देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीका कारिन्दा नै भए प्रचण्ड



काठमाडौं । कुनैबेला नेपाली राजनीतिको ठूलो पार्टीको अध्यक्ष रहेका माओवादी केन्द्रका अध्यक्ष वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समयमा आइपुग्दा पल्टुरामको संज्ञा पाउँदै यतिबेला इतिहासकै कमजोर र निरीह राजनीतिक पात्र मात्र हैन नेकपा एमालेका अध्यक्ष केपी ओलीको मामुली कारिन्दामा रूपान्तरित भएका छन् ।
शक्ति क्षयीकरण हँुदै गएपछि नेपाली राजनीतिका अस्थिर पात्र प्रचण्डले एक थान प्रधानमन्त्री पदका लागि जस्तोसुकै कदम चाल्छन् र जस्तोसुकै सम्झौता गर्छन् भन्ने त गठबन्धन बनाउने, छोडने, नयाँ बनाउने गर्दै एक वर्षका तीन पटकसम्म संसद्मा विश्वासको मत लिएबाटै प्रस्ट छ ।


नाटकीय रूपमा भएको तत्कालीन नेकपाको एकताका बेला अध्यक्ष भनिए पनि प्रचण्डलाई ओलीले केन्द्रीय सदस्यभन्दा माथिको हैसियतको कहिल्यै ठानेका थिएनन् । अहिले पनि प्रधानमन्त्रीको कुर्सीमा बसे पनि ओलीले अह्राए, खटाएको काम गर्ने तहमा प्रचण्ड पुगेको राजनीतिक विश्लेषकहरू बताउँछन् । प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भेटदा पनि ओलीको अनुमति लिनुपर्ने तहमा झरेका प्रचण्डले आफ्नै पार्टी पदाधिकारीको सुझाव र अडानलाई समेत कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेका छन् । नयाँ गठबन्धन बनेपछि अस्तव्यस्त बनेको प्रदेश सरकार निर्माणका सम्बन्धमा पार्टी पदाधिकारीले कर्णाली प्रदेशको सरकारको नेतृत्व परिर्वतन गर्न नहुने सुझाव र दबाब दिएका थिए । तर, प्रचण्ड ओलीसामु झुक्न बाध्य भए ।

पार्टी अध्यक्षको निर्देशनविपरीत विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री राजकुमार शर्माले अन्ततः राजीनामा दिए । मुख्यमन्त्री शर्माले राजीनामा अघि मंगलबार संसद्बाट विश्वासको मत लिने तयारी गरेका थिए । अव त्यहाँ एमालेका यामलाल कँडेल नयाँ गठबन्धनको मुख्यमन्त्री बन्ने भएका छन् । यस्तै नियुक्ति तथा सरुवाबढुवा पनि प्रचण्डभन्दा ओली बढी हाबी हुने गरेका छन् । महालेखा परीक्षकको नियुक्ति सिफारिसमा पनि प्रचण्डले ओलीले अघि सारेका पात्रलाई नै सदर गरेर ओलीको इमानदार कारिन्दा बनेको टिप्पणी भएको छ । यता वैशाख १५ मा हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको माओवादीले उम्मेदवारी दर्ताको अघिल्लो दिन नै उम्मेदवारी नदिने र एमालेलाई सघाउने निर्णयमा पुग्यो । केन्द्रमा पदाधिकारी बैठकबाट आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको थियो । तर एमालेले प्रतिष्ठाको विषय बनाएको इलाम–२ मा माओवादीका धीरेन्द्र शर्मालाई उम्मेदवार बनाउनबाट माओवादी ‘ब्याक’ भएको हो । शर्मा एमालेका सुहाङ नेम्बाङले उम्मेदवारीको समर्थकमा बसेका छन् ।


अब आफ्नै बलबुतामा निर्वाचन लडेर ठूलो पार्टी बन्ने बहुमत ल्याउने र सरकार बनाउने तहसम्म नपुग्ने बुझेका प्रचण्ड अन्तिमसम्म प्रधानमन्त्री पदका लागि सबै छोड्न तयार भएका देखिन्छन् । ओलीले प्रधानमन्त्री नै दिन्छन् भने पनि यो गठबन्धन तोडेर प्रधानमन्त्री हुन जान्न भन्ने प्रचण्ड ओलीकै निगाहमा प्रधानमन्त्री खान पाउँदा तत्कालीन माओवादीमा हुँदा आफ्ना समकक्षी र विरोधीलाई आफ्ना कुरा राख्न नदिने, अरूको कुरा नसुन्ने प्रचण्ड अहिले ओलीको अगाडि गरुडको छायाँ परेको साप जस्तो हुनुमा प्रधानमन्त्री पद खुस्केला भन्ने दैनिकको डरले काम गरेको राजनीतिका जानकारहरूले बताएका छन् ।