देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका सभापति देउवाद्वारा शिर्ष नेताहरुसंग छलफल

देशान्तर

काठमाडौं । गण्डकी प्रदेश सरकारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका छन् । गण्डकीमा सर्वोच्च अदालतले काम चलाउ बनाइदिएका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भन्दै प्रदेशसभाको बैठक आह्वान भएपछि कांग्रेसले चासो लिएको छ । देउवाले लोकतान्त्रिक कानुन व्यवसायी संघ ‘डीएलए’का अध्यक्ष सिताराम केसीसहितका कानुन व्यवसायीहरूलाई निवासमै बोलाएर परामर्श लिएका हुन् ।

यसैबीच गण्डकीका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध अपहेलना मुद्दा लगिएको छ । निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतको आदेशविपरीत कदम चालिएको भन्दै अपहेलना मुद्दा लगेका हुन् । यसअघि नै पाण्डेका तर्फबाट सर्वोच्चबाट अन्तरिम आदेश भएको मुद्दा आदेशविपरीतका गतिवधि भएको जानकारीसहित मंगलबार नै पूरक निवेदन लगिएको थियो ।

गत फागुन २५ मा मुख्यमन्त्री भएका एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई २८ गते नै सर्वोच्चले दीर्घकालीन असर गर्ने कामकारबाही नगर्न आन्तरिम आदेश जारी गरेका थियो । फैसलामै सरकारविहीनताको अवस्था राख्न नमिल्ने भएका कारण मात्र मुख्यमन्त्रीमा कामचलाउ भूमिका तोकिएको छ । सर्वोच्चले गण्डकी प्रदेश सरकारविरुद्धको रिटलाई अग्राधिकार दिँदै यही शुक्रबार वैशाख ७ गते ३ बजेभित्र नियुक्ति प्रक्रियाका सक्कल फाइल झिकाउने आदेशसहित अन्तिम सुनुवाइका निम्ति यही वैशाख १० गतेको पेसी तोकेको छ । तर, मुख्यमन्त्री अधिकारीको सिफारिसमा प्रदेश प्रमुख डिल्लिराज भट्टले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेपछि त्यसविरुद्ध पुनः अपहेलना मुद्दा लगिएको गण्डकी प्रदेशका निवर्तमान मुख्य न्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार मुद्दा दर्ता प्रक्रियामा रहेको छ ।