देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुख घिमिरे कार्यकर्ता देखिए

देशान्तर


काठमाडौं । संसद भनेकै विपक्षीको हो । सत्ता पक्षले गलत काम गर्दा विपक्षीले त्यसलाई सच्याउनका लागि ध्यानाकर्षण गराउने रोस्टम घेराउ गर्ने सम्मका भद्र आन्दोलन सदनभित्र गर्न पाउँछ । प्रतिपक्ष र सत्ता पक्षबीचमा अविश्वास बढ्दा त्यसको निरुपण गर्नका लागि पहलकर्ताको भूमिका सभामुखले गर्नु पर्छ । यसअघि संविधान सभा र संभामुखहरुले केही अपवादबाहेक आफ्नो भूमिका खरोरुपमा निभाएको नेपालको संसदीय इतिहासमा प्रष्ट छ । तर, अहिलेका सभामुख देवराज घिमिरे भने प्रतिपक्ष भन्दा पनि सत्ता पक्षको पक्षपोषणमा लागेको देखिन्छ । नेकपा एमालेको सांसदको रुपमा संसदमा आइपुगेका घिमिरे माओवादी रएमालेको गठबन्धनबाट सभामुख भएका थिए । सभामुख भएदेखि नै प्रतिपक्षीलाई पेल्ने र सत्ता पक्षलाई पृष्ठपोषण गर्ने हर्कत आम मानिसले देखि रहेका छन् । संसद्लाई बलियो र प्रभावकारी बनाउने दायित्व सभामुखको धेरै रहेकाले राजनीतिक खिचातानी हुँदा त नेतृत्वकर्ताको भूमिका झनै महत्त्वपूर्ण हुनुको साटो संसद्को हिउँदे अधिवेशनका बेला देखिएको राजनीतिक तिक्तता मेटाउन असफल भएपछि हठात् संसद अधिवेशन नै बन्द गर्न लगाएर आफू कानमा तेल हालेर बसेका थिए ।
शुक्रबारदेखि बजेट अधिवेशन (वर्षे) सुरु भइसकेको छ । तर, पहिलो दिनकै बैठक हेर्दा संसदको आगामी दिन सहज हुने पक्का छैन । पहिलो दिन उनले कार्यव्यवस्था परामर्स समितिमा भएको सहमति विपरित सदन सञ्चालन गर्ने जुन दुष्प्रयास गरे यसलाई सबैले सभामुख देवराज घिमिरे भन्दा पनि एमालेका कार्यकर्ताको रुपमा प्रस्तुत भएको बुझेका छन् । नेपाली कांग्रेस अहिले रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको बताउँदै सदनमा लगातार कुरा उठाइराखेको छ । यही विषयले हिउँदे अधिवेशन अन्त्य हुँदा छलफलका लागि पहल नगरका सभामुखले बर्षे अधिवेशनको सुरुमै रविलाई बोल्न दिने नीति लिएर अघि बढेपछि कांग्रेस उनको भूमिका प्रति झनै चिढिएको छ । कांग्रेस सांसदले उभिएर सदनमा विरोध जनाइरहेका बेला जवरजस्ती पेल्न खोजेका थिए । त्यसपछि टेबल ठटाएपछि रोकिएका सभामुख घिमिरेले कांग्रेसका प्रमुख सेचतक रमेश लेखक, उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारसँग व्यक्तिगतरुपमा जसरी सभामुखकै कुर्सीबाट भनाभनमा उत्रिएका थिए । कांग्रेसले लगातार अवरोध गरेपछि महामन्त्री थापालाई तीन मिनेटको समय दिएका थिए । बोल्दै गर्दा समय सकिए पनि २ मिनेट थप गरेको बताएपछि महामन्त्री थापा पनि निगाहको समय होइन भन्दै कड्कीदै अधिकारको समय चाहिने भन्दै आफ्ना कुरा राखेका थिए । त्यसपछि स्थगित भएको बैठक दोस्रो पटक सुरुहुँदा कांग्रेसको अवरोध खुलाउने विषयमा सहमतिका लागि पहल पनि नगरेर अघि बढेका थिए । उनले रविलाई बोल्नका लागि रोस्टममा जान आग्रह गर्दा कांग्रेस सांसदहरुले वेल नै घेराउ गरेपछि त्यो रविको प्रयास भने सफल भएन ।