देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डले राजनीतिक बेइमानी गरे : यो प्रचण्ड प्रवृत्ति हो – महत

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गरेको निष्कर्ष निकालेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गरेर प्रचण्डले राजनीतिक बेइमानी गरेको बताएका हुन् ।
कांग्रेसको महासमिति बैठकले गठबन्धनलाई सुदृढताका साथ अघि बढाउने निर्णय गरेको भए पनि प्रचण्डले राजनीतिक बेइमानी गरेको प्रवक्ता महतले आरोप लगाए ।


पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले २० वर्षअघिको शान्ति सम्झौताअनुरुप १० लाखका दरले आर्थिक सहायता बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताए । उनले आफू सरकारमा हुँदा प्रधानमन्त्रीले कुनै लिष्ट नदेखाएको भन्दै आफू सरकारबाट बाहिरएपछि करिब २६ सयको लिष्ट सार्वजनिक भएको बताए । महतले चीनको परियोजना वेल्ड एन्ड रोड इनिसियटीभ (बीआरआई) कार्यान्वयनमा जान आफूले रोकेको भन्ने आरोप पनि कपोलकल्पित भएको पनि बताए । उनले प्रधानमन्त्री चीन भ्रमणमा जाँदा निर्णय नगरी आउने अनि आफूलाई दोष दिन मिल्छ भन्दै प्रश्न गरे ।


महतले आफू परराष्ट्रमन्त्री हुँदा बीआरआई सम्झौता भएको स्मरण गरे । पत्रकार सम्मेलनमा महतले शिथिलतामा रहेको अर्थतन्त्रलाई आफूले लयमा फर्काएको पनि जिकिर गरे । सबै सूचक अहिले लयमा फर्किएको उनको भनाइ थियो । औसतभन्दा राम्रो काम नभएको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रम मात्र सिर्जना गरेको उनको भनाइ छ । महतले प्रधानमन्त्रील प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्याएको आरोप लगाए । प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आम निर्वाचनपछि मात्र तीन पटक सत्ता सहकार्य फेरेको भन्दै महतले प्रचण्डको यो प्रवृत्ति भएको उल्लेख गरे ।