देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइपीएलमा राजस्थानको अपराजित यात्रा कायमै

देशान्तर

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्स (आरआर) ले अपराजित यात्रा कायमै राखेको छ ।

शनिबार राति विराट कोहलीको शतकीय पारि खेलेपनि रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी)लाई जित निकाल्न पर्याप्त हुन सकेन । बैंग्लुरुले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफमा राजस्थानका लागि जोस बटलरले शतकीय पारि खेल्दै अपराजित यात्रालाई कायमै राखे ।

टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले उत्कृष्ट सुरुआत गरेको थियो । पहिलो विकेटका लागि विराट कोहली र कप्तान फाफ डु प्लेसिसले १२५ रनको साझेदारी गरेका थिए ।  प्लेसिस ३३ बलमा ४४ रनको पारि खेलेर आउट हुँदा दुई चौका र दुई छक्का प्रहार गरे । कोहलीले नटआउट ११३ रनको शतकीय पारि खेले । उनले ७२ बल फेस गर्दा चार छक्का र १२ चौका हिर्काए ।

ग्लेन म्याक्सवेल १ रनमा आउट हुँदा सौरभ चौहान ९ रनमा पभेलियन फर्किए । क्यामरन ग्रिन ५ रनमा नट आउट रहेका थिए । राजस्थानका युजवेन्द्र चहलले दुई तथा नान्द्रे बर्गरले एक विकेट लिए ।

१८४ रनको लक्ष्यसहित मैदान उत्रिएको राजस्थानले सुरुआत भने खराब रह्यो । खाता नै नखोल्दै यशश्वी जयसवाल पभेलियन फर्किए । त्यसपछि जोस बटलर र कप्तान सन्जुसामसन मिलेर टिमलाई अघि बढाए । यी दुई खेलाडीले १४८ रनको साझेदारी गर्दै जितको आधार तय गरे । कप्तान सामसन ४२ बलमा ६९ रनको अधर्शतकीय पारि खेल्दै आउट भए । उनले २ छक्का र ८ चौका प्रहार गरे ।

रियान पराग ८ तथा ध्रुव  जुरेल २ रनमा आउट भए पनि जोस बटलरले नटआउट १०० रनको शतकीय पारि खेल्दै जित दिलाए । उनले ५८ बलमा चार छक्का र नौं चौका प्रहार गरे । उनलाई अन्त्यमा सिमरन हटमायरले साथ दिए । हटमायरले ६ बलमा २ चौका प्रहार गर्दै ११ रनको नटआउट पारि खेले ।

आरसीबीका रिसे टोप्लेले २ विकेट लिए । लगातार चार खेलमा जित निकालेको राजस्थान ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा कोलकाता नाइट राइडर्स ६ अंकसहित रहँदा पराजित भएको आरसीबी २ अंकका साथ आठौं स्थानमा छ । आरसीबीको यो लगातार तेस्रा हार हो ।