काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वैशाख १५ मा हुने उपनिर्वाचनबारे भोलिसम्ममा उम्मेदवार उठाउने नउठाउने निर्णय लिने भएको छ । आइतबार बसेको सचिवालय बैठकमा सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय गर्ने सहमति भएको छ ।
नेकपा एमालेले भने उपनिर्वाचनमा उम्मेदवार तय गरिसकेको छ । माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार उठाउने नउठाउने भन्ने निर्णय गरिसकेको छैन ।
यसैबीच नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् । आइतबार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताएका हुन् । उनले देशको विकास गर्न र विकृति, बिसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताए । उनले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रूपमा रूपान्तरण गर्न सकिने बताए । खनालले सुखी नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताए ।
प्रतिक्रिया