देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरा आजदेखि औपचारिक रूपमा पर्यटनको राजधानी

देशान्तर

काठमाडौं । पोखरालाई आजदेखि औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरेका थिए ।

प्रदेशले योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठित विशेष अध्ययन समितिको सिफारिसका आधारमा प्रदेश सरकारले फागुन २३ गतेको मन्त्रीपरिषद् बैठकबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो । विभिन्न २० वटा इन्डिकेटरलाई मापदण्ड बनाएर पोखरालाई राजधानी घोषणा गरिएको हो । यस अघि पोखरामा आयोजित माओवादीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबिच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको दाबी गरेका थिए ।

उनले कांग्रेसबाट पटक पटक धोका भएको र कांग्रेसबाट भोट ट्रान्सफर नहुने भएपछि नयाँ गठबन्धनमा गएको तर्क गरे । पोखरामा उनले गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको पनि बताए । गण्डकीमा माओवादीको नेतृत्वमा सरकार बनाउने विषयमा सत्ता साझेदार दलहरुबीच कुराकानी भइरहेको प्रचण्डको भनाई थियो ।


माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले अर्को एक कार्यक्रममा बोल्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयास भइरहेको बताएका छन् । उनले सबै ऋणलाई अनुदानमा बदल्ने बताए । त्यस्तै दाहालले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई जसरी भए पनि न्याय दिलाउने आश्वासन दिएका छन् । सहकारीबाट पीडितहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त आश्वासन दिएका हुन् ।


सहकारी पीडितका प्रतिनिधिहरुले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । उनीहरुले जीबी राईसहितले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएको भन्दै उनलाई पक्राउ गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।