देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृहमन्त्री लामिछानेलाई सहकारी प्रकरणको छानबिन अवधिभर राजीनामा दिन कांग्रेसको आग्रह

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणको छानबिन अवधिभर राजीनामा दिन आग्रह गरेका छन् । उनले छानबिनको निष्पक्षताका लागि गृहमन्त्री नै रवि लामिछाने हो भने जनताले विश्वास दिलाउनका लागि छानबिन अवधिमा बाहिर बस्न आग्रह गरे।

राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको एक करोड जम्मा भएका रवि लामिछाने गृहमन्त्री नै हो कि अरू कोही हो ? भन्दै प्रश्न गरे । बैठकमा बोल्दै बडुले छानबिन नकिएसम्म मन्त्रीबाट बाहिर निस्केर सहयोग गर्ने आशा गरेको बताए ।
सांसद बडुले यो व्यवस्थालाई जोगाउने अवसर पनि भएको बताए । बडुले गृहमन्त्रालयका ३ वटा विधेयक राज्य व्यवस्था समितिमा ल्याउनुपर्ने समेत बताए । उनले प्रहरीलाई प्रदेश अन्तगर्त लैजानुपर्ने बताए । सुन तस्करी छानबिन समितिले प्रतिवेदन बुझाइसकेको बताउँदै बडूले सो प्रतिवेदन गृहमन्त्रीले सार्वजनिक गर्छु भने पनि नभएको बताए । उनले सांसद विनोद चौधरीमाथिको छानबिनबारे असन्तुष्टि व्यक्त गरे । संविधान र संसद्को नियमावलीमा नभएको व्यवस्था छानबिन गर्दैछौ भनेर सभामुखलाई पत्र किन लेखियो भनेर बडुले प्रश्न समेत गरे ।

यस्तै राप्रपाका सांसद बुद्धिमान तामाङले गृहमन्त्री लामिछानेलाई हचुवाका भरमा कसैलाई पक्राउ नगर्न सुझाव दिए । उनले कृष्णबहादुर महरा पक्राउ प्रकरणलाई उदाहरणमा रुपमा प्रस्तुत गर्दै प्रश्न गरे– गर्न खोजेको चाहिँ के हो ? तामाङले महरालाई प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याएको र स्वास्थ्य अवस्थाका कारण हस्पिटल पठाइएको स्मरण गराए । उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले फिर्ता लिएको कि सम्बन्धित व्यक्तिले फिर्ता गरेको भन्ने प्रश्न पनि गरे । बालुवाटार जग्गा काण्डमा कसैले जग्गा फिर्ता गरेकै कारण मुद्दा नचलाइएको जिकिर गर्दै उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा पनि उस्तै प्रवृत्ति देखिएको बताए ।

नेकपा एमालेका सांसद रघुजी पन्तले दुर्गा प्रसाईँका अङ्गरक्षकलाई अनुमति नै नभएको हतियार राख्न कसरी दिइयो भन्दै गृहमन्त्री को जवाफ माग गरे । उनले हतियार नियमन गर्न नसकेकै कारण संसारका विभिन्न मुलुकमा ठुला हत्याकाण्ड भएको भन्दै त्यस्ता हतियार कतिलाई दिइएको छ भन्दै प्रश्न गरे । दुर्गा प्रसाईँलाई दिएको हतियार हेर्दा हतियार दिने व्यवस्थामा पुन बिचार गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले अहिले गुप्तचर निकाय गृहमन्त्री मातहत नभएको र गृहमन्त्रीले भोलि घटना भयो भने मेरो मातहत गुप्तचर निकाय छैन भन्नुपर्ने अवस्था आउने बताए । दशगजामा भारतले सुरक्षा पोस्ट बनाउने गरेको भन्दै उनले सीमा सुरक्षाको अवस्थाबारे पनि गृहमन्त्रीसँग जवाफ माग गरे । छलफलमा समितिका सदस्य प्रकाश अधिकारीले बन्दी गृहलाई सुधार गृहको रूपमा परिणत गर्न आवश्यक रहेको बताए । गृह प्रशासनले छिटो छरितो सेवा दिन आवश्यक रहेको उनको भनाइ थियो ।

त्यसैगरी दुर्गा राईले होलीका दिन ठुला घटना घट्दा समेत सुरक्षाकर्मीले किन नियन्त्रण गर्न सकेन भन्दै गृहमन्त्री लामिछानेको जवाफ मागिन् । पत्रकारलाई नियन्त्रण गर्न सिडिओलाई पत्राचार गरिएको प्रसङ्ग निकाल्दै उनले यो निर्णय पञ्चायती व्यवस्था जस्तो तथा सङ्घीयता विरोधी कदम भएको बताइन् । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा फरार रहेका जिवी राई कहाँ छन् ? भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरे । उनले राईको बिषयमा गृहमन्त्रीको जवाफ मागे ।

बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताए । सचिव अर्यालले देशका विभिन्न भागमा अतिक्रमित भएका सार्वजनिक सरकारी जग्गाहरुको लगत संकलन गर्न सम्बन्धित निकायहरुसँग समन्वय गरी त्यस्ता जग्गाहरु साविककै अवस्थामा फर्काउन स्थानीय प्रशासनलाई निर्देशन गरिएको पनि बताए ।अर्यालले सुनको अवैध आयात, तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको पनि बताए । बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको चरणमा रहेको उल्लेख गर्दै उहाँले अध्ययनपछि कार्यान्वयनमा लगिने बताए ।
सचिव अर्यालले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर राखिएको ५० प्रतिशत हतियार नविकरण नगरिएको प्रारम्भिक प्रतिवेदन आएको भन्दै मन्त्रालयले व्यक्तिहरुसँग गैरकानूनी रुपमा राखिएका हतियार नियन्त्रण गरी शुन्यमा झार्ने नीति अवलम्वन गरेको पनि बताए ।