देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय -फागु सभ्यरुपमा मनाउ

देशान्तर



रङहरूको फागु पर्व सुरु भइसकेको छ । पहाडी क्षेत्रमा आज आइतबार र तराईंका क्षेत्रमा भोलि सोमबार फागु (होली) पर्व मनाइन्छ । फागुपर्वलाई तराईमा होलीको रुपमा मनाइन्छ । फाल्गुण शुल्क पूर्णिमाको दिन मनाइने भएकाले होलीलाई फागुपर्व पनि भनिन्छ । होली पर्वलाई पुरानो रिसराग एवं कटुता बिर्सेर नयाँ सम्बन्ध सुरु गर्ने पर्वको रूपमा पनि लिइन्छ । काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि पहडामा फागुपर्व सुरु भएको मानिन्छ । परम्परागतरुपमा फागु (होली) सद्भावको लागि मनाउने भनिए पनि केही वर्षदेखि यो पर्व उच्छृङ्खलता र तडकभडकको प्रतिकको रुपमा बढ्दै गएकोले नागरिक समाजले यसलाई सभ्यरुपमा मनाउन आग्रह गर्दै आए पनि हुन सकिरहेको छैन ।
पौराणिक कथनअनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुका छोरा प्रल्हाद विष्णुका परमभक्त थिए । आफ्नै छोरा प्रल्हादले भगवान् विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रल्हादलाई मार्न धेरै योजना बनाएको थियो । हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलीका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो । दाजुको आदेशअनुसार होलीका प्रल्हादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलीका जलेर नष्ट भइन् तर प्रल्हादलाई केही भएन । होलीका दहनकै खुसीयाली मनाउन आपसमा रङ र अविर घसेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।
अर्को प्रसंगअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षस्नीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसैदिन जलाएर आपसमा रङ र अबिर लगाएर खुसीयाली मनाएकोले त्यसैको सम्झनामा अध्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको विश्वास पनि रहिआएको छ ।
नेपालमा भव्य र हर्षोल्लासपूर्वक होली पर्व मनाइन्छ । यो पर्व नेपालमा दुई दिन मनाइन्छ । हिमाल र पहाडमा मनाएको भोलिपल्ट तराई, मधेस क्षेत्रमा धूमधामसँग होली मनाउने परम्परा छ । गाउँघरतिर युवायुवतीहरू भेगीय संस्कृतिअनुसार नाचगान गर्दै घरघरमा पुगेर फागु माग्ने र रमाउने चलन छ । परिवारका सदस्य, साथीभाइ एकआपसमा रङमा रंगिएर उल्लासपूर्वक पर्व मनाइन्छ । अझ, यो पर्वमा बालबालिका र युवायुवती बढी रमाउँछन् । सरकारले फागु पूर्णिमाको दिन हिमाल तथा पहाडमा र त्यसको भोलिपल्ट तराईमा सार्वजनिक बिदा दिएको छ ।
होलीमा प्रयोग हुने रङहरूको पनि आफ्नै महत्व र विशेषता रहेको छ । होलीमा विशेषतः रातो, हरियो, पहेंलो तथा नीलो रङ बढी प्रयोग हुन्छ । रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । हरियो रङलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । पहेंलो रङलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ ।
तर पछिल्लो समयमा होली पर्वलाई सभ्य रूपमा मनाउनुको सट्टा उच्छृंखल र विकृत बनाइएको छ । रङ दल्ने बहानामा बल प्रयोग गर्ने, अपरिचित व्यक्तिलाई पनि जबर्जस्ती रङ दलिदिने तथा लोला हान्ने गलत परम्पराको पनि विकास भइरहेको छ । मादक पदार्थ सेवन गरेर होहल्ला, झैझगडा गर्ने र शान्ति सुरक्षामा नै खलल पार्ने गरी काम गर्ने लगायत गलत गतिविधि पनि बढ्दै गएको छ । रङ दलिदिने बहानामा युवतीको संवेदनशील अंग छुने कुचेष्टाले त समाजलाई गलत दिशातर्फ डो¥याइरहेको छ । जसका कारण हात हालाहाल र कुटपिटका घटनासमेत बढ्ने गरेका छन् ।
आपसी सम्बन्ध सुधार तथा भाइचारा अभिवृद्धि गराउने यो पर्व मनाउ“दा हाम्रा आफ्नै मौलिक र प्रचलित विधिहरू छन् । बर्सेनि आउने यो पर्वले आगामी वर्ष झनै उत्साहजनक हुने विश्वास छ । तसर्थ, पर्व मनाउ“दा यी सबै परम्परा र मान्यतालाई ध्यान दिनु अत्यावश्यक छ । होली पर्वलाई भव्य र सभ्य बनाउनु हामी सबैको दायित्व हो । विगतका रिस राग त्यागौं, खुसी र उमंग साटासाट गरौं, वैरभाव अन्त्य गरौं । होली पर्वको अवसरमा सबैमा शुभकामना ।