भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन् ।
नेकपा (एमाले) बागमती प्रदेशले आज मध्यपुरथिमिको बोडेमा आयोजना गरेको बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अब पार्टी सदस्यताकै आधार बनाएर टिकट नदिने बताए । पार्टीको सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर मात्र टिकट नबाँडिने उल्लेख गर्दै उनले देश, जनता र पार्टीको काममा निरन्तर लाग्नेलाई मूल्याङ्कनका आधारमा पार्टी र चुनावमा टिकट दिइने बताए ।
ओलीले टिकटका लागि पार्टीको परीक्षामा उत्तीर्ण हुनुपर्ने बताए ।आजै भएको अर्को कार्यक्रममा ओलीले नेपाली कांग्रेसले संसद् अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाए । अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेको पीडामा निहुँ खोजेर संसद् अवरुद्ध गरेको बताए ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुसी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रूपमा उपयोग गर्न पाउनुपर्ने बताए ।
प्रतिक्रिया