देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘राजनीति फोहोरी खेल भयो’

देशान्तर

पछिल्लो समय नेपालको राजनीति फोहोरी खेलमा फस्दै गएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण पनि राजनीति अस्थिर बनेको बताउँदै केसीले अझैं पनि राजनीतिक घटनाक्रम राम्रोसँग अघि नबढेको पनि बताए । सुन चोर र सहकारी ठगहरू सरकारमा रहेको बताउँदै यसले कुनै पनि निकास नदिने तर्क गरे । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले अध्यक्ष केसीसँग गरेको कुराकानीको सम्पादित अंश ।

वर्तमान राजनीतिक घटनाक्रममाथि राष्ट्रिय जनमोर्चाको टिप्पणी ?

राजनीति सबै नीतिको माउ नीति हो । तर प्रायजसो सबैले कमाउने नीति र पैसा जम्मा गर्ने नीतिको रूपमा व्याख्या गर्दै राजनीतिलाई फोहोरी खेल बनाए । राजनीति नगर्नेहरूले भन्छन् नि ‘डर्टी गेम’ । सबैभन्दा असल ‘गेम’ त राजनीति नै हो । त्यसलाई राजनीति गर्नेले सत्ता र शक्तिको दुरुपयोग गरेर बदनाम गरे । त्यसैले गर्दा अहिलेको राजनीतिक घटनाक्रम राम्रो छैन ।

यो गठबन्धन किन भत्कियो, नयाँ किन बन्यो त ? 

पुरानो गठबन्धनले भ्रष्टाचारका फाइल अलि बढी खोल्यो, त्यसले गर्दा गठबन्धनमै सामेल भएकाहरू र तत्कालीन प्रतिपक्षीको पनि पोल खुल्ने भयो । यस्तो हुँदा सत्ता र प्रतिपक्ष सबैतिर प्रहार हुने भएको हुनाले गठबन्धन पुरानो भत्कियो र नयाँ बन्यो । यो भनेको ती फाइलहरूबाट केही दिनलाई जोगिन पनि खोजिएको हो ।

गठबन्धन ट्टुनुको पछाडि फाइल मात्रै हो कि अरू पनि छन् ?

फाइल खोले पनि बदनाम त भयो नि । अब आयोग सायोग बनाएर चोख्याउने कुरा त नेपाली राजनीतिमा भई नै रहन्छन् । निरन्तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र देशभक्तिको नाउँमा पैसाको खेती गरिरहेकालाई त अहिले अलि बिझायो । (हाँस्दै) त्यही भएर पुरानो गठबन्धन भत्काउनै पर्ने भयो र भत्काए ।

गठबन्धन भत्काउँदा जुन तर्क गरिएको छ, यसमा दम छ कि, भडास मात्रै हो ?

भडास मात्रै हो । प्रतिपक्षीले जुन कुरा उठाएको थियो, त्यो कति जायज थियो र, २०७४ सालमा राष्ट्रिय जनमोर्चालाई नै यो गठबन्धन भित्रबाट धेरै फकाइफुल्याई गरिएको थियो । हामीले २००७ सालपछि, कमसेकम देशको राष्ट्रियताको पक्षमा वामपन्थीहरू नै बढी अग्रपंक्तिमा लडिराख्या छन् भन्ने मान्यता र व्यहोरामा थियो । नेपाली जनतामा पनि वामपन्थीहरूप्रति अलि बढी विश्वास थियो । उनीहरूमा सैद्धान्तिक स्तर, आचरण र चरित्र पनि थियो । तर अहिले त्यसमा असाध्यै स्खलन आयो । अहिले त वामपन्थीको हो भनेर छुट्ट्याउन पनि सकिन्न । वामपन्थीको निश्चित सिद्धान्त, त्याग तपस्याको भावना हुन्छ भनिन्थ्यो तर अहिले त्यो केही पनि देखिएन ।

नयाँ गठबन्धनलाई तपाईंले विश्वासको मत दिनु पनि भएन, अनि बालकोटप्रति अलि बढी खरो टिप्पणी गर्नुभयो किन ?

पोहोर साल नै मैले संसद्मा भनेको थिए, यिनीहरू संसदीय प्रणालीमा खेल्ने भनेको त सत्तामा जाने र पैसा मात्रै कमाउने त्यसपछि फेरि पाँच वर्षपछि पैसा लगेर उडाएर फेरि संसद् र सरकारमा आउने त होनि नेपाली प्रबृत्ति भनेर । मैले भनेको कुरा के हो भन्नुहुन्छ भने गत वर्षको पुस २६ गते विश्वासको मत लिनेबेलामा संसद्भित्र रहेका सबैले प्रधानमन्त्री प्रचण्डको समर्थन गर्न गएको कुरा त आश्चर्यजनक नै थियो नि । त्यतिबेला ममात्रै प्रतिपक्षी थिए । नेमकिपा पार्टी त बालकोटको गतिविधिमा सधैँ मौन समर्थन गर्छ । मैले अस्ति पनि नेमकिपाका सांसद प्रेम सुवाललाई सोधेको थिएँ, तपाईंको त समर्थक नै थियो, कसरी प्रतिपक्ष भन्नुहुन्छ ? चुनाव गराउँछु भनेकाले हामीले समर्थन गरेको भनेर भन्थे मलाई । मैले त म पाउनेभन्दा पनि मत दिनेहरूको स्तरलाई व्यंग्य गरेको हो ।

संसद् भनेको गणित नै हो, जे जति भए पनि आम जनताले के पाउने ?

जस्तो एक जना व्यक्तिले जीवनमा अनेक उतारचढाव र ठक्कर खान्छ, त्यसैगरी राष्ट्र र लोकतन्त्रको जीवनमा पनि यस्तै ठक्करहरू आउँछन् । २००७ सालभन्दा अगाडि त त्यस्तो समस्या थिएन । त्यतिबेलाको व्यवस्था नै फरक भए पनि तपाईं चुँ गर्न पनि पाउनुहुन्नथ्यो । पञ्चायती व्यवस्थामा यस्तो सत्ता र प्रतिपक्ष भनेर जुहारी हुँदैनथ्यो । जनतामा यति जागरण पनि थिएन । तपाईंले मलाई संसदीय व्यवस्थाको लोकतन्त्र भन्नुहुन्छ भने सैद्धान्तिकरूपले राष्ट्र र जनताको समस्यालाई पार लगाउन सक्दैन भन्ने नै हो हामीले त । तर अहिले निरंकुश व्यवस्था र पारिवारिक शासन ल्याउनको लागि यत्रो उत्पात भइराखेको छ, त्यसको तुलनामा लोकतन्त्र प्रगतिशील भएकाले यसलाई बचाउनु पर्छ भन्ने हो ।

खराब खराबबाट कम खराब छनोट भन्या ?

सुन चोर को हो, सहकारी चोर को हो भनेर तत्कालीन अवस्थामा राष्ट्रिय पञ्चायतमा गएर सांसदहरूले भन्न सक्थे, त्यतिबेला यस्ता कुरा गर्दा त त्यही मारिन्थे । अहिले त सहकारी ठगहरू पनि सुनचोरहरू पनि संसद्मै बसेर मुर्मुरिएर पनि सुन्न त परेको छ नि । लोकतन्त्रमा कमसेकम वाक स्वतन्त्रता छ । यसैगरी जनतामा पनि सन्देश गएको छ । अहिले लोकतन्त्र, गणतन्त्रलाई सिध्याउन षड्यन्त्र र खेलहरू भएका छन् । यसलाई जोगाउन पर्छ भन्ने पक्षको बीचको गठबन्धन अघिल्लो थियो जुन अहिले प्रचण्डले विघटन गरेर नयाँ बनाए ।

अघिल्लो गठबन्धनप्रति तपाईं उदार तर अहिलेको नयाँ गठबन्धनप्रति किन नकारात्मक भनेर प्रश्न गर्छन् नि ?

यो प्रश्न मैले सामना गरिरहेको छु । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि सरकारमा बस्नुपर्छ, तपाईंहरू बाहिर बसेर हुँदैन भन्नुहुन्थ्यो । म लेखा समितिमा गिरिजाप्रसाद कोइरालाको जोडबलमा बसेको हुँ । कसैप्रति पूर्वाग्रह होइन । २०७२ सालको संविधान जारी भएपछि जब भारतले नाकावन्दी गरेको थियो, बालकोटले मलाई धेरै पटक छलफल गरेपछि सरकारमै आएर मद्दत गर्नुप¥यो, संविधान बचाउन प¥यो, राष्ट्रियताको पक्षमा तपाईंहरूको राम्रो अडान भनेपछि म पनि त ओली नेतृत्वको सरकारमा उपप्रधान तथा सहकारी मन्त्री भएर सामेल भएँ । म पूर्वाग्रही छैन । जब म सरकारमै सामेल भएर सहकारी मन्त्री भएँ पछि सहकारी ठग्नेहरू त सांसद, मन्त्री भइसकेका मान्छेहरू, पदमा बसिसकेका मान्छेहरूले सहकारी चलाएर जनतालाई ठग्दा रहेछन् । म मन्त्रालय जानका लागि डेराबाट निक्लने बेला बाटाबाटामा जुलुस छ । त्यतिबेला ओरेन्टियल सहकारीले ११ अर्ब हिनामिना गरेको कुरा आएको थियो । म मन्त्री भएपछि सहकारीको समस्या कसरी पार लगाउने भनेर ऐनको व्यवस्था छैन, ऐनको व्यवस्था गरेर यिनी सबै सहकारी ठगहरूलाई ठेगान लगाउनुपर्छ भनेर म काममा लागे । त्यतिबेलाका ठूलाठूला सहकारी सञ्चालकहरू जो सांसद थिए, कोही मन्त्री पनि भइसकेका थिए, त्यसमध्ये कोही अहिले फरार र कोही जेलमा छन्, उनीहरूले उहाँ मन्त्रीले सहकारी बुझ्नु नै भएन भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीका अगाडि बालुवाटारमा तीन पटक उभ्याए ।

सहकारी मन्त्री भएपछि मैले काठमाडौंमा चलेका सहकारीका ठगहरूले सिद्धान्तविपरीत कर्मचारीलाई समेत किनेर दर्ता गरेर बसेकाहरूले बैंकिङ कारोबार पनि गरेका थिए, जुन सिद्धान्तविपरीतको काम थियो । तिनीहरूको पक्षमा काम गरिदिनु पर्नेरे । तर मैले मानिनँ । मन्त्रालयमा इमान्दार कर्मचारीहरू पनि थिए । उनीहरूलाई साथ लिएर सहकारी ऐन बनाउनेतर्फ लागे । सहकारीको साधारणसभा गर्ने ठाउँमा नै म जान मानिन् । तर तत्कालीन राष्ट्रपति, प्रधानमन्त्री र सभामुख उनीहरूको कार्यक्रममा जानुभयो । 

जम्मै कुराहरू सुन्दा देशको चाबी अन्यत्रै छ होइन ?

हो । चाबीभन्दा पनि राजनीति गर्ने भनेको राष्ट्र र जनताको लागि आफूले दुःख पाएर पनि गर्नुपर्छ भन्दा पनि यो संसदीय व्यवस्थाभित्र ठूलो रकम आर्जन नगरिकन र पैसा लगेर नउडाइकन चुनाव जित्न नसकिने जनता र मतदाताको स्तर पनि त्यस्तै छ । यो दक्षिण एसियाका देशहरूमा प्रायः पैसा खर्च गरेर चुनाव जितेर आउने प्रचलन जस्तै छ । जसरी पनि चुनाव जित्ने अनि सत्ता र शक्तिमा बस्ने, सांसद भएर मात्रै बस्न प¥यो भन्दा पनि मान्दैनन् । उनीहरूलाई मालदार मन्त्रालयको मन्त्री हुनै प¥यो । छिट्टै चुनावमा गरेको खर्च चाँडै उठाउनु प¥यो । मैले त त्यो भोगे देखेको छु । म ९ महिना सहकारी मन्त्री भएपछि बुझे नि कसरी त्यहाँ महत्वपूर्ण ठाउँमा बसेकै व्यक्तिले सहकारी लुट्दा रहेछन् भन्ने कुरा । त्यो राजनीतिक संरक्षण नभइकन सांसदहरूले सहकारी चलाउन मिल्दैन । यसैगरी प्रशासनमा बसेर भ्रष्टाचार गरेर निस्किएको मान्छेले पनि सहकारी चलाइरहेका छन् । सहकारीको सिद्धान्त र नीतिविपरीत चलिरहेका छन् । सहकारी भनेको ठग्नका लागि बनाइएको जस्तो देखियो । सरकारकै मान्छेको संरक्षणमा उनकै मान्छेहरूले अहिले पनि सहकारीमार्फत ठगी रहेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम हुनुमा उत्तर दक्षिण कसको ‘ग्राइन्ड डिजाइन’ हो ?

अहिले उत्तर दक्षिणमात्रै नभई अमेरिका पनि यो खेलमा सामेल भयो । पहिलापहिला अमेरिका प्रत्यक्षरूपमा आउँदैनथ्यो । एमसीसी ल्याएर संसद्बाट पास गरेपछि अमेरिका पनि जोडिएको छ । अमेरिका र चीनबीच विश्व व्यापार प्रतिस्पर्धामा द्वन्द्व चलिरहेको छ । कतै नेपाललाई युक्रेन बनाउने त होइन भन्ने पनि मलाई चिन्ता लाग्छ । पहिला दक्षिणबाट मात्रै बढीभन्दा बढी हस्तक्षेप गर्ने भएकाले हामीलाई त्यसको मात्रै पीडा थियो । अब दक्षिणको भारतमात्रै छैन, उत्तरको चीन र अमेरिका पनि नेपालको विषयमा आएका छन् । वास्तवमा नेपाल शक्ति राष्ट्रहरूको क्रीडास्थल बन्ने खतरामा छ ।

गठबन्धनमा कम्युनिस्ट एकताको कुरा गरेका छन्, स्थिरताको कुरा पनि गरेका छन्, त्यसलाई नपत्याउने ?

(हाँस्दै) तपाईंलाई पत्याउने अधिकार छ । मैले पनि त्यही पत्याएर २०७४ मा उहाँहरूको गठबन्धनमा गएको । कम्युनिस्ट नभए पनि कमसेकम अरु बुर्जुवा पार्टीको तुलनामा यिनीहरू देशभक्त र जनतान्त्रिक शक्ति हुन् भनेर नै गएको हुँ । आफूले समर्थन गरेको सरकार भत्काउन मैले गण्डकी प्रदेश सांसदलाई कारबाही गर्नुप¥यो । अरू पार्टीहरू भएको भए गर्ने थिएनन् । आफ्नो पार्टीभित्र अल्पमतमा परिसकेपछि संसद्मा विश्वासको मत लिन जान पनि नपर्ने, कोरोनाले नेपालीको त्यो जात्रा भएको छ, पशुपतिमा सुन किनेर जलहरू चढाउने अनि त्यसमा आफ्नो नाउँ लेख्न लगाउने, दुईदुई पटक संसद् विघटन गरेपछि सर्वोच्चले बेठिक भयो भनिसकेपछि फेरि संसद् चल्न नदिएको दुर्दशा देखेर बनेको गठबन्धन हो नि त्यो त । कसैका रिसले त होइन । सयौं वर्ष लडेर ल्याएको लोकतन्त्र र गणतन्त्र सिध्याउन भएपछि त आफूले समर्थन गरेको र आफूले मत दिएको गण्डकी प्रदेशमा हाम्रै सांसदले आनेकाने गरे । अनि मेरै विरुद्धमा प्रचारबाजी गरेर बागलुङका जनताको भावना चित्रबहादुरले बुझेन भनेर । मैले त सधंै एमालेको गठबन्धनलाई साथ दिइरहनु पर्ने, अनि लोकतन्त्र मास्नका लागि उनीहरू लाग्दा पनि समर्थन गर्नुपर्ने भनेपछि गण्डकी प्रदेशमा जनमोर्चाका सांसदलाई कारबाही गरियो । यसमा जनतालाई भ्रममा पनि पारिएको थियो । जनताले एमालेको ठाउँमा कांग्रेसलाई राख्दा कम्युनिस्ट विरोधी भनेर मेरै विरुद्धमा प्रचार गरे ।

अहिलेको नयाँ गठबन्धनबाट के आशा गर्ने ?

विभिन्न काण्डमा परेका र बदमासी गरेकाहरूलाई जनताले कसरी मतदान गर्छन् त्यताबाट पनि हेर्नुपर्छ । किनभने उनीहरूलाई चुन्ने त जनता हुन् । यसमा अब जनतालाई पनि जिम्मेवार देख्छु म । कसैको इतिहास के हो, चरित्र के छ र के गरिराख्या छ भन्दा पनि उसले गएर चुनावमा कति खर्च गर्न सक्छ, जनतालाई झुक्याउने दलालहरूलाई कति खेलाउन सक्छ, त्यसका आधारमा चुनिएर आउने हो, मैले त त्यो पनि देखि राख्या छु । राम्रो गरे समर्थन गर्ने हो नराम्रो गरे विरोध गर्ने हो ।

अब कांग्रेसले बनाउने गठबन्धनमा तपाईं सामेल हुने हो कि, त्यतिबेला पर्ख र हेर हो ?

 त्यो प्रश्न नगर्नुस् अहिले । कसरी जान्छन् एमाले माओवादीहरू । कांग्रेसलाई पनि मैले चिन्या छु, बुझ्या छु । अहिले कांग्रेसको पनि र अरु वामपन्थीहरूको पनि आवश्यकता छ । जसले लोकतन्त्र र गणतन्त्रको लागि लामो समयदेखि लडे त्यो लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्नका लागि जुन खालको चरित्र हुनुपर्ने थियो त्योबाट यिनीहरू चुके । जो लोकतन्त्र र गणतन्त्रको लागि लड्यो, जेल नेल भोगेर आएकाहरू अहिले जनताका अगाडि बदनाम, जो एक्कासि आएका र जनतालाई भ्रममा पारेर चुनाव जितेकाहरू अहिले हिरो हुन लागेका छन् । त्यसैले अहिले पनि पुराना दलहरू सच्चिनुपर्छ । लोकतन्त्र र गणतन्त्रमाथि चारैतिरबाट हमला भइराख्या छ । यसलाई जोगाउनु पर्छ र योभन्दा उन्नत लोकतन्त्र र जनवादी गणतन्त्रतर्फ जानुपर्छ ।

एसडी मुनीले पछिल्लो समय दिएको अभिव्यक्ति ‘नेपालमा राजसंस्था नहुँदा डिल गर्न अप्ठेरो भयो’ यसबाट के बुझ्ने ?

भारतले त नेपाललाई सिक्किम बनाउन चाहन्छन् । नसकेर मात्र हो । तराईं नेपालकै होइन भन्नेहरू अहिले संसद्मै छन् । भारतले आफ्नो नीति लागू गर्नका लागि धेरै प्रयास गरिरहेको छ । ढिलो, चाँडोको कुरा मात्रै हो । भारतले भुटानलाई कुन स्थितिमा राखेको छ, सिक्किम विलय नै गरिसक्यो । तुलनात्मक रूपमा नेपालको जनसंख्या अलि बढी र भूगोल पनि बढी भएको र छिमेकमा चीन पनि भएको हुनाले मात्रै हो सबैभन्दा बढी पीडा त भारतले नै दिएको छ । भारतले हाम्रो भूगोलमाथिको हस्तक्षेप, अर्थतन्त्रमा हस्तक्षेप गर्दै आएको छ । यिनीहरू वामपन्थीहरू हुन्, चीन पनि कम्युनिस्ट हो भन्ने बुझाइमा छन् । भारतीयहरूले नेपालमा पुर्खाले पनि भोगचलन गरेका, हाम्रै फूलबारी हो भन्ने बुझाइमा छन् । भारतीयहरू अहिले पनि नेपाललाई हिन्दु राज्य बनाउने अभियानमा छन् । हिन्दु राज्य बनेपछि राजा चाहिन्छ भन्ने तर्क हो । उनीहरू नेपालमा अस्थिरता मच्चाइराख्न चाहन्छन् । त्यसैको अभिव्यक्ति एसडी मुनीबाट आएको हो ।