देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले उपनिर्वाचनको उम्मेदवार आज छान्ने

देशान्तर

काठमाडौं । बैशाख १५ मा हुने उपनिर्वाचनका लागि एमाले, रास्वपालगायत अन्य दलले उम्मेदवारी घोषणा गरेर प्रचारमा लागेका छन् । तर नेपाली कांग्रेसले भने अझैसम्म उम्मेदवारकै टुंगो लगाउन सकेको छैन ।

उम्मेदवार छान्न सोमबार र मंगलबार दिनभर सभापति शेरबहादुर देउवाले पार्टीभित्र नेताहरूसँग छलफल गरिरहेका छन् । तर सहमति जुटेको छैन । कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नेताहरूबीच मतभेद भएको छ ।

मंगलबार उम्मेदवारको टुंगो लगाउन नसकेपछि बुधबार पनि कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले उपनिर्वाचनका लागि उम्मेदवारी दिने र त्यही विषयमा छलफल भइरहेको बताए । ‘सिफारिस भएर आएका नामहरूमाथि छलफल भयो । विभिन्न चरणमा सबै नामहरूमाथि छलफल गरेपछि अब टुंग्याउने चरणमा पुगेको छ,’ उनले भने, ‘आज बस्ने बैठकले टुंगो लगाउँछ ।’

बुधबार पनि दिउँसो २ बजे बुढानिलकण्ठस्थित देउवाको निवासमा बैठक बस्दैछ । मंगलबारको बैठकमा सभापति देउवाले इलाम–२ मा डम्बरबहादुर खड्का र बझाङको प्रदेशसभा–१ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । तर त्यसमा नेता शेखर कोइराला पक्षले असहमति जनाएको छ ।

देउवाको प्रस्तावमा नेता कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि मंगलबार उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।  कोइराला पक्षले इलाम–२ मा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ ।