देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुम्बईमाथि हैदरावादको रोमाञ्चक जित

देशान्तर

इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको छ । बुधवार राति भएको खेलमा हैदरावादले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर २७७ रन जोडेको थियो । जवाफमा मुम्बईको टोलीले ५ विकेट गुमाएर २४६ रनमा रोकिन पुग्यो ।

मुम्बईका लागि तिलक वर्माले लामो समय प्रयास गरे र ६४ रनको शानदार इनिङ पनि खेले तर टोलीलाई जिताउन सकेनन् ।

मुम्बईले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।  जुन खेलमा उनीहरूका लागि ठूलो गल्ती सावित भयो । टस हारेर पहिले ब्याटिङ गर्दै हैदरावादले आईपीएल इतिहासमा सबैभन्दा ठूलो रन बोर्डमा राख्यो । 

२७८ रनको लक्ष्य पछ्याउन उत्रिएको मुम्बईको टोलीले आईपीएलको इतिहासमा सबैभन्दा ठूलो स्कोर बनाएको थियो । रोहित शर्मा र इशान किशनले पहिलो विकेटका लागि २० बलमा ५६ रनको साझेदारी गरे । तर पहिलो झट्का चौथो ओभरमा इशानको रूपमा लाग्यो ।  इशान १३ बलमा २ चौका र ४ छक्काको मद्दतले ३४ रन बनाएर आउट भएका थिए ।

त्यसपछि मुम्बईले रोहित शर्माको रुपमा दोस्रो विकेट गुमाएको थियो । उनी  पाँचौं ओभरमा १२ बल फेस गर्दा १ चौका र ३ छक्का प्रहार गर्दै २६ रन बनाएर पभेलियन फर्किए । त्यसपछि तिलक वर्मा र नमन धीरले तेस्रो विकेटका लागि ३७ बलमा ८४ रनको साझेदारी गर्दा मुम्बइको केही आशा जागेको थियो ।

तर यो साझेदारी ११ औं ओभरमा तोडियो । नमन धीर १४ बलमा  २ चौका र २ छक्काको मद्दतले ३० रन बनाएर आउट भएका थिए । 

त्यसपछि १५ औं ओभरमा तिलक वर्मा ३४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ६४ रन बनाएर पभेलियन फर्किए । त्यसपछि १८औं ओभरमा कप्तान हार्दिक पाण्ड्याको रूपमा मुम्बईलाई पाँचौं झट्का लाग्यो । कप्तान पाण्ड्याले २० बलमा १ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाए । आउट हुनुअघि हार्दिकले टिम डेभिडसँग पाँचौं विकेटका लागि २३ बलमा ४२ रनको साझेदारी गरेका थिए । टिम डेभिडले अन्तिमसम्म टिकेर २२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन बनाए । हैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले दुई दुई विकेट लिए ।

सनराइजर्स हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो । जुन आईपीएलको इतिहासकै उच्च स्कोर हो । टोलीका लागि सबैभन्दा ठूलो इनिङ्स हेनरिक क्लासेनले खेले । उनले ३४ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै ८० रन बनाए । यसका साथै अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ६३ रन बनाएका थिए । ओपनिङमा आएका ट्राभिस हेडले २४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६२ रन बनाए ।

एडेन मार्करमले २८ बलमा ४२ रनको नटआउट पारि खेले । मुम्बईका हार्दिक पाण्ड्या, गेराल्ड कोट्जे र पियुस चावलाले समान एक एक विकेट लिए । जारी आइपीएलमा हैदरवादको पहिलो जित हो भने मुम्बईको लगातार दोस्रो हार हो ।

चेन्नाई लगातार दुई खेल जित्दै चार अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । राजस्थान, हैदरावाद, कोलकाता, पञ्जाव, बेंग्लुरु र गुजरातले समान दुई दुई अंक जोडेका छन् । अहिलेसम्म दिल्ली, मुम्बई र लखनऊले जित निकाल्न सकेका छैनन् ।