देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी लगानीकर्तालाई लगानी सम्मेनलमा सहभागी हुन अर्थमन्त्रीको अपिल

देशान्तर


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन् ।
नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज अर्थमन्त्रालयमा भेटवार्ता गर्दै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।
नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए ।
पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा सूचना प्रविधि क्षेत्रमा राम्रो सम्भावनाको क्षेत्र भएको बताए । लगानी सम्मेलन पूर्वनिर्धारित समयमै हुने बताउँदै सरकार त्यसले त्यसको तयारीका लागि तीव्रता दिइरहेको पनि उहाँले उल्लेख गरे ।
राजदूत थम्प्सनले लगानी सम्मेलनमा ठूलो सङ्ख्यामा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिए । उनले अमेरिकी लगानीकर्ता नेपालमा आउन आकर्षित रहेको भन्दै त्यसका लागि वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यसअवसरमा राजदूत थम्पसनले सङ्क्रमणालीन न्यायसम्बन्धी विधेयक चाँडै टुङ्गो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउनेमा विश्वास व्यक्त गरे ।
थम्प्सनले शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरु धेरै देश पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे । भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता जनाए ।
आजको भेटवार्ताका क्रममा राजदूत थम्प्सनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अनुदानअन्तर्गत नेपालमा कार्यान्वयन भइरहेको परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्नेमा पनि चासो राखेका थिए । एमसिसीअन्तर्गतका परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री पुनले बताए ।