देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रविको घण्टी माओवादीलाई 

देशान्तर

काठमाडौं । पुराना र परम्परागत पार्टी तथा तिनका नेतालाई चर्को गाली गर्दै संसद्मा चौथो दलका रूपमा स्थापित रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ मा इलाम २ मा हुने उपनिर्वाचनमा पार्टीमा स्थापनाकालदेखि संलग्न र सक्रिय कार्यकर्तालाई पाखा लगाउँदै माओवादीका एक कार्यकर्तालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रबाटै उम्मेदवार बन्न चाहिरहेका तर टिकट नपाउने निश्चित भएपछि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सञ्चारकर्मी मिलन लिम्बूलाई रास्वपाले उम्मेदवार बनाउन लागेको हो । 

अन्य पाँच जनाले पनि टिकटको दाबी गरिरहेको अवस्थामा रास्वपाले माओवादी कार्यकर्ताको समेत भोट पाउने आशामा लिम्बूलाई उम्मेदवार बनाउन लागेको हो । पार्टीको निर्वाचन आयोगले लिम्बूको नाम निश्चित गरेपछि सभापति लामिछाने स्वयम् नै इलाम पुगेर लिम्बूलाई पार्टीले उम्मेदवार बनाउने घोषणा गरेका हुन् । 

लिम्बूलाई समेत समावेश गरेर ६ जना आकांक्षीको नाम सार्वजनिक गरेको रास्वपाले अन्यले भने लिम्बूलाई नै समर्थन गरेको दाबी गरेको छ । तर, लिम्बूलाई उम्मेदवार बनाइनुमा भित्री खेल अर्कै रहेको पार्टीकै केही नेताहरूले बताउने गरेका छन् । 

अझ अचम्मको कुरा त के भने रास्वपाबाट उम्मेदवार निश्चित भइसक्दा पनि लिम्बूले माओवादी र सम्बद्ध संस्थाहरूबाट राजीनामा दिएका छैनन् । उनी माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका सचिव हुन् भने आदिवासी जनजाति पत्रकार महासंघका महासचिव हुन् । पत्रकारिता सम्बद्ध संस्थाहरूबाट पनि उनले राजीनामा दिएका छैनन् । राजीनामा नदिई रास्वपाबाट उम्मेदवार बनेको भन्दै प्रेस सेन्टरले भने उनलाई निष्कासन गरेको जनाएको छ । लिम्बू तिनै पत्रकार हुन्, जसले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले नेपाल पत्रकार महासंघका हालसम्मका सभापति तथा अध्यक्षहरूको जीवनी सँगालेर प्रकाशन गरेको अग्र अनुहार नामक पुस्तक सार्वजनिक रूपमै च्यातेका थिए भने पुस्तक च्यात्ने समूहको नेतृत्व नै गरेका थिए ।