देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खेलकुदमा तरंग

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अहिले नेपाली खेलकुद क्षेत्र तरंगित बनेको छ । काम गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व लिएको बताउने श्रेष्ठले अहिले संघलाई व्यवस्थित बनाउने योजनाअनुसार काम गर्न सुरु गर्दा खेलकुद क्षेत्रमा कम्पन आएको हो । नेपालको सन्दर्भमा क्रिकेट र फुटबल सर्वाधिक चर्चित र लोकप्रिय खेल हुन् । फुटबल त धारासायी अवस्थामा पुगिसकेको छ भने नेपाली खेलकुदको लोकप्रियता क्रिकेटले धानेको छ । खेलाडीको नतिजाका कारण चर्चामा रहे पनि खेल संघभित्रको फोहोरी राजनीतिका कारण आम समर्थकहरू भने निराश नै रहेका छन् । 

श्रेष्ठले हालै फुटबल र क्रिकेटका बारेमा छानबिन गर्ने पत्र नै मन्त्रालयबाट राष्ट्रिय खेलकुद परिषद् राखेपलाई पठाएका छन् । यो अहिले सांकेतिक रूपमा भए पनि त्यस पत्रले सबै खेल संघलाई आकर्षित गर्ने पक्का छ । फुटबलको कुरा गर्दा एन्फाको नेतृत्व चुक्दा नेपालमा हुनुपर्ने खेल नै बहराइनमा खेल्नुपर्ने बाध्यता आइलाग्यो । दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नभएको भन्दै एफसीले मान्यता नदिएपछि नेपालले विश्वकप तथा एएफसी एसियन कप छनोटको खेल नै बहराइनमा गएर खेल्दा पदाधिकारीको लावालस्कर नै पुग्यो । पदाधिकारीहरू त्यहाँ जानुभन्दा अगाडि नै मन्त्रालयले नजाने भनेको निर्देशन अवज्ञा भएपछि अहिले कारबाहीका लागि पत्राचार पनि गरेको छ । मन्त्रालयले राखेपमार्फत उक्त निर्देशन किन कार्यान्वयन भएको भन्दै पत्र पठाएको हो । उक्त पत्रपछि एन्फाले अहिलेसम्म जवाफ भने दिएको छैन ।

यसैगरी, नेपाल क्रिकेट संघ क्यानको पनि आर्थिक पारदर्शिताको कुरा उठाएको छ ।  क्रिकेट र फुटबल खेलबाट नेपालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय ख्याती प्राप्त गर्दै आइरहेको विषयमा आम जनता तथा खेलप्रेमीहरूको व्यापक समर्थन र चासो रहँदै आइरहेको कुरा यहाँमा विदितै छ । उक्त खेलहरूको विकासको लागि थप योजना, नीति तथा रणनीति तयार गर्ने सन्दर्भमा तत्तत् खेलसम्बद्ध संघहरूको काम, कारबाही एवं क्रियाकलापसँग सम्बन्धित देहायका विवरण एवं कागजातहरूको प्रमाणित प्रतिलिपिहरू ( बुँदागत माग भएअनुसार स्पष्ट उल्लेख गरी) यथाशीघ्र उपलब्ध गराइदिनु हुन निर्देशानुसार अनुरोध गर्दछु,’ मन्त्रालयका शाखा अधिकृत लालप्रसाद पोखरेलले पठाएको पत्रमा भनिएको छ ।

पत्रमा संघको स्वीकृत विधान, कार्यरत पदाधिकारीहरूको नाम, ठेगाना, सम्पर्क नम्बर र पदावधि, कार्यकारीको भूमिका निर्वाह गर्ने पदाधिकारी र कर्मचारीको नाम, पद र सम्पर्क नम्बर उपलब्ध गराइदिन आग्रह गरिएको छ ।  यस्तै, कार्यरत कर्मचारीहरू (स्थायी, अस्थायी, करार, ज्यालादारीसमेत),पछिल्लो तीन वर्षको प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन, भौतिक पूर्वाधार र उपकरणहरूको विवरण, खेलको विकासका लागि प्रदेश र स्थानीय तहसम्मका सञ्जाल तथा गतिविधिहरू, खेलको विकासको लागि संघबाट तयार भएका योजना, गुरुयोजना तथा कार्यक्रमहरू, पछिलो तीन वर्षमा सहभागिता भएको अन्तर्राष्ट्रिय प्रतियोगिता (मिति र स्थान), पदाधिकारीहरूले गरेको विदेश भ्रमणको विवरण र संघको आम्दानीको स्रोत (वैदेशिक समेत खुलाउने) गरी कागजात उपलब्ध गराइदिन पत्रमा भनिएको छ ।