देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवार छान्दै

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयनसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठक दिउँसो २ बजे बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्ने र उपनिर्वाचनका उम्मेदवार चयन गर्ने तयारी छ ।

बैशाख १५ गते इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । इलाम–२ मा भने सत्तारुढ दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उम्मेदवारको टुंगो लगाएर प्रचारमा लागिसकेका छन् । अर्को सत्तारुढ दल माओवादी केन्द्र र कांग्रेसले भने उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

बैठकअघि सभापति देउवाले दुवै निर्वाचन क्षेत्रको अवस्थाबारे ग्राउण्ड रिपोर्ट बुझेका छन् । त्यसबारे बुझ्न कोशीमा महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे र कोशी सभापति उद्धव थापालाई परिचालित गरेका थिए भने बझाङमा पनि सहमहामन्त्री भीष्मराज आङ्देम्बे र सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरलाई खटाएका थिए ।

सोमबार आङ्देम्बेले सभापति देउवालाई भेटेर ग्राउण्डको यथार्थ अवस्थाबारे जानकारी गराएका थिए ।

कांग्रेसबाट उम्मेदवार बन्न इलाम–२ बाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशीकला राई गरी सात जनाको नाम सिफारिस भइ आएको छ । सभापति खड्का यसअघिका पराजित उम्मेदवार हुन् ।

त्यस्तै, बझाङ प्रदेशसभा १ मा पनि १० जनाको नाम सिफारिस भइ आएको छ । जसमा सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, अभिषेक सिंह, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याँडा, ध्रुबराज उपाध्याय र नारायण हमालको नाम रहेको छ ।