देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भोलिदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा

देशान्तर

काठमाडौं । भोलि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला  पु¥याइएको जानकारी दिएका छन् । उनले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गरेका छन् । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् ।  उनका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक÷एक, पर्सा र सप्तरीबाट दुई÷दुई, रुपन्देहीबाट चार जना छन् ।

परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको  छ । सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुने  भएका छन् । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका हुन्  । जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने छ ।  परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तर पुस्तिकालगायतका सम्पूर्ण सामग्री बोर्डले सम्बन्धित जिल्ला पु¥याएको छ । बोर्डले यसवर्ष पाँच लाख प्रश्नपत्र छापेको जनाएको छ ।

बोर्डका अनुसार एसइर्ई परीक्षाका लागि प्रत्यक्षरुपमा ७७ हजार चार सय ८५ जना जनशक्ति परिचालन हुने भएका छन् ।  प्रति केन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन । यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ । 

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यसवर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइर्ई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ ।