पनि उहाँ सुध्रिनु भएन । हामीले सुध्रिन धेरै समय पनि दिएका हौं । पटकपटक भन्यौं, गणेश परिक्रमा गर्ने मान्छेलाई अलग राख्नु भनेर । पार्टीमा जनमत भएका मानिसलाई बढावा दिनुस् भनेका थियौं । मधेस प्रदेशका अध्यक्ष रामबाबु यादव हुनुहुन्थ्यो, उहाँलाई विधि मिचेर हटाइदिनुभयो । अहेबबाट पेन्सन पकाएर आएकालाई प्रदेश अध्यक्ष बनाई दिनुभयो । एउटा अहेबको पछाडि प्रदेश सांसद, पालिकाको मेयर, सांसद मन्त्री भएका मान्छे जान्छ र, उसलाई ताली बजाइराख्ने । जसको आफ्नो वडामा जनमत नै छैन त्यसलाई नेता बनाउने गलत काम उपेन्द्रजीले गर्नुभयो । उहाँको नियत नै सबैलाई दास बनाएर राख्न खोज्नुभयो हामीले सहेनौं । अनि विद्रोह भएर नयाँ पार्टी जन्म्यो । अब उपेन्द्रजीको पतन सुरु भयो हामी सारा पर्दाफास गर्छौं ।

पार्टी फुट्या त सत्ता समीकरणकै कारण पनि त हो नि, हैन र ?
सत्ताको कारण हाम्रो पार्टी फुटेको होइन । पार्टीको आन्तरिक कारणले गर्दा अलग दल दर्ता गर्नुपर्ने बाध्यता थियो । सत्ता गठबन्धनको यसमा कुनै रोल पनि छैन । हो, प्रधानमन्त्री प्रचण्डजीलाई विश्वासको मत दिएकैं छौं । हाम्रो समर्थनको आवश्यकता छ भने समर्थन निःस्वार्थ भावनाले दिन तयार पनि छौं । यो गठबन्धन चलोस्, यो गठबन्धन संसद्को पूर्ण कार्यकालसम्म चलोस्, यही गठबन्धनले २०८४ को चुनाव गराओस् हामी समर्थन दिन तयार छौं ।

राजनीतिक दलहरू किन फुट्दा रहेछन्, आजको दिनमा यो प्रश्न जायज नै हुन्छ होला ?
एकदम जायज प्रश्न हो । राजनीतिक दलको अध्यक्ष जहिले पनि तानाशाह बन्नु भएन । तानाशाही बन्छ भन्ने यो परिस्थिति जतिबेला पनि आउँछ । सामूहिक निर्णयमा गयौं भने कहिले पनि पार्टी फुट्दैन । सामूहिक निर्णय गर्ने सबैको कुरा सुन्ने, समूहगत निर्णय गर्ने गरियो भने पार्टी बलियो हुन्छ । तर हाम्रोमा त्यस्तो नभएपछि अहिलेको परिस्थिति निर्माण भएको हो ।

जसपा नेपाल सामूहिक नेतृत्वको पार्टी होइन र, पद त थुप्रै छन् त ?
नामको लागि मात्र । अध्यक्षले झोलामा माइन्युट राखिराख्ने, आफू खुसी निर्णय गर्ने अनि कार्यान्वयन पनि त्यस्तै गर्ने । यो प्रबृत्तिबाट आजित भएका छन् । ‘अफ द रेकर्ड’मा त सबैले उपेन्द्रलाई गाली गर्छन् तर अगाडि बोल्न डराउँछन् । जसको जनमत छैन उनीहरू उपेन्द्रसँग डराइहाल्छन् ।

मिसन ८४ भन्छन्, अब मधेसको शक्ति कसरी एक हुन्छ त ?
मिसन ८४ भनेको शब्द जसले प्रयोग गरिरहेका छन्, उनैलाई सोध्ने प्रश्न हो । बाँकी अर्को प्रश्न भनेको, मधेस, पहाड र हिमालको इस्यु, जनजातिको इस्युलगायत सबैलाई समेटेर हामीले समावेशी समानुपातिकको हिसाबले मधेसमा छुट्टिएका दलहरू छन्, उनीहरूसँग एकता तथा कार्यगत एकता गरेर अघि बढ्नुपर्छ भन्ने कुरा बुझेर त्यसका लागि प्रयास सुरु गरिसकेका छौं । लोसपा, नाउपा, जनमत सबैसँग सहकार्य गरेर एकता कायम गर्छौं ।

उपेन्द्रले म सच्चिए भनेर आएपछि ?
उहाँ सच्चिने कल्पना नै गर्न सकिन्न । सम्बन्धविच्छेद भइसक्यो, अब उहाँसँग सहकार्य हुँदैन । उहाँसँग काम गर्नका लागि ममात्रै होइन अरू पनि कोही सक्दैनन् । उहाँ तानाशाही प्रबृत्तिको मान्छे हो । किन उहाँको पार्टी यति पटक फुट्यो सबैको कारण नै उहाँ हो । उपेन्द्रले पार्टीबाट मन्त्री भएकालाई के गर्छन् भन्ने कुरा सोध्नुस् ।

पहिला त तपाईं पनि त मन्त्री बन्नु भएको थियो, के गर्नु भएको थियो ?
म चुनावको बेलामा मन्त्री भएँ । मसँग त माग्ने कानुनविपरीतको काम गर्न लगाउने हिम्मत उपेन्द्रजीको हुँदैन । म त कडा दिमागको मान्छे हुँ । जनताको कुरा सुन्ने लटरपटर नगर्ने भएकाले मसँग उहाँले आँट नै गर्नु भएन ।