देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संगीतकार नागेन्द्र श्रेष्ठ भन्छन् -‘संगीत जीवन बाँच्ने आधार हो’

देशान्तर

काठमाडौं । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको हालै सार्वजनिक गीत आधा दुःख घटाएर यतिबेला चर्चामा छ । करिब १० लाख दर्शकले हेरिसकेको प्रेम र विरहले भरिएको आधा दुःख घटाएरको भाग २ बजारमा ल्याउने तयारीमा छन्, गायक तथा संगीतकार श्रेष्ठ । वर्षमा करिब एक दर्जन बढी गीत आफ्नै च्यानल नागेन्द्र श्रेष्ठ अफिसियलमार्फत बजारमा ल्याइरहेका संगीतकार श्रेष्ठ प्रवासमा रहेर पनि नेपाली गीतसंगीतको क्षेत्रमा निकै क्रियाशील सर्जन मानिन्छन् । उनका थोपा, जिन्दगीकी रहोमे, वैशाखे घाम, तिमी बिना, उड्ने रहर, तिम्रो बारे, तिमी सुस्तरी, सुस्तरी सुस्तरीलगायतका गीतहरू उनकै अफिसियल च्यानलबाट बजारमा आइसकेका छन् । उनै कैयौँ गीतका संगीतकार नागेन्द्रसँग गरिएको गीतसंगीत, प्रेम र जीवनबारेको कुराकानीको सम्पादित अंश ।

पछिल्लो समय रिलिज गरिएको आधा दुःख घटाएर बोलको गीत यतिबेला चर्चामा छ । गीत हिट भइरहँदा सर्जकलाई कस्तो अनुभूति हुँदो रहेछ ?
साँच्चिकै भन्नुपर्दा मेरो खुसीको सिमाना नै छैन अहिले । आधा दुःख घटाएरलाई दर्शक÷श्रोताले औधी माया दिइरहनु भएको छ । यो मायाको गुन कसरी तिरौँ भइरहेको छ मलाई । आधा दुःख घटाएरको फिमेल भर्सनमा गायिका सुनिता कार्कीको स्वर रहेको छ भने मेल भर्सनमा किरण भुजेलको स्वर रहेको छ ।
यही सफलताले हौसिएर नै आधा दुःख घटाएर भाग २ ल्याउने तयारीमा छु । जसको रेकर्ड पनि सम्पन्न भइसकेको छ भने अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

गीतको सार के हो ?
आधा दुःख घटाएर जिन्दगी बाँच्दाको मज्जा नै यो गीतको भाव र सार हो । आधा दुःख घटाएरले तपाई हामीले बाँच्ने जिन्दगीको मीठो स्वाद बोल्छ यो गीतले । यसका गीतकार सीएल शर्मा हुनुहुन्छ । उहाँको यो भावमा धेरै लट्ठिएका छन् अहिले । जसको निर्देशन शिशिर खातीले गर्नु भएको हो ।

कसरी लाग्नु भयो सांगीतिक क्षेत्रमा ?
बाल्यवस्थादेखि नै गीतसंगीत मेरो रुचि र सोख थियो । मेरो आमाले पनि गाउनुहुन्थ्यो । बुबाले पनि गीत सुन्न खुबै रुचाउनुहुन्थ्यो । सायद आमाको संस्कार र मेरो रुचिमा मेल खाएर हुनुपर्छ म अहिले गायनको क्षेत्रमा छु ।

संगीत के हो ?
मेरो विचारमा संगीत बाँच्ने आधार हो । यसलाई बुझ्न सक्ने हो भने जिन्दगी जिउनलाई सजिलो हुन्छ । संगीतलाई मानिसले मात्रै होइन जीवजन्तु पनि संगीत सुनेर रमाउँछन् । त्यसैले संगीत भनेको मेरा लागि जिन्दगी हो ।

संगीतमा लाग्दालाग्दै तपार्इंले आफ्नो प्रेम पाउनुभयो ? तपाईंले आफ्नी प्रेमिकालाई गायनका माध्यमबाट के उपहार दियो ?
मेरी प्रेमिका, मेरी श्रीमतीले मैले गाएको यो गीत आधा दुःख घटाएर उनकै लागि समर्पित गरेको छु । अहिले पनि उनले यो गीत दिनमा दस पटक गाउँदै सुन्दै गरेको देख्दा म पनि पटकपटक खुसीले रोएको छु । पग्लिएको हुन्छु ।

संगीतमा लागेर के पाउनु भो अनि के गुमाउनु भो ?
संगीतमा लागेर मैले इज्जत, प्रतिष्ठा कमाएको छु । पैसा त मनग्य छैन सांगीतिक क्षेत्रमा तर पनि मानिसहरूले चिन्नुहुन्छ । यो नयाँ गीत गाउँदा विश्वभरका नेपालीले राम्रो प्रतिक्रिया दिनुभएको छ । हामी कलाकारहरूलाई थोरै पैसा धेरै माया चाहिन्छ ।

संगीतमा लागेर बाँच्न सकिन अवस्था छ त ?
पहिला त त्यस्तो थिएन तर अहिले आएर त्यो माहोल बन्दैछ । राम्रो पैसा कमाइरहेका छन् । घर, गाडी, बंगला जोड्न सकिने अवस्था छ । तर सबै गायकगायिकामा यो कुरा लागू नहुन सक्छ । तर सबैले पैसाका लागि मात्रै यो क्षेत्रमा आएको हुँदैनन् । कसैको सोख हुन्छ संगीत । कसैको रुचि त कसैको पेसा । आफ्नो पेसामा इमान्दार हुने हो भने यो जति रमाइलो, नाम र दाम कमाउन सकिने दुनियाँमा अर्को काम छैन । वश एक पटक भाग्यले पनि दिनैपर्छ साथ ।

सांगीतिक क्षेत्रमा भोलिका दिनमा यहाँ कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
भोलिका दिनमा अझ रचनात्मक तरिकले अगाडि बढ्दै छु । मेरा नयाँ गीतहरू आउँदैछन् । अझ यो गीतलाई दर्शकमाझ पु¥याउनुछ । किनकि यो गीतमा साँच्चिकै जीवन छ । आधा दुःख घटाएरको भाग २ अझै बेजोड तरिकाले ल्याउने तयारीमा लागिरहेको छ हाम्रो टिम । गीतकार सीएल शर्मा, गायक किरण भुजेल, गायिका प्रतिमा केसी, निर्देशक गौरव गिरी, एरेन्जर सञ्जीव बराईलीलगायतका साथीहरू आधा दुःख घटाएरको भाग २ को अन्तिम तयारीमा हुनुहुन्छ । अर्को साता रिलिज गर्ने तयारीमा छौं ।