देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेससँगको बदला विनोदसँग

देशान्तर


काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेपछि सरकारले कांग्रेससँग रिसीबी साध्न थालेको छ । प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै विरोध गर्दै आएका बेला सिआइबी लगाएर कांग्रेस सांसद विनोद चौधरीलाई बयान लिन लगाएर कांग्रेसको हुर्मत लिन खोजेको रुपमा चर्चा गरिएको छ । ४२ वर्ष अघि चौधरी ग्रुपले लिएको बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी सरकार जग्गा हडपेको भन्दै नेपाली कांग्रेसका सांसद एवं उद्योगी विनोद चौधरीलाई विहीबार बयान लिएको थियो । सीआइबीलाई बयान दिएपछि सांसद एवं उद्योगी चौधरीले सरकारले नै उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको बताएका छन् ।


बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित भएर बयान दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतीकरण गरेको बताएका हुन् । राज्यले आफूजत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता र करदाताहरूले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्छन् भन्ने कुराको हेक्का राज्यले नराखेको उल्लेख गरे ।
चौधरी बहालवाला कांग्रेसका सांसद हुन् । तर, सरकारले सीआइबी लगाएर सभामुखलाई पत्र लेख्दै छानविन गरिरहेको कुरा बताउन लगाएको थियो । संसद नियमावली भित्रै नपर्ने कुरालाई अतिरञ्जित गर्दै सञ्चारमाध्यममा फैलाइएपछि उनले आफूविरुद्ध सरकारले नै स्टन्ट गरेको र यसले राम्रो सन्देश नगएको बताए ।

उनले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरूलाई बुझाउन आवश्यक नरहेको पनि तर्क गरेका थिए । ‘४२ वर्षअघि बाँसबारीजस्तो अनकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाई त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलका रूपमा खडा गरिएको नवीनतम् सोचलाई जुन किसिमबाट राजनीतीकरण गरियो, त्यो अत्यन्त दुःखलाग्दो छ,’ चौधरीले भनेका छन् ।
उता, भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले बाँसवारी छाला जुत्ता प्रकरणमा जोडिएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता लगेको छ । छालाजुत्ता कारखानाको जग्गा मालपोत ऐन, २०३४ को दफा २४ मा भएको व्यवस्थाअनुसार सरकारको नाममा ल्याएको बताइएको छ ।


कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी समूहले नियमविपरीत गएर निजी बनाएको सरकारको भनाई छ । २०२२ सालमा चीन सरकारको सहयोगमा बनेको छालाजुत्ता कारखाना घाटामा गएको भन्दै तत्कालीन सरकारले २०५० सालमा निजीकरण गरेको हो । अब सरकारीकरण भएपछि छाला जुत्ताको जग्गा प्रकरणमा चौधरी ग्रुपको संलग्नताबारे अब चर्चा गर्न भने अर्थपूर्ण हुने छैन । यसअघि ललिता निवास प्रकरणमा जग्गा किनेका एमाले नेता विष्णु पौडेलले उक्त जग्गा फिर्ता गरेपछि उनले जसरी सफाइ पाएका थिए सोही नजिरका आधारमा चौधरी ग्रुपले पनि सफाइ पाउने छ ।

न्यायालयले नै छिनोफानो गर्छ : निर्वाण
काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले उद्योगी अरुण चौधरीसहित तीनलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ । उद्योगी विनोद चौधरीलाई सीआइबीले बयान लिइसकेको छ । शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त जग्गा सरकारीकरण भइसकेको जनाएको छ ।
सोही प्रकरणलाई लिएर विनोदका छोरा अर्थात चौधरी ग्रुपको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका निर्वाण चौधरीले तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न यस्तो क्रियाकलाप भएको बताएका छन् । शनिबार सामाजिक संजालमार्फत उक्त घटनाका विषयमा न्यायालयले नै छिनोफानो गर्ने उल्लेख गरेका छन् । निर्वाणले युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन भन्ने प्रश्न पनि गरेका छन् ।
‘आज राजनीति स्टण्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ?एकपटक आत्ममन्थन गरौं,’ निर्वाणले फेसबुकमा लेखेका छन् । चौधरी ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका निर्वाणले देशलाई समृद्धी र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडियाजगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्ने विश्वास पनि लिएका छन् ।
निर्वाणको भनाइ जस्ताको त्यस्तै
१८० वर्ष पहिले टाटा समूह भारतमा आयो । आज भारतीय अर्थतन्त्रमा ठूलो योगदान दिनुका साथै भारतका लागि गौरव बनेको छ यो व्यापारीक घराना। १५० वर्षअघि नेपाल आएको हाम्रो परिवारको छैठौं पुस्ता पुगेको छ। नेपालको कुल राजश्वमा करिव २ प्रतिशत योगदान, देशको सबैभन्दा ठूलो रोजगारदाता, नेपाल बाहिर पनि तीब्र व्यापार विस्तार गरेर नेपाली चन्द्र(सूर्य अङ्कित राष्ट्रिय झण्डालाई विश्वमन्चमा फैलाइरहेका छौं । हाम्रो प्यारो देश नेपालको आर्थिक समृद्धिका लागि सदैव समर्पित र प्रतिबद्ध छौ । देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला निस्वार्थ सहायताको कार्यमा हामी सबैभन्दा अगाडि छौं भन्दा बडो आत्मसन्तुष्टि हुन्छ। भूकम्पका बेला होस्, कोरोना वा यस्तै अन्य कुनै आपतकालीन समयमा हामी निसंकोच जनताको सेवामा जोडिदै आएका छौं। हाम्रो विश्वसनीयता र उत्कृष्ट ट्याक रेकर्डकै कारण त हामीसङ्ग हार्वर्ड बिजिनेस स्कूल, बिल र मेलिन्डा गेट्स फाउन्डेशन वा टाटाहरूलगायतले सहकार्य गर्दै आएका छन् ।
आज यो देश कुन अवस्थामा छ, कसरी यस्तो भयो, यो देशको हीत कसले गर्छ भन्नेबारे युवाहरूले एकपटक आफैलाई प्रश्न सोध्नेबेला भएको छ। के युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् रु आज राजनीति स्टण्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला रु एकपटक आत्ममन्थन गरौं ।
यो देशलाई समृद्धी र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडियाजगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्नेछ भन्ने विश्वास मेरो छ।
केही समयदेखि बासबारी जग्गाका विषयमा जुन धारावाहिक प्रहसन चलेको छ, यसमा थप टिप्पणी गर्न चाहन्न। न्यायालयले नै यसको छिनोफानो गर्ने नै छ। म यतिमात्रै भन्न चाहन्छु कि तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न जे जस्ता कार्यहरु भैरहेका छन्, यसले यो मुलुकलाई कता लैजान्छ, एकपटक सबैले आत्मसमिक्षा गरौं ।