एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले वर्तमान सरकार धेरै नटिक्ने दाबी गर्छन् । अहिलेको सरकारले अस्थिरतामात्रै दिइरहेकाले यसको विकल्पमा सबैले सोच्नुपर्ने अवस्था आएको बताउँदै त्यसका लागि एकीकृत समाजवादी पनि तयार रहेको संकेत गरे । खासगरी अहिलेको सरकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैंले संवैधानिक नियुक्तिहरूको प्रक्रिया सम्पन्न गरेपछि ढाल्ने पनि ठोकुवा गरे । उनै चौधरीसँग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।
संसद् पनि बन्द भएको छ, केमा व्यस्त हुनुहुन्छ ?
अहिले संसद् बन्द भएकाले फुर्सद जस्तै छ । साथीहरूसँगको भेटघाट र पार्टीको काममा केन्द्रित भएको छु । हामीले जुन अभ्यास गरिरहेका छौं, आधुनिक नेपाली समाजको लागि जे हामीले अभ्यास गरिरहेका छौं, त्यो ठीक छैन । अहिले त संसद्मा बजेटको बारेमा छलफल गर्नुपर्ने अनि जनताका सुझावहरू अनुसार हिजोका बजेट के कति कार्यान्वयन भए त्यसको बारेमा छलफल गर्नुपर्ने थियो । तर, ती सबै कुराहरू रोक्नका लागि संसद् नै बन्द गर्नु राम्रो कुरा होइन ।
कसका कारण यस्तो भइरहेको छ, दोषारोपण मात्रै गर्ने कि जिम्मेवारी पनि कसैले लिने ?
एउटा व्यक्ति राजनीतिक दल वा सरकारलाई मात्रै दोष दिनेभन्दा पनि हाम्रा स्थापित अभ्यास र परम्परालाई क्रस गर्न नसक्ने एउटा मान्यता जुन छ त्यो नै ठूलो बाधक हो । सरकार वा कसैलाई अप्ठेरो पर्यो भन्दैमा सदन छल्ने हिजो देखिको अभ्यास र परम्परा नै नेपाली राजनीतिको बाधक हो ।
किन नेपाली राजनीतिमा अविश्वासको वातावरण बनिरहन्छ ?
नेपालको राजनीतिक दलका हामी नेताहरू छौं, यहाँ एउटा मात्रै व्यक्तिलाई दोषारोपण गर्न मिल्दैन । हाम्रो मनोविज्ञान र दृष्टिकोण नै निकै कमजोर छ । हामी राजनीतिक दलका नेता भनिनेहरू नै स्वार्थ केन्द्रित राजनीति गर्छौं । आफ्नो कुर्सी जोगाउनका लागि जे पनि गर्ने, जसो पनि गर्ने र जुनसुकै बेला जोसँग पनि जोडिने र छुट्टिने गरेका छौं । यसलाई अहिले पनि हामीले करेक्सन गर्न सकेका छैनौं भने करेक्सन गर्न चाहेका पनि छैनौं । यही प्रवृत्तिका कारण नै अहिलेसम्म मुलुक बनेन । जस्तै, कमरेड प्रचण्डसहित निर्वाचनका बेला एक खालको समीकरण बनाएर चुनाव लडेका थियौं । १६–१७ महिनाको अवधिमा उहाँले तीन पटक विश्वासको मत नै लिइसक्नु भयो । चार पटक आफैं प्रधानमन्त्री भइसक्नु भएको छ । सत्ता सहयात्री दलहरू फेर्दै आफू प्रधानमन्त्री भइराख्ने गर्नु भएको छ । खास कुरा के रह्यो भने उहाँ उदाहरणमात्रै हो, यस्ता काम अरूले पनि गरेका होलान् । आफू प्रधानमन्त्री भइराख्ने अनि विश्वासको मत लिइराख्ने अनि यसको कम्पन सातवटै प्रदेशमा पर्ने यो अत्यन्त गैर जिम्मेवारपूर्ण र जवाफदेही नहुने कुरा नै हो । यस्तो मनोविज्ञान भएका नेता हुँदासम्म देशले प्रगति गर्दैन ।
प्रचण्डको यस्तो कामलाई कसरी लगाम लगाउने त ?
लगाम त जनताले नै लगाउने हो । ठूला नेताहरूले समीकरण बनाउँदाखेरि सहमति हुन्छ । सहमति के हुन्छ भने ‘तिमी यति महिनादेखि यति महिनासम्म प्रधानमन्त्री हुने, बीचमा अनि फलानो हुने, अनि चुनाव मैले गराउँछु ।’ भन्ने हुन्छ । हाम्रा नेताहरू प्रधानमन्त्री छन्, प्रधानमन्त्री भइसकेका छन्, तर प्रधानमन्त्री बन्ने कुरा आफ्नो बारेमा मात्रै केन्द्रित छ । नेताहरू जनताको भन्दा पनि आफ्नो बारेमा मात्रै कुरा गर्नुहुन्छ । उहाँहरूले देशको लागि, देशको जीडीपी र परक्याप्टा इन्कमका लागि छलफल र सहमति गर्नुहुन्न । तर, सहमति जेन्टलम्यान एग्रिमेन्ट हुन्छ, अरूलाई देखाउन (जनतालाई) दुई बुँदा पाँच बुँदाका कुराहरू लेखिन्छन् । राजनीतिमा योभन्दा कमजोर कुरा केही होइन । नेताहरूले सहमति गरेपछि पालना पनि गर्नुपर्ने हो तर त्यस्तो पनि भएको छैन । सहमति पालना गर्नुपर्ने बेला फेरि अर्को समीकरण बन्ने अनि आफू केन्द्रमा भइराख्ने कुरा गलत छ ।
भनेको शीर्ष नेताहरूले आफू केन्द्रित मात्रै निर्णयको गोलचक्करमा नेपाली राजनीति परेको छ ?
कुरा सुन्दा शीर्ष नेतृत्वलाई पनि अप्ठेरो लाग्ला । अहिलेको जुन नेतृत्व अझ भनौं ‘फ्रन्ट लाइनर लिडरसिप’बाट अझैं मुलुक बन्ला भन्ने कसैले पनि आशा नगरे पनि हुन्छ । हाम्रो देशको जनसंख्या तीन करोड भनिन्छ हामी कसैले पनि आशा नगरे हुन्छ । किनकि नेताहरूको चेतनाको स्तर नै यस्तो छ, सहमति गर्ने अनि कार्यान्वयन नगर्ने, सहमति केको लागि गर्ने आफू प्रधानमन्त्री हुन र आफ्नो पार्टी सरकारमा सहभागी हुनको लागि गर्ने, त्योबाहेक अरू केही पनि छैन ।
तपाईंहरू पनि त यस्तो हो नि, सरकारमा गइहाल्नुहुन्छ, समीक्षा नगर्ने ?
मैले समग्रतामा कुरा गरेको छु । हाम्रो मात्रै कुरा गरेको छैन । मैले मेरो राजनीतिक दल मेरो पार्टी मेरो नेता अछुतो छ भनेर भन्न खोजेको छैन । त्यसैले समग्र नेपाली समाजको चेतना हो, यो चेतनाभन्दा माथि उठ्नु पर्छ । प्रधानमन्त्री, पार्टीका अध्यक्ष भइसकेका नेताहरूले समग्र मुलुकको बारेमा सोच्नु पर्छ । समग्र तीन करोड जनसंख्यामा म एक जना हुँ मेरो बारेमा पनि मेरो नेतृत्वले सोच्नुपर्छ । अर्थात् मैले मेरो निर्वाचन क्षेत्रका दुई लाख जनसंख्याको बारेमा सोच्नुपर्छ । तर आज हामीले मेरो आफ्नो लागि, आफ्नो श्रीमतीको लागि छोराको लागि सम्पत्ति, राखिदिने नियतले आज सांसद मन्त्री वा प्रधानमन्त्री नै छु भने पनि सोच्ने कुरा नै अप्ठेरो विषय छ । यसबाट अब जनताले पनि असल नेताको खोजी गर्नु पर्यो, त्यो नेतामा आफ्नो भविष्य देख्नु पर्यो, मैले पनि मेरो नेतामा भविष्य देख्नु पर्यो र प्रधानमन्त्रीमा समग्र नेपाली जनताले भविष्य देख्नु पर्यो ।
अहिले बनेको नयाँ समीकरण, यसमा तपाईंहरू असन्तुष्ट हुँदाहुँदै पनि सामेल हुनु भएको छ, यस्तै तरिकाले चलिरहने हो ?
अब हाम्रो स्ट्यान्ड भन्ने चिज नै छैन । मुलुक नै ‘चल्ते चलाते’ अर्थात् भगवान् भरोसे अवस्थामा छ । अहिले नेपाल पशुपतिनाथले चलाएको देशजस्तो भएको छ । त्यसैले अहिले बेठिक तरिकाले समीकरण बन्यो । अस्थिरता र अस्थिर मनोविज्ञानको कारणले नै अहिलेको नयाँ समीकरण बनेको हो । हामी १० सिटको संसद्मा सातौं राजनीतिक दल, त्यसैले समग्र देश नै बिग्रिने कुरामा दोष हाम्रो त हुँदैन । तर, पूर्णरूपबाट यसमा हामी अछुतो पनि छैनौं । त्यसैले अहिलेको गलत तरिका र गलत मनोविज्ञानले बनेको सरकारलाई विश्वासको मत दिने सहयोग गर्ने कुरा र त्यसमा लागि रहने कुरा जुन हामीले गरिरहेका छौं त्यो बेठीक छ । त्यसकारण हामी अछुतो हुन सक्दैनौं भनेका हौं । पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक अरू कसैले पनि मुलुकको नेतृत्व गरेका छैनन् । समग्र दोष प्रचण्डल नै लिनुपर्छ । त्यसपछि पहिलो दोस्रो दलहरूसँगै हाम्रो संसदीय गणितअनुसार प्रतिशतमा हामी पनि दोषको भागदार हुन्छौं । हामीले साथ नदिएको भए अहिलेको जस्तो अस्थिरता मच्चाइरहने थिएनन् ।
यति जान्दाजान्दै किन प्रचण्डलाई साथ दिइरहनु भएको त ?
यो प्रश्न समग्र नेपाली जनताको रहेको छ । जबसम्म मैखाउँ मैलाऊ भन्ने मानसिकतालाई सिमान्तकृत गर्न सक्दैनौं, त्यतिबेलासम्म यस्तै प्रवृत्ति यस्तै खालको समस्या र यस्तै खालको गोलचक्करमा फसिरहन्छ । त्यसैले हामीले परिस्थिति हेर्दैछौं । परिस्थिति मिल्यो भने अर्को समीकरण बन्छ ।
अर्को समीकरण भनेको कस्तो समीकरण ? नेपाली राजनीतिक समीकरण भनेको त ‘वल्ला घरको नरे पल्ला घर सरे’ त हो नि ?
कमरेड प्रचण्डको हकमा यो लागू हुन्छ । कहिले केपी ओलीसँग सर्ने कहिले शेरबहादुर देउवासँग सर्ने र साथ चाहिँ हामीहरू जस्तासँग लिइरहने । हाम्रो हकमा त यो लागू हुँदैन । गणित जोगाउन साथ दिइरहेका छौं ।
तपाईंहरू पनि त प्रचण्डसँगै लतारिरहनु भएको छ नि, कहिले यता कहिले उता ? १० सिटे पार्टीको पनि अर्थात त संसद्मा छ ?
१० सिटको बारेमा हामीले राम्रोसँग बुझेका छौं । हामीले चाहेको खण्डमा सातवटै प्रदेश सरकार तलमाथि हुन सक्छन् । सरकार ढाल्ने कुरामात्रै त गर्नु हुँदैन । सरकार बनाउन सक्ने ल्याकत राख्छौं । त्यसैले हामीले आफूलाई चिन्न सकिराख्या छैनौं । यो मेरो नेतृत्वप्रतिको पनि गुनासो हो । आफूप्रतिको पनि गुनासो हो । त्यसैले हामी लगातार यो गर्छौं त्यो गर्छौं भनी राख्या हुन्छौं । अब सहमति हुन्छ, त्यो सहमति कार्यान्वयन नहुने कुरामा त हाम्रो दोष होइन नि त । सहमति गर्ने कुरा हामी गर्छौं तर सहमति कार्यान्वयन हुने ठाउँबाट भइराख्या हुँदैन ।
नयाँ समीकरण कस्तो बन्छ ? अहिलेको समीकरण सहकारी प्रकरणले भंग हुन्छ त ?
जुनबेला कम्युनिस्ट आन्दोलन ‘प्लोराइज्ड’ हुन थाल्छ, ध्रुवीकरण हुन सक्ने सम्भावना देखिन्छ । त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी ओलीले एउटा एउटा कुरा बोल्छन्, जुन कुराले प्लोराइज्ड हुन थालेको कम्युनिस्ट मुभमेन्ट भत्किन्छ । यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई एक ठाउँमा आउन दिँदैन । अहिले पनि एमालेले वामपन्थीको सरकार भन्न नै रुचाएको छैन । कम्युनिस्ट पार्टीहरूको एकता र एकीकरणको विरुद्धमा बोलिराख्या छन् ।
अहिलेको गठबन्धन बन्दा त तपाईंहरू पनि कम्युनिस्ट एकताको कुरा गर्दै सरकारमा सहभागी भएको होइन र ?
हाम्रा नेताहरूमा भ्रम छ । कार्यकर्ताहरू पनि भ्रमित भएका छन् । दुनियाँका सबै शक्तिले बुझ्ने गरी म बोल्छु, ‘हाम्रा नेताका साथै जनता र कार्यकर्ताहरू पनि भ्रममा छन् ।’ केपी ओलीबाट नेपालको कम्युनिस्ट एकता हुन्छ भन्ने विश्वास गर्नु नै सबैभन्दा ठूलो (हाँस्दै) भ्रमपूर्ण कुरा हो । उनीबाट नेपालको कम्युनिस्ट आन्दोलन एकीकरणभन्दा पनि क्षयीकरणमात्रै हुन्छ । कम्युनिस्ट पार्टीलाई बदनाम गराए, कम्युनिस्ट पार्टीको कारणले संविधान कमजोर हुने ठाउँमा पुर्याएर बदनाम गराउनेबाहेक केही पनि गर्दैनन् । तर पनि हाम्रा नेताहरू र उनका कार्यकर्ताहरू यति धेरै भ्रममा छन् कि, केपी ओली कम्युनिस्ट पार्टीका नेता हुन् तर उनले कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याँउछन् भन्ने जुन बुझाइ छ यो नै गलत छ ।
यो अस्थिर सरकारको साटो कतिपयले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ भन्छन्, त्यस्तो अवस्था हो ?
यस्तो परिस्थितिको सिर्जना नहोला । जब मुलुकमा ठूलो संकट उत्पन्न हुन थाल्छ, त्यसको सामना गर्नको लागि प्रमुख प्रतिपक्ष र सरकार पक्ष अथवा सबै राजनीतिक दलहरू एक ठाउँमा आएको अवस्था छ । सामान्य अवस्थामा आउँदैनन् । सत्तापक्ष र प्रतिपक्ष मिलेर सरकार बनाउने कुरा त रहँदैन । यदि त्यो रह्यो भने बहुदलीय व्यवस्था नै रहँदैन । तर पछिल्लो अवधिमा जुन हाम्रो अयोग्यता अथवा असक्षमता जुन देखिरहेका छन् जनताले अस्थिरताको गोलचक्करमा फस्नुभन्दा दुई ठूला राजनीतिक दलहरू एक ठाउँमा रहने र मुलुकलाई स्थायित्वतर्फ लाने नेपाली समाजको मनोविज्ञान पनि बन्न थालेको छ । तर यति चाँडै कांग्रेस र एमाले मिलेर सरकार बनाउँछन् भन्ने मलाई लाग्दैन ।
बाहिर र भित्र फरकफरक कुराहरू भइराख्या हुन्छ नेपालको राजनीतिमा ?
यस्तो अस्थिरता भएर महिनामहिना दिनमा विश्वासको वातावरण लिइरहनुपर्ने अवस्था अनि केन्द्रको पराकम्प सातवटै प्रदेशमा पर्नुभन्दा दुई शीर्ष दलहरू मिलेर एक ठाउँमा बसेर स्थायित्व दिँदा राम्रो हुन्छ ।
एकीकृत समाजवादी सहमत हो ?
अस्थिरताबाट स्थिरता प्रदान गर्नका लागि जनताले यस्तै मनोविज्ञान बनाइरहेका बेला म पनि जनताकै पक्षमा छु ।
संघीयताको अभ्यासमा हामीले ढंग नपुर्याएको हो ? केन्द्रमा पानी पर्दा प्रदेशमा छाता ओढ्नु पर्ने ?
केन्द्रमा नयाँ सत्ता समीकरण बन्नासाथ त्यसको पराकम्प प्रदेशमा गइहाल्नुपर्ने भनेको दुःखद् कुरा हो । हाम्रो राजनीतिक धरातल निकै कमजोर छ । भन्नुको अर्थ हाम्रो बुझाइ, सोच्ने शैली र चेतना निकै कमजोर छ । त्यही कमजोर भएकाले यहाँ समीकरण बन्न थाल्छ प्रदेशमा पनि तयारी हुन थाल्छ । प्रदेशमा एक खालको कुनै चिज बिग्रियो भने त्यसको धक्कामाथि पर्छ । कमजोर संरचना भएपछि नतिजा आउने यस्तै हो ।
वर्तमान गठबन्धन सरकारको आयु कति ?
अहिलेको गठबन्धन सरकार तासको पत्ता वा सिसाको घरजस्तै हो । त्यसैले जतिबेला पनि यो सरकारलाई ढुंगा हान्दा चर्किन र भत्किन सक्छ ।
तासकै प्रसंगमा एउटा जोक्कर एकीकृत समाजवादी है ?
हाँस्दै । यो प्रश्न स्वीकार्य छ । एउटा कुरा के बुझौं भने हामीले हाम्रो कारणले फेरि पनि अस्थिरतामाथि अस्थिरता थप्न चाहँदैनौं । फेरि पनि हामी मुलुकको राजनीतिलाई गोलचक्करमा फसाउन चाँहदैनौं, प्रचण्डले जति बदमासी गरे पनि मुलुकले स्थायित्व पाओस् भन्ने मनोविज्ञान नै हो । फेरि सत्य कुरा के हो भने प्रचण्ड मुलुकको राजनीतिको मूलधारमा रहँदासम्म मुलुकले स्थायित्व पाउँदैन । त्यसैले सधैंभरि अस्थिर राजनीति गरिराख्ने कि अर्को एउटा विकल्प खोज्ने भन्दाखेरि स्थायित्वको लागि अर्को एउटा विकल्पको खोजी हामीले गर्नुपर्छ । तर आज बजेट बनिरहको बेला, बजेट संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेका बेला फेरि पनि यस्तो खालको गेम नगरौं भन्ने कुरा हो ।
भनेको असोज कात्तिकसम्ममा यो सरकार बिदा गर्नुहुन्छ ?
हामीले यो सरकारलाई बिदाइ गर्नु नै पर्दैन । किनभने वैशाख १५ गते हिजो शनिबार इलाम २ र बझाङ १ प्रदेशसभा सदस्यका लागि मतदान भएको छ । नतिजा आउँदै छ । यो उपचुनावको नतिजापछि संवैधानिक नियुक्तिका कुराहरू छन् त्यो सम्पन्न भएपछि केपी ओली आफैंले सरकार ढालिहाल्छन् । हामीले ढाल्नै पर्दैन ।
केपी ओलीले किन ढाल्छन् त ?
अहिलेको सरकारमा केपी ओलीले पठाएका मन्त्रीहरूको नाम हेर्नुस्, अर्को कुरा केपी ओली एकै पटक तीन वटा राजनीतिक दलहरूसँग बदला लिन चाहन्थे । एउटा स्वयं प्रचण्डसँग, अर्को हाम्रो पार्टी र अर्को कुरा रवि लामिछानेको रास्वपासँग बदला लिन चाहेका थिए । रवि लामिछानेको रास्वपा एउटा राइजिङ पार्टी नै हो । ओली रविलाई गृहमन्त्रीकै रूपमा सरकारमा राखेर बदनाम गर्न चाहन्छन् । किनभने अन्य पुराना पार्टी जस्तै रास्वपा पनि हो भन्ने भाष्य नेपाली समाजमा निर्माण गर्नु नै ओलीको मुख्य उद्देश्य हो । किनभने रास्वपाले लिएको २०८४ को मिसनका कारण पुराना पार्टीहरूप्रति जनताले आकर्षण घट्न थालेको बुझेका ओलीले रास्वपालाई पनि सरकारमा राखेर हामी जस्तै त हो नि भन्ने बनाउन चाहन्छन् । यसैगरी संवैधानिक नियुक्तिहरूमा आफ्ना मान्छेलाई धेरैभन्दा धेरै गराएर यो सरकारलाई विघटन गर्ने चिन्तनमा रहेकाले हामीले होइन केपी ओलीले नै यो प्रचण्ड नेतृत्वको सरकार ढाल्छन् ।
प्रतिक्रिया