काठमाडौँ । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् । दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् । राष्ट्रियसभा अध्यक्षको मतदान मंगलबार हुँदैछ । यसैबीच नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माले आफू अध्यक्षमा निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने दाबी गरेका छन् ।
उम्मेदवारी दर्तापछि नयाँ बानेश्वरस्थित संसद् भवन परिसमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफू अध्यक्षमा निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने गरी काम गर्ने बताएका हुन् । उनले लोकतन्त्रमा जित हार कसैको नहुने भन्दै सबै हार्ने र सबै जित्ने भएकाले नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताए अर्का उम्मेदवार माओवादी केन्द्रका सांसद दाहालले आफू अध्यक्षमा निर्वाचित भएपछि आफ्ना काम कारबाहीमा पार्टीको ह्याङओभर नदेखिने बताए । विगतमा पार्टीमा लागेकाले जिम्मेवारी पुरा गरेपनि अव राष्ट्रिय सभामा राष्ट्रिय सभाको गरिमा बचाउने गरी काम गर्नमा केन्द्रित हुने बताएका हुन् ।
प्रतिक्रिया