देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संवैधानिक परिषद्को बैठक सुरु

देशान्तर

काठमाडौं । रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिकाबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत परामर्श गरेर परिषद्को बैठक राखेका छन् ।

यसअघि चैत १२ गते नै बैठक बोलाइएको भएपनि त्यसबेला बैठक बस्न सकेको थिएन । बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुनेछ भने अन्य रिक्त पदहरूमा समेत नियुक्तिका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री दाहालले शनिबार विपक्षी दलका नेता देउवासँग छलफल गरेका थिए । सो छलफलमा सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ । संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ ।

नेपालको संविधान २०७२ अनुसार १३ वटा संवैधानिक निकायहरू रहेका छन् । त्यसमध्ये महालेखा परीक्षकसहित निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त आयोगमा एक–एक सदस्यहरू रिक्त रहेका छन् ।