देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनयमा जमेका गणेशको माग बढ्दो

देशान्तर


काठमाडौं । एक यायावर जीवन बोकेर डँडेलधुराबाट सात वर्षपहिले गणेश भट्ट काठमाडौँ हानिए । मनमा सपना थिए तर काठमाडौं आउँदा भट्ट रित्तो थिए । गोजी यता छाम्यो रित्तो, उता छाम्यो रित्तो । मुटुको धड्कनलाई छाम्दा भने उनलाई आफ्ना सपना धड्किरहे झैँ लाग्थ्यो । चिनेको कोही थिएन । कता जाने ? के गर्ने ? यस्तै चिन्तामा उनका पाँच वर्ष बिते । सपना म्युजिक भिडियोमा अभिनय गर्ने थियो । तर, कसरी ? भट्ट अनुत्तरित थिए ।


पिता विष्णुराज भट्ट र माता कलावतीदेवी भट्ट वृद्ध भइसकेका । उनीहरूलाई खर्च पठाएर खुसी तुल्याउनु पर्ने समयमा बुवाआमासँग पैसा माग्न सक्ने अवस्था पनि उनीसँग थिएन । यही चुनौतीबीचमा थुप्रै ठाउँमा विभिन्न काम गर्दै भट्ट जीविकोपार्जन गर्दै आइरहेका थिए । सपनालाई पूरा गर्न भट्ट अवसरको खोजीमा थिए । यात्रा क्रममा उनको गायक जिसन भट्टसँग भेट भयो । र, भट्टकै गीतमा उनले पहिलो पटक अभिनय गरे ।
त्यसपछि भट्ट आफ्नो सपनाको यात्रामा लहरिन थाले । र, दुई वर्षको बीचमा उनले १५ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले उज्यालो भो जुनले, मैसाव, जीवनसाथीजस्ता थुप्रै चर्चित गीतमा अभिनय गरिसकेका छन् । हालैमात्र उनी अभिनीत मैसाव र जीवनसाथीको म्युजिक भिडियो बजारमा आएको छ ।


‘अब सांगीतिक क्षेत्रमा काम पाउन थालेको छु । संघर्ष गर्दै नृत्यसँगै अभिनय पनि सिकिरहेको छु । यसै क्षेत्रमा भविष्य खोजिरहेको छु,’ उनले भने । उनले पछिल्लो समय थोरै भए पनि पारिश्रमिक लिएर काम गर्न थालेको जानकारी दिए । दर्शकले अभिनयलाई मन पराइदिएका कारण गीतमा अभिनय गर्न आफ्नो खोजी हुन थालेको उनी बताउँछन् ।
‘हामी सामान्य परिवार र मोफसलबाट आएर काठमाडौंमा संघर्ष गरिरहेका मानिसहरूका लागि सहज छैन । तर, सहज छैन भन्दैमा हिम्मत पनि त हार्नु भएन,’ उनले भने । आगामी दिनमा राम्रो फिल्म पाए त्यता पनि अभिनय गर्ने सोच बनाइरहेको उनी बताउँछन् ।


उनी युवाहरूका लागि प्रेरणा बनेर काम गर्न खोजिरहेको बताउँछन् । युवाले चाहेमा संघर्षको मैदानमा सफलताको फूल फुलाउन सक्छ भन्ने उदाहरण बन्न चाहेको उनको भनाइ छ ।
त्यसैले उनलाई काम सानो–ठूलो लाग्दैन । मिहिनेत गर्दै सफलता हासिल गर्नुपर्छ भन्ने भट्टलाई लाग्छ । अहिले अभिनय गरेर नै जीविकोपार्जन गर्न सक्ने अवस्था नरहेकाले अन्य काम गर्दै आफ्नो सपनालाई पूरा गरिरहेको उनी बताउँछन् ।
रारा म्युजिक अवार्ड, इपिक्स म्युजिक अवार्ड, बी स्टार म्युजिक अवार्ड र सगरमाथा म्युजिक अवार्डजस्ता थुप्रै अवार्ड पनि उनले जितिसकेका छन् । भोलि पूर्ण रूपमा यसैबाट जीविकोपार्जन हुने अवस्था सिर्जना भए सांगीतिक क्षेत्रमा नै तल्लीन हुने उनले बताए ।