देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इलाम २ उपनिर्वाचनको नालीवेली

देशान्तर


इलाम । इलाममा रिक्त रहेको क्षेत्र नम्बर २ को उप निर्वाचनको चहलपहल तिब्र बनेको छ । प्रतिस्पर्धी दलहरुले उम्मेदवार नाम सिफारिस धमाधम गरिरहेका छन् । आउँदो बैशाख १५ गतेका लागि निर्वाचन आयोग उपनिर्वाचनको मिति तय गरेसँगै पुराना र नयाँ दलहरुले आफ्ना गतिविधिहरुलाई तिब्रता दिएका छन् । ठूला भनिएका दलहरुले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर हेरिरहेका छन् । निर्वाचन क्षेत्रमा लोकप्रिय उम्मेदवारको खोजीमा दलहरु जुटेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले मतदातको मनोभावना बुझ्न केन्द्रीय तहबाटै नेताहरु परिचालन गरेर सर्वे गरिरहेको छ ।


उम्मेदवारमा आकाक्षा राख्नेहरुको अवस्था र मतदाताको मनोविज्ञान बुझ्न केन्द्रीय नेताहरु सक्रिय छन् । एमालेले मतदाताको सहानुभूति र लोकप्रियताका आधारमा उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपयुक्त उम्मेदवारको चाँडै सार्वजनिक गर्दैछ । उम्मेदवारहरुको नाम सिफारिस भएसँगै दलहरुले इलाम २ का गाउँहरुमा गतिविधि बढाएका छन् । भेला, सभा र कार्यकर्ता भेटघाटका कार्यक्रमहरु भइरहेका छन् । उम्मेदवारका आकाक्षीहरु टिकट फुत्काउन काठमाडौं–इलाम बराबरी दौडधुप गरिरहेका छन् । प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो ।
कांग्रेसको तयारी
वि.स.२०५६ सालदेखि नेम्वाङले विजयी हुँदै आएको इलाम २ यसपटक कांग्रेसले जसरी आफ्नो पोल्टामा पार्ने रणनीति लिएको छ । एमालेसँग झिनो मतान्तरले पराजय ब्यहोर्दै आएको कांग्रेस यस पटक विवेकपूर्वक उम्मेदवार चयन गर्ने र एकतावद्ध अभियानमार्फत आफ्नो उम्मेदवारलाई विजयी गराउने रणनीतिमा छ । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार क्षेत्रीय समितिको हालैको बैठकले पहिलो नम्बरमा महासमिति सदस्य भेषराज आचार्यको नाम सिफारिस गरेको छ । दोस्रो नम्बरमा नेता केशव थापाको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस भएको छ । महिला आकांक्षीद्वय चन्द्रमाया लिम्बु र चन्द्रकला राईको नाम सिफारिस गरेको छ ।
२०७९ सालको निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले पराजित पार्टी सभापति समेत रहेका खड्का पुनः आधिकारिक उम्मेदवार बन्ने दौडमा छन् । तर उनलाई यसपटक पार्टीबाट टिकट लिन त्यति सहज देखिएको छैन् । निर्वाचनमा पराजयपछि आफ्नै दलका अग्रज नेताहरुलाई ‘भौतिक आक्रमण गर्ने र अनुशासनको कारवाही गर्ने’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका कारण उनी आलोचित छन् । पार्टी सभापति भएर अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको, जिल्ला कार्य समितिको पूर्ण बैठक एक बर्षदेखि राख्न नसकेको र आफ्नै नेता कार्यकर्तालाई उत्तेजित गाली गर्ने गरेका कारण खड्का साझा उम्मेदवार बन्ने संभावना न्यून देखिएको छ । पछिल्लो समय स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा मंगलबारे बहुमुखी क्याम्पस र महेन्द्ररत्न बहुमुखी क्याम्पसमा गठबन्धन उम्मेदवारलाई धोका दिएको भन्दै माओवादी केन्द्र निकटका विद्यार्थीहरु थापासँग रुष्ट छन् । यद्यपी, पार्टी सभापति भएकाले उनी बलिया उम्मेदवार हुन् ।


नेपाली कांग्रेसको संगठन निर्माणमार्फत लोकप्रियता कमाएका, पटक पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि रहँदै आएका आचार्य यस पटक जसरी टिकट लिएर विजयी भईछाड्ने अभियानमा छन् । इलामका दुईवटा निर्वाचन क्षेत्र, चारवटा प्रदेशसभा, पालिका र वडा तहका पार्टी संरचनाहरुको नेतृत्वमा आफ्नो ‘विचार समूह’का नेताहरुलाई स्थापित गराएको बताउँदै आएका आचार्यले जुनसुकै दलमा आस्थावान मतदाताको मत आफूले पाउने दाबी गरिरहेका छन् । ‘लो प्रोफाइल’मा बसेर संगठन निर्माणमा तीन दशकदेखि सक्रिय रहेको बताउँदै आएका आचार्य यस पटक आफूले टिकट पाउने र विजयी भएरै छाड्ने बताउँछन् ।


कांग्रेसबाटै पूर्वराज्यमन्त्री केशव थापा पनि चुनावी अभियानमा उत्रिएका छन् । कुनैबेला पार्टी दुई चिरा हुँदा शेरबहादुर देउवाको क्याम्पमा बसेर इलाममा संगठन निर्माणमा सक्रिय रहेका थापा लामो समयपछि फेरि संसदीय राजनीतिमार्फत सक्रिय हुने मनस्थितिमा छन् । तर केही बर्ष राजनीतिक विश्रामजस्तै लिएका थापा नयाँ पुस्तासँग त्यति घुलमिल नभएका कारण चुनाव जित्न निकै मेहेनत गर्नुपर्ने कार्यकर्ताहरु बताउने गर्छन । आदिवासी जनजाती महासंघको पूर्वअध्यक्ष एवम समानुपातिकतर्फबाट सांसद भइसकेका नगेन्द्र कुमाल पनि टिकट फुत्काउन दौडाहमा छन् । अन्य उम्मेदवारहरुले पनि आधिकारीक टिकट लिन दौडधुप गरिरहेका छन् ।


यद्यपी, कांग्रेसका जोसुकै उम्मेदवार भएपनि एकताबद्ध चुनावी अभियान संचालन नगरेसम्म इलाम २ आफ्नो पोल्टामा पार्न कठिन देखिएको छ । पार्टीको जिल्ला अधिवेशनमा खड्कालाई सभापतिमा सहयोग गरेका थापा र खड्काबिचको सम्बन्ध पछिल्लो समय विग्रिएकाले देउवा समूहमा विचलन देखिएको छ । जसको प्रत्यक्ष असर देउवा समूह र पार्टीभित्र पर्ने देखिन्छ । तर डा.शेखर कोइराला र महामन्त्री गगन थापाको समूहबाट निर्विकल्प उम्मेदवार भनिएका आचार्यले सबैलाई मिलाएर चुनाव जित्ने दाबी गरिरहेका छन् ।

एमालेको तयारी
एमालेका बलिया र पुराना हस्ती सुवास नेम्बाङको निधनसँगै इलाम एमालेमा एक किसिमको रिक्तता छ । पार्टीमा लामो समय विताएका सक्रिय नेताहरु जिल्लामा रहेपनि चुनाव जित्ने उम्मेदवारको खडेरीजस्तै देखिएको छ । तर पनि आफ्नो विरासत जोगाउन एमालेले ठूलो कसरत गरिरहेको छ । कांग्रेसबाट कुन व्यक्ति उम्मेदवार बन्छ त्यसका आधारमा आफ्नो उम्मेदवार तय गर्ने रणनीतिमा एमालेको तयारी छ । एमाले इलामले छ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको सचिवालय बैठकले छ जनाको नाम सिफारिस गरेको हो । नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, रवीन्द्र सुवेदी, बुद्धि खनाल, रिपल राई र सुहाङ नेम्वाङ रहेका छन् ।

जनजाती अनुहार प्रश्तुत गर्ने वा सहानुभूति क्यास गर्ने रणनीति बनाएको खण्डमा एमालेले राई र सुहाङलाई अघि बढाउने संभावना छ । नेम्वाङको स्वकीय सचिबका रुपमा करिब दुई दशक विताएका बुद्धि खनाल क्षेत्रीय इन्चार्ज समेत रहेकाले आफू जित्ने उम्मेदवार रहेको दाबी गर्दै आएका छन् । नेम्बाङको सचिवालयमा रहेर गाउँका मतदातासँग प्रत्यक्ष जोडिएकाले आफू बलियो उम्मेदवार रहेको खनालले बताउने गरेका छन् । त्यस्तै युवाहरुको मनोभावना तान्न रवीन्द्रले आफूलाई बलियो ठानेका छन् । बरालले भने प्रतिस्पर्धी दलका उम्मेदवारको अनुहारका आधारमा आफू उम्मेदवार बन्ने दाउमा छन् ।

पूर्वी पहाडका जिल्लामा आफ्नो संगठन विस्तार गर्ने अभियानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) यस पटक इलाम २ मा आफूलाई परीक्षण गर्ने दाउमा छ । उम्मेदवार खडेरीको सामना गरिरहेको रास्वपाले नाम टुंगो लगाउन सकेको छैन् । स्वतन्त्र रुपमा संचारकर्मी मिलन लिम्बु, प्रेमदिप लिम्बुले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । एकीकृत समाजवादीले पूर्वप्रधानमन्त्री झलनाथ खनालले तयारी गरिरहेका छन् । तर उनले हालको सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार आफूलाई बनाए तयारी रहेको प्रतिक्रिया दिइसकेका छन् । पहिचानवादीहरुले भने डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवारका रुपमा अघि सारिसकेका छन् ।
मुद्दा र मतदाता
इलाम क्षेत्र नम्बर २ विकासका दृष्टिकोणले केही पछाडि परेकाले विकासमा मुद्दालाई मतदाताले प्रमुख ठानेका छन् । त्यो बाहेक उम्मेदवारको व्यक्तित्वले उक्त क्षेत्रमा विशेष अर्थ राख्दै आएको छ । २०५६ सालयता विजयी हुँदै आएका नेम्वाङको ठाउँमा एमालेको अर्को उम्मेदवार हुनेवित्तिकै मतमा विशाल अन्तर देखिने निश्चित छ । किरात धर्मगुरुको आर्शिवाद र जातीय मतलाई आफ्नो पक्षमा पार्दै आएको एमालेलाई यस पटक चुनाव जित्न त्यति सहज देखिएको छैन् । हाल सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसले साझा र लोकप्रिय उम्मेदवार तयार गरेको खण्डमा कांग्रेसले केही सहज अनुभूति गर्नेछ ।

इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् । गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ ।
इलाम नगरपालिकाको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो । २०४९ सालको स्थानीय निर्वाचनपछि पहिलोपटक इलाम नगरपालिकामा कांग्रेसले जितेपछि एमालेलाई ठूलो असर परेको छ ।

स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने इलाम–२ मा कांग्रेसले एमालेभन्दा चार सयभन्दा बढी मत ल्याएको थियो । कांग्रेसले ३२ हजार ९ सय ७८ मत पाउँदा एमालेले ३२ हजार ५ सय २७ पाएको थियो । माओवादीले २ हजार ७ सय १७, जसपाले ५ सय ५४, एकीकृत समाजवादीले २ सय ७७ र राप्रपाले १ सय ३० मत पाएका ल्याएका थिए ।

त्यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, नेकपा एमालेले २६ हजार ५ सय ६२, माओवादी केन्द्रले पाँच हजार १ सय ५३, जनता समाजवादीले ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ र स्वतन्त्रले ४ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए । यस हिसाबले हालको सत्तारुढ गठबन्धनको मत बढी देखिन्छ भने स्वतन्त्रमा खसेको मत बाँडिन सक्ने देखिन्छ । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतको पनि मत छ ।

प्रतिनिधि सभा निर्वाचन भएपनि उक्त क्षेत्रमा विकासका मुद्दाले पनि विशेष अर्थ राख्दै आएको छ । बहुपतिक्षीत आयोजनाहरु रवी–राँके सडक, इलाम–मंगलबारे सडक, जितपुर–सिद्धीथुम्का सडक, रतुवा खोला पुल, किरात धर्मगुरुको क्षेत्रमा माग गरेअनुसारको विकास नगरेको आरोप एमालेले खेप्दै आएको छ । कांग्रेस, राश्वपा, एकीकृत समाजवादी, राप्रपा जस्ता पार्टीहरु राज्यको जिम्मेवार ठाउँमा नपुगेकाले त्यो आरोपबाट जोखिएका छन् । पछिल्लो समय कोशी प्रदेशको नामकरणको विषय वा पहिचानको मुद्दा र दुर्गा प्रसाईंको अभियानले ठूला दलहरुलाई असर पारेको छ । त्यसमाथि एमाले त्यसको निसानामा छ । प्रदेश नम्बर १ लाई कोशी नामाकरण गर्ने सरकारको नेतृत्व एमालेले गरेको र प्रसाईंको उत्तेजित अभिव्यक्तिको निशानामा एमाले परिरहेकाले त्यसको असर मतदाताको मनोभावनामा पर्ने त्रास छ ।

शीर्ष दलहरुमा खतरा

इलाम २ मा कांग्रेस–एमालेकै दबदबा छ । जिल्लामा बसेर दशकौंदेखि संगठन विस्तार र राजनीतिक गतिविधिमा सक्रिय रहेका नेताहरुलाई बाइपास गरेको खण्डमा दुवै दलमा विद्रोह र विग्रहको संकेत समेत देखिएको छ । पार्टीमा अवसर नपाएको खण्डमा नेता व्यवस्थापन गर्ने सिलसिलामा राज्यका महत्वपूर्ण निकाय वा राजनीतिक नियुक्तिमा समेत हेपिएका इलामका नेताहरुमा उपनिर्वाचनपछि ठूलो विग्रह आउने निश्चित जस्तै छ ।

कांग्रेसबाट चुनावी दौडाहमा रहेका थापा तीनवटा निर्वाचन क्षेत्र कायम रहँदा इलाम ३ बाट चार पटक चुनाव लडेर दुई पटक विजयी भएका थिए । उनले राज्यमन्त्रीको जिम्मेवारी पाइसकेका छन् भने कुमालले समानुपातिकतर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका छन् । त्यस्तै जिल्ला सभापति खड्काले नेविसंघको केन्द्रीय तहमा अवसर पाएपनि सदन प्रवेश गर्ने अवसर पाएका छैनन् । उनी प्रदेश सभा २(क)बाट टिकट पाएर पराजित भएका थिए । आचार्यले जिल्लाको संगठन निर्माणमा तीन दशक विताएपनि पार्टीको केन्द्रीय र राज्यका निकायमा कुनैपनि अवसर पाएका छैनन् । उनी ०७० सालमा नेम्वाङसँग आमने सामने भएका थिए। त्यसबेला आचार्य नेम्वाङसँग पराजित भएका थिए ।

संगठनभित्र बलियो पकड बनाएका आचार्य समूहलाई बाइपास गरेको खण्डमा कांग्रेसका लागि घातक हुने देखिएको छ । क्षेत्रीय समितिबाट एक नम्बरमा नाम सिफारिस भएका आचार्य प्रतिस्पर्धी दलहरुका लागि पनि टाउको दुखाइका व्यक्ति हुन् । निरन्तरता, सक्रियता र संगठन निर्माण गरेरै स्थापित बनेका आचार्य हालसम्म कुनै विवादमा फसेका छैनन् । जोसुकै उम्मेदवार भएपनि उनको समूह मैदानमा सक्रिय नभए कांग्रेसलाई जित निकाल्न कठिन पर्ने देखिन्छ । एमालेमा पनि नेम्वाङको उत्तराधिकारीका रुपमा छोरा सुहाङलाई अघि बढाएको खण्डमा पार्टीभित्र ठूलो विद्रोह आउनसक्ने अनुमान गरिएको छ । सुहाङ अघिबढे दशकौंदेखि दुःख गरेका पुराना नेताहरुको राजनीतिक भविष्य अन्त्य हुने त्रास बढेको छ । जसको असर उपनिर्वाचनमा पर्ने निश्चित छ । दुवै दलमा विग्रह र विद्रोहको संकेत देखा परे नयाँ दलहरुका उम्मेदवारहरुले मतदाताको मनोभावना जित्ने देखिन्छ । जसकका कारण एमाले मत विभाजित हुने र उक्त मत कांग्रेसमा खनिने वा स्वतन्त्र उम्मेदवारतिर बहकिने अनुमान गरिएको छ ।