काठमाडौं । चौधरी ग्रुपले चाउचाउमा एसिड भ्यालु धेरै भेटाएको भन्दै दुई लाख रुपैयाँ जरिबाना गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । ।
काठमाडौं महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) बमोजिम चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिबाना गरेको समाचार सार्वजनिक भएको थियो ।
तर, चौधरी ग्रुपले भने आफूले उत्पादन गरेको चाउचाउको गुणस्तरका कारण एसिया, युरोप र अमेरिकामा प्रसिद्धि पाइरहेको प्रस्ट पारेको छ । उसले गुणस्तरीय उत्पादनमा कुनै पनि सम्झौता नगर्ने दाबी गर्दै वाईवाई विश्वका ३५ भन्दा बढी देशमा बिक्री हुँदै आएको पनि विज्ञप्तिमा जनाएको छ ।
‘आज सीजीले विभिन्न पाँच देशहरूबाट उत्पादन भइरहेको वाईवाई विश्वका ३५ भन्दा बढी देशहरूमा बिक्री गर्दै आएको छ । विश्वव्यापी रूपमा वाईवाई इन्स्ट्यान्ट नुडलल्सको वृद्धि पछाडिको एउटा प्रमुख कारक यसको गुणस्तर नै हो । सीजीले यस उद्योगको उत्कृष्टमध्येको एक गुणस्तर प्रणाली स्थापना गरेको छ र हरेक वर्ष यो प्रणाली थप परिस्कृत हुँदै गएको छ ।’ विज्ञप्तिमा भनिएको छ । सीजीले कच्चा सामान फ्याक्ट्री पुग्नुअघिदेखि नै गुणस्तरमा ध्यान दिएको र आपूर्ति गरिएका सामग्री सीजीको गुणस्तर मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्ने काम गर्ने बताएको छ ।
प्रत्येक सामग्रीले फ्याक्ट्रीमा पुग्नुअघि गुणस्तर जाँचको मापदण्ड पूरा गरेको हुनुपर्ने भन्दै सीजी भन्छ, ‘यदि यो मानक पूरा गर्दैन भने सामान अस्वीकार गरिन्छ र आपूर्तिकर्तालाई नै फिर्ता गरिन्छ । प्रारम्भिक जाँच पार भएपछि सामग्री प्रशोधनमा जान्छ जुन प्रशोधनका लागि आवश्यक ब्याच मात्रामा मापन गरिन्छ । दक्ष अपरेटरहरू र कर्मचारीहरूले प्रत्येक प्रक्रिया प्यारामिटरमा परिभाषित मापदण्ड र एसओपीअनुसार छ या छैन भनी सुनिश्चित गर्छन् ।’
सीजीले यो जाँचका बारेमा थप अगाडि भनेको छ, ‘प्यारामिटरहरू निर्दिष्ट अन्तराल (स्पेसिफाइड इन्टरभल) मा रेकर्ड गरिन्छन् जुन सिफ्ट क्वालिटी तथा प्रोडक्सन इन्चार्जले निगरानी गर्ने गर्छन् । कुनै त्रुटि देखिएमा तुरुन्तै वा आवश्यक भएमा सुधारको लागि सम्पूर्ण प्रक्रिया नै रोकिन्छ । यस प्रक्रियामा गुणस्तर जाँचका लागि विभिन्न बिन्दुहरू हुन्छन् जसले अन्तिम उत्पादन मानकअनुसार छ या छैन भनेर सुनिश्चित गर्दछ ।’
परीक्षण निकै नै गम्भीर हुने भन्दै सीजीले अगािड भनेको छ, ‘उत्पादित सामानहरू ब्याच आधारमा भण्डारण गरिन्छ जहाँबाट पुनः गुणस्तर परीक्षणको लागि नमुना संकलन गरिन्छ । उत्पादनहरू बजारमा पठाउँदा अन्तिम गुणस्तर निरीक्षणको लागि (¥यान्डम्ली) नमुना संकलन गरिन्छ । प्रत्येक ब्याच नम्बर भविष्यका लागि रेकर्ड गरिएको हुन्छ ।’
सीजीले आफूसँग योग्य प्राविधिक रहेको दाबी गर्दै भनेको छ, ‘सीजीसँग ७० भन्दा बढी योग्य फुड टेक्नोलोजिस्टहरू छन् जसले प्रत्येक उत्पादनले गुणस्तर मापदण्ड पूरा गरे–नगरेको सुनिश्चित गर्न काम गरिरहेका हुन्छन् । यस कार्यलाई प्रत्येक उत्पादन इकाइमा रहेका प्रयोगशालाहरू प्रयोग भइरहेका हुन्छन् । निर्माण इकाइ प्रयोगशाला, आर एन्ड डी र केन्द्रीय सुपरल्याब गरी गुणस्तर प्रणालीमा तीन तहबाट गुणस्तर मापन भइरहेको हुन्छ । गुणस्तर सुनिश्चितता केवल कारखानामा मात्र सीमित हुँदैन । पठाएको सामान फ्याक्ट्रीबाट घोषणा भए अनुरूप गुणस्तर रहे वा नरहेको हेर्न बजारबाट स्याम्पलसमेत लिइन्छ । यदि त्यहाँ कुनै सुधार वा परिमार्जन आवश्यक परेमा सो कार्य आर एन्ड डीमार्फत गरिन्छ । प्रत्येक नयाँ उत्पादन नियमित उत्पादनमा जानु अगाडि आन्तरिक रूपमा मूल्यांकन र परीक्षण गरिन्छ ।’
सीजीले परीक्षणका प्रक्रियाहरू बाह्य प्रसिद्ध प्रमाणीकरण एजेन्सीहरूमार्फत खाद्य सुरक्षा व्यवस्थापन प्रणाली र गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणित रहेको पनि जनाएको छ ।
सीजीले वाईवाईको गुणस्तरबारे कुनै शंका नगर्न आग्रह गर्दै भनेको छ, ‘विश्व प्रसिद्ध उत्पादनहरू आज अमेरिका, युरोप, जापान, अस्ट्रेलियादेखि पश्चिमी राष्ट्रहरूमा बिक्री भइरहेका छन् । गुणस्तरप्रतिको समर्पण र स्पष्ट परिभाषित उत्पादन प्रक्रियाका कारणले नै यो उत्पादन विदेशी बजारमा सफल भएको छ । वाईवाईको सफलता धेरै वर्षदेखिको विशेषज्ञताको व्यवस्थापन र समर्पणले गर्दा नै सम्भव भएको हो । त्यसैले नै सीजीका उत्पादनहरू नेपाल तथा धेरै राष्ट्रहरूका उपभोक्ताको रोजाइमा परेको छ ।’
प्रतिक्रिया