देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डिजिटल साक्षरता


हस्तकला भनेको आफ्नो हातले आफ्नै बौद्धिकताबाट गरेको कलात्मक सिर्जना हो । पुरानो जमानामा काठ, ढुंगाजस्ता वस्तुहरूमा मानिसले औजार प्रयोग गरेर कलात्मक सिर्जना प्रस्तुत गर्दथे । विस्तारै प्रविधिहरू विकास हुँदै गए र रङ तथा वस्तुहरूको सम्मिश्रणबाट कागजमा, म्याग्नेटिक ऊर्जाबाट अडियो टेप र भिडियो टेपमा, प्रकाशको ऊर्जाबाट सीडीमा, विद्युतीय ऊर्जाबाट हार्डडिस्कमा, इलेक्ट्रोम्याग्नेटिक ऊर्जाबाट हावा तथा भ्याकुममार्फत फरकफरक ठाउँ तथा फरकफरक वस्तुमार्फत सिर्जना प्रवाह हुन थाल्यो ।

यसरी सन्देश प्रवाह गर्ने उपकरण र सन्देश प्रवाहित हुने उपकरण दुवैको माध्यमहरू फरक प्रविधि र फरक प्रकृतिको हुनाले यसको अध्ययन विस्तृत रूपमा गरेर मात्र बुझ्न सहज हुन्छ । यद्यपि हामी हाम्रा अग्रजले के कसरी सूचना आदानप्रदान गरेभन्दा नि आज वर्तमानमा हामीसँग भएका प्रविधि कस्ता हुन् र यसको सही सदुपयोग गर्न डिजिटल साक्षरता किन आवश्यक पर्दछ भन्नेबारेमा आजको प्रस्तुत गर्दैछु ।  

नेपालमा साक्षरता दर नेपालको सामान्य साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । राष्ट्र बैंकले गरेको सर्वेक्षणअनुसार वित्तीय साक्षरता दर ५७.९ प्रतिशत रहेको र डिजिटल साक्षरता दर ३१ प्रतिशतको हाराहारीमा रहेको अनुसन्धानले देखाएको छ । आजका दिनमा पनि नेपालमा अशिक्षाका कारण डिजिटल  प्लेटफमार्फत हुने अपराधमा वृद्धि भई रहेकोछ ।

आखिरीमा डिजिटल भनेको के हो ? आलेखकारको बुभाइमा DIGIT याने कि अंक । DIGITAL भनेको अंकानुसार । भनेको ० शून्य अर्थात् अस्थित्व छैन र १ अर्थात् अस्थित्व छ वा भाइस भर्सा । यी दुई अंक ० र १ बाट केही काम गर्नु भनेको नै दुई डिजिटबाट काम गर्नु हो र त्यो बाइनरी प्रक्रिया नै डिजिटल हो । इलेक्टङानिक उपकरणमा ० र १ अंक डिजिट हो भने जुन उपकरणले ० र १ मा गर्ने गतिविधिबाट रिजल्ट दिएर अगाडि बढ्नु डिजिटल हो ।

हामीलाई विद्युतीय उपकरण चलाउन ब्याट्री चार्ज गर्नुपर्ने हुन्छ । उपकरणभित्रको प्रोसेसिङ युनिटले काम गर्नुपूर्व अंकगणितीयतर्क क्षमता राख्ने ए एल यूको प्रयोग हुन्छ जहाँ ० र १ अंकबाट सबै काम अगाडि बढेको हुन्छ । यस्तो उपकरण नै डिजिटल उपकरण हुन् । मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेटजस्तो डिभाइस नै डिजिटल डिभाइस हुन् । यसमा स्मार्ट भन्ने शब्द उपकरणको अगाडि थपिएका छन् भने ए आई वा कृत्रिम बुद्धिमत्तासमेतको भन्ने बुझ्नु पर्दछ । यस अगाडिका एआई, मेसिन र मानवजस्ता आलेखहरूमा यी विषयमा चर्चा गरिसकेको छु । नेपालमा धेरै मानिसहरू, विशेषगरी ग्रामीण र सीमान्तकृत समुदायहरू स्मार्टफोन, कम्प्युटर र इन्टरनेट पहुँचको लागि संघर्ष गरिरहेका छन् । डिजिटल स्रोतहरू सबैको लागि पहुचयोग्य बनाउन सरकारी स्तरबाट काम नगर्दा नेपालमा डिजिटल साक्षरतामा धेरै कमी कमजोरी देखिएका छन् ।

सोसल मिडिया आज हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ, हामी सूचना तथा सन्देश आदानप्रदानका लागि पनि यसैको प्रयोग गर्न थालिसकेका छौं । बंैकिङ कारोबार पनि डिजिटल माध्यमबाट सुरु भइसकेका छन् । यसलाई सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग गर्नको लागि डिजिटल साक्षरता वृद्धि गर्न आवश्यक छ । डिजिटल साक्षरता वृद्धिसँगै साइबरबुलिङ, साइबर चोरी, फिसिङलगायतका आक्रमणहरूबाट सर्वसाधारणहरू सुरक्षित हुनेछन् र डिजिटल संसारभित्र सामाजिक र नैतिक मुद्दाहरूको मूल्यांकन गरी आफ्नो जिम्मेवारीप्रति नागरिक सचेत हुनेछन् । डिजिटल साक्षरता हासिल गर्दै यसमा डिजिटल सामग्री खोज्ने र सही उपयोग गर्ने, डिजिटल सामग्रीको सिर्जना गर्ने, र यसलाई प्रभावकारी रूपमा सूचना तथा सही सञ्चार आदानप्रदान गर्ने सीप विकास गर्नुपर्ने देखिन्छ । आज हामी बैंकिङ क्षेत्रदेखि धेरै क्षेत्रमा डिजिटल प्लेटफर्महरू जानी नजानी उपयोग गरिरहेका छौं ।

शिक्षामा प्रयोग हुने डिजिटल प्रविधिमा पनि सही ज्ञान नहुँदा सही शिक्षा लिन  नसकिरहेको अवस्था छ । डिजिटल उपकरणहरूको सही प्रयोग नजानेर बच्चा, वयस्कमात्र नभई वृद्धवृद्धाको स्वास्थ्यमा समेत असर गरिरहेको स्थिति विद्यमान छ । डिजिटल प्लेटफर्मका अन्तरक्रिया छलफल प्रभावकारी हुनु त के कुरा डिजिटल साक्षरताको कमीले गलत सूचनालाई विश्वास गर्ने परम्परा विकास भइरहेको छ यसमा सरकारलाई जनस्तरबाट नै दबाब सिर्जना गरी उचित बजेट व्यवस्थापन गराउनुपर्ने अवस्था छ । यसो हुन सकेमा हरेक दिन साइबर ब्युरोमा थपिँदै जाने उजुरीको चाङ कम हुने र नागरिकहरू डिजिटल सेवाबाट लाभान्वित हुने थिए । क्रमशः

(लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष हुन् ।)