देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेसभित्र देखिएको गुटगत लडाइँले सरकार र सहकार्यमा असर परेकाले आफूले गठबन्धन फेरेको प्रचण्डको भनाई

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत एक वर्षदेखि नेपाली कांग्रेसभित्र देखिएको गुटगत लडाइँले सरकार र सहकार्यमा असर परेकाले आफूले गठबन्धन फेरेको बताएका छन् । बुधबार विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रतिनिधिसभा बैठकमा उनले नेपाली कांग्रेसलाई त्यतिबेला राष्ट्रपति दिएको भन्दै अहिल्यै धोका दिएको भन्न नमिल्ने पनि बताए । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्माले भने तत्कालीन गठबन्धन तोडेकोमा धोका दिएको भन्न मिल्ने तर्क गरे । उनले एमालेको नेतृत्वमा प्रधानमन्त्री बनेर कांग्रेससँग मिल्न गएको सम्झिए ।


विश्वासको मत माग्दै उनले आफूले समीकरण बदलेपछि कांग्रेसभित्र आन्तरिक एकता देखापरेकाले खुसी लागेको बताए । प्रधानमन्त्री प्रचण्डले कांग्रेसले आफूलाई ‘भिलेन’ बनाउन जोडबल गरिरहेको जिकिर गरे । तर, कांग्रेसभित्रको कचिगङ्ल समाधान भए लोकतान्त्रिक आन्दोलनलाई ट्रयाकमा ल्याउन सकेकामा आफू खुसी हुने भन्दै व्यंग्य गरे ।
प्रचण्डले सरकार सञ्चालनका लागि गठबन्धन दलबिच कार्यदल गठन गरेको र कार्यदलले तयार पारेको कार्यक्रमका आधारमा सरकार सञ्चालन हुने बताए ।

प्रचण्डले सरकार गठनमा सहभागी दलहरुबिच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको र आज बेलुकासम्म कार्यक्रम सार्वजनिक हुने जानकारी गराए । ‘प्रचण्ड’ले आफू यसअघिको गठबन्धनमा व्यक्तिगत रुपमा अप्ठ्यारोमा नरहेको खुलासा गरे । यद्यपि औसत काम र उपलब्धिमा रमाउने बेला नरहेका कारण आफूले जोखिम उठाएको बताए । उनले संविधानको भावनाविपरितका थरीथरीका विचलन रोक्न संसद्सँग विश्वासको मत प्रदान गर्न आग्रह गरे । उनले लोकतान्त्रिक प्रक्रियाबाटै समीकरण बदल्दा आफू विश्वासघाती र धोकेवाज कसरी भएँ भनेर प्रश्न गरे ।