देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गगनले स्वीकारे रविको चुनौती

देशान्तर

अहिले नेपाली राजनीतिमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति चर्चामा छ । बर्षे अधिवेशन सुरु भएकै दिन नेपाली कांग्रेसका महामन्त्री थापाले संसदमा गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोप लगाउँदै संसदीय छानविन समितिको अडान राख्दै अभिव्यक्ति दिएका थिए ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा महामन्त्री थापाले गृहमन्त्रीले कहिले प्रधानमन्त्री, कहिले प्रहरी हुँदा हुँदै महान्यायाधिवक्ता कार्यालयलाई दुरुपयोग गरेको आरोप लगाए । गृहमन्त्रीले सहकारीको अर्बौँ अपचलन गरेको आफूसँग प्रमाण रहेको दाबी सदनमै बताएका थिए । गगनले भने ‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने ? रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौँ ? सहकारीमा आफैँले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौँ ? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेश गरौँ ?’
गगनको यो अभिव्यक्तिपछि सदनबाट बाहिरिएर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रास्वपा सभापति समेत रहेका लामिछानेले आफूमाथि लगाइएको आरोप पुष्टि भए राजनीतिबाट सन्यास लिने बताएका थिए । ‘माननिय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ ।’ रविले सञ्चारकर्मीसँग संसद भवन परिसरमा भनेका थिए ।
संसद भवन परिसरमै रहेका गगनले पनि रवि पछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूले रविको चुनौती स्वीकारेको प्रष्ट पारेका छन् । उनले भने, ‘म त छोडिदिन्छु भनिसके त । यो पुष्टि भएन भने म छोड्दिन्छु भनिसके, उहाँले कहिले काठमाडौं क्षेत्र नं. ४ मा आउँछु भन्नुहुन्छ, त्यहाँ पनि आउनुस् । बागमतीमा नुहाउँछु भन्नुभयो, नुहाउनुस् । छोडदिनुस् भने छोडिदिन्छु । यो त मेरो मात्रै कुरा छैन । चुनौति त मैले स्वीकार गरिहालेँ । मैले यसलाई प्रमाणित गर्नै पर्दैन । सञ्चारमाध्यमा आइरहेको यीनै कुराहरु काफी छन् ।’
संलग्न नभए किन भागेको भन्दै कांग्रेसले उठाइरहेको एजेण्डलाई झूट सावित गर्न गगनले उल्टै चुनौती दिएका छन् ।
‘हामीले प्रमाणसहित यत्रो कुरा गरिसकेपछि हात्ति आयो हात्ति आयो फुष्सा भयो भने म छाडेर गइहाल्छु, कांग्रेसलाई कत्रो अफ्ठ्यारो पर्ला, किन यतिधेरै माया गर्नुभएको ? ममाथि पनि आरोप लगाइन्छ कहिलेकाहीँ मेरो बारेमा पनि गृहमन्त्रीले बनाइदिए कति मजा आउँथ्यो’ , ‘त्यहाँ तथ्य, प्रमाण पुष्टि भएन भने सिंगो नेपाली काँग्रेस पार्टीलाई त्यसले कति क्षति पु¥याउला ? कत्रो ठूलो लज्जाको विषय होला ? कत्रो ठुलो विश्वसनीयताको प्रश्न आउँला ? सिंगो नेपाली काँग्रेस पार्टी नै यो कुरा यसरी भनिरहेको छ भने यो चुनौतिको हाँक स्वीकार नगर्ने भन्ने त कुरै भएन ।’ महामन्त्री थापाको भनाई थियो ।
उनले छानबिन समिति बनाएपनि गृहमन्त्रीको राजीनामा नमागेको पनि प्रष्ट पार्दै गृहमन्त्री भएर सबै प्रमाणहरु लुकाउने काम गरिसकेको बताए । उनले योमा सरकारले पेल्न खोजेको भन्दै सदनमा मात्रै नभएर सडकमा पनि कांग्रेस जाने चेतावनी दिएका छन् ।
उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुुछिएको भनेर छानविन समिति माग भैरहँदा उनी टेलिभिजनको कार्यक्रम प्रस्तोता छँदा जीवी राईसँगको साझेदारीमा गोर्खा मिडिया प्रालि खोलेको र त्यसले ग्यालेक्सी फोर के टेलिभिजन संचालन सुरु गरेको भनिएको छ । यो टेलिभिजन सुरु पोखरा, बुटवल, चितवनदेखि काठमाडौंसम्मका सहकारीबाट अवैधानिक रूपमा ऋण लिएको भनेर प्रमाण मानिएका कागजात सार्वजनिक भइसकेका छन् । जसमा गृहमन्त्री लामिछानेका नाममा पनि ऋण आएको प्रमाणहरू रहेको दावी गरिएको छ । गृहमन्त्री लामिछानेले भने ती सबै प्रकरणमा आफू निर्दोष रहेको दावी गर्दै सबै दोष राईको टाउकोमा थुपारेका छन् । यस्तै, हिजो शनिबार मात्रै चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जिवी राईलाई अघिल्लो सरकारले भगाएको बताएका छन् । अघिल्लो सरकार पनि वर्तमान प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा र कांग्रेस पनि सहयात्री भएकाले यसको दोष उल्टै थुपार्न खोज्दा आफू अहिले गृहमन्त्री भएको कुरा भने रविले विर्सिएका छन् । उनकै साझेदार अनि उनी नै गृहमन्त्री भएका बेला पक्राउ नगर्नुलाई आफ्नो पर्दाफास हुने डरले नै मरिहत्ते गरेरमा रास्वपा सरकारमा गएको पनि पुष्टि भएको छ । यस्तै, कांग्रेस महामान्त्री थापाले भने जीवी राईलाई सरकारले भगाएको भन्ने अभिव्यक्तिको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुपर्ने बताएका छन् ।