देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘होलीले मेरो रंगायो नयाँ चोली’ नै सदावहार



काठमाडौं । फागुन शक्ल पूर्णिमाका दिन मनाइने रंगहरूको पर्व फागु अर्थात् होली यस वर्ष उपत्यकासहित पहाडी जिल्लामा आज आइतवार र तराईका जिल्लामा भोलि मनाइँदै छ । विभिन्न रंग अविर तथा पानी खेलेर मनाउने यो पर्वलक्षित गीतहरू हरेक वर्ष सार्वजनिक भइरहेका छन् । फागु पर्व र होलीका गीतलाई नेपाली र हिन्दी चलचित्रले पनि महत्त्व दिएका छन् । हिन्दी चलचित्रमा समावेश गरिएका होली सम्बन्धी गीतहरूमध्ये अमिताभ बच्चनअभिनीत चलचित्र शिलशिलाको हरिवंश राय बच्चनले लेखेको शिवहरिले संगीत गरेको अनि अमिताभकै स्वर रहेको रंग बरसे भिगी चुनरवाली बोलको गीत सदाबहार होली गीत बनेको छ ।

यो चलचित्रमा रेखा र जयाको पनि अभिनय रहेको छ । नेपाली समाजमा पनि यो गीत लोकप्रिय छ । १२ वर्षअघि यशराज फिल्म्सको आधिकारिक युट्युव च्यानलमा अपलोड गरिएको यस गीतले १ सय ३३ मिलियन भ्यूज बटुलेको छ । त्यसबाहेक अन्य धेरै च्यानल बाट पनि अपलोड गरिएको यस्को अडियो तथा कभर भिडियोले लाखौको भ्यूज पाएको छ ।

यता २०४९ सालमा बनेकोे महानायक राजेश हमालअभिनीत नेपाली चलचित्र अधिकारको गीतकार किरण खरेलको शब्द रचना ‘होलीले मेरो रंगायो नयाँ चोली’ बोलको गीत नै होली गीतका रूपमा सदाबहार स्थापित भएको छ । उदितनारायण झा, दीपा झा, प्रकाश श्रेष्ठ, पूर्णिमालगायतको स्वर शम्भुजित् बाँसकोटाको संगीत रहेको यो गीतलाई होलीको राष्ट्रिय गीतसमेत भन्ने गरिन्छ । चलचित्रमा हमालसंगै कृष्टी मैनाली र अन्य कलाकारको अभिनय रहेको छ । यो चलचित्र भन्दा भन्दा तीन वर्षअघि बनेको सुपर स्टार भुवन केसी अभिनीत चलचित्र तिलहरीमा समाबेश ‘होरिया होरिया हो रंग खेले होली’ बोलको गीत पनि तराई पहाडको होलीमा बजाइने अर्को लोकप्रिय गीत हो । उदितनारायण झा तथा दीपा झाको स्वर र जीवन अधिकारीको संगीत रहेको यो गीतमा भुवन तथा कृष्टिको अभिनय रहेको छ । त्यसैगरी अन्य केही चलचित्रमा पनि होली सम्बन्धी गीत समावेश छन् ।
नीर शाहको शब्द शम्भुजित बाँस्कोटाको संगीत रहेको फागु हो फागु हो बोलको गीत वसन्ती चलचित्रमा समाबेश छ– जसमा निरुता सिंह, करिश्मा मानन्धरलगायतका कलाकारले अभिनय गरेका छन् । बास्कोटाकै संगीतमा चलचित्र सीतामा ‘होरी हे आज जनकपुरमा होली रे’ बोलको गीत समावेश छ । यस गीतमा श्रीकृष्ण श्रेष्ठ र सारंगा श्रेष्ठले अभिनय गरेका छन् । यस्तै राजेश पायल राई र माण्डवी त्रिपाठीको स्वर प्रमोद ढुंगानाको शब्द रचना तथा विकास चौधरीको संगीत रहेको चलचित्र बटरफ्लाईमा पनि होली रे बोलको गीत रहेको छ– जसमा प्रियंका कार्की र आर्यन अधिकारीले अभिनय गरेका छन् ।

त्यस्तै अनमोल केसी, गौरव पहारी, मेनुका प्रधान, सलोन बस्नेत, सृष्टि श्रेष्ठअभिनीत चलचित्र गाजलुमा पनि होली सम्बन्धी गीत रहेको छ । रङ रङाबोलको गीतलाई जैन जेले शब्द लेखेका हुन् भने संगीत पनि उनकै रहेको छ । गीतमा शिवानी मोक्तानको स्वर छ । नेहा प्रियादर्शन र प्रवेश मल्लिकको आवाज रहेको धीरेन्द्र प्रेमर्षिको शब्द तथा प्रवेश मल्लिकको संगीतमा तयार भएको होरीमे गोरी बोलको गीत संरक्षण चलचित्रमा समावेश छ– जसमा सौगात मल्ल र अशिष्मा नकर्मीले अभिनय गरेका छन् ।
चलचित्रको नाम नै फागु रहेको चलचित्रमा मिना निरौला, मनोज महतो, रञ्जित सहानीको स्वरमा आऊ न आऊ खेलौँ बोलको गीत समावेश छ । गीतका शब्द दयाराम पाण्डेले लेखेका हुन् भने वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र सुवास पराजुलीको अभिनय रहेको छ । यस्तै ‘अल्झेछ क्यारे पछ्यौरी’मा पनि ‘होलीके दिन’ बोलको होली गीत समावेश छ । चलचित्र ‘आनन्दता’मा पनि ‘मौसम हो यो मायाको रङ्गको तिहार’ बोलको होली गीत समावेश गरिएको छ ।

कतिपय चलचित्रका लागि तयार गरिएको होली गीत चलचित्रको लम्बाइका कारण छायाङ्कन भएर पनि चलचित्रमा समावेश नभएका गीत पनि छन् । सुदर्शन थापा निर्देशित चलचित्र के यो माया हो का लागि तयार पारिएको सुगम पोख्रेल, शैलेन्द्र प्रधान प्रबिशा अधिकारी, प्राश्ना शाक्य, रेनु बिष्ट, र आरपी भट्टराईको स्वर रहेको आयो रे आयो होली बोलको गीत पोख्रेलको युट्युब च्यानल बाट लिरिकल भिडियो रिलिज गरिएको छ– जसमा शब्द गीतकार लोकराज अधिकारीको र संगीत सुगमकै रहेको छ ।
प्रत्येक वर्ष होलीका अवसरमा अन्य गायक तथा कलाकारले पनि होली सम्बन्धी गीत सार्वजनिक गर्दै आइरहेका छन् । होलीमा गायक आनन्द कार्की, कलाकार दीपाश्री निरौला गायक तथा संगीतकार योगेश काजी, गायिका सारिका घिमिरे, गायक संगीतकार रमेशराज भट्टराई, गायिका सुजाता केसी, गायक चक्र बम, गायिका एलिना चौहान, सुरज शाही ठकुरी, जेआर भट्ट, कृष क्षेत्री, मन्जु खत्री दंगाली, रचना रिमाल, बाबुल गिरी, सुशान्त केसी, युनिक पोइट, भुपु पाण्डे बिपीन घिमिरे , शिला बिस्टलगायतले पनि नेपाली भाषाका होली सम्बन्धी गीत सार्बजनिक गर्दै आएका छन् ।