देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भाइरल भइदियो हिट भएपछि करोडपति बनेका गायक

देशान्तर


काठमाडौं । भाइरल भइदियो, लैलै राजकुमारी, हिरो, मुड फ्रेसलगायतका हिटगीतका गायक हुन्, मानसराज बोहरा । मानसराज आफैंमा बहुआयामिक प्रतिभाका धनी व्यक्तित्व हुन् भन्ने कुरा उनले शब्द सिर्जना गरेका ‘रेसम फिलिली’को पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो, ‘डायरी’को मायामाया, लगायतका गीतले पुष्टि गर्छ । मानसराज गायनका अलावा थिएटर अभिनयमा पनि सक्रिय कलाकार हुन् । उनले नीरफूल, अध्यायलगायतका फिल्ममा पनि अभिनय गरेर आफ्नो कलाकौशल देखाइसकेका छन् । देश विदेशमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति दिन भ्याइनभ्याइ भएका बेला उनले हालै मात्र माया माया हो बोलको गीतको भिडियो रिलिज गरेका छन् । जहाँ उनी सुन्दरी मोडल गीता ढुंगानाको एकोहोरो मायामा परेको कथालाई दर्शकले निकै रुचाएका छन् । प्रस्तुत छ गायक, मोडल तथा गीतकार तथा संगीतकार मानसराजसँग गरिएको कुराकानीको सम्पादित अंश ।
माया माया हो रिलिज गरेसँगै कस्तो प्रतिक्रिया आइरहेको छ ?
माया माया हो मेरा लागि विशेष भिडियो बनेर आएको छ । यसअघिका भाइरल भइदियो । लैलै राजकुमारी, हिरोजस्ता गीतमा मैले अन्य मोडलहरूसँग सहकार्य गरे भने यो गीतमा म आफैं मोडलका रूपमा देखिएको छु । गीतकार, गायक, संगीतकार सँगै यो गीतमा मैले मोडलको पनि भूमिका निर्वाह गरेसँगै राम्रो प्रतिक्रिया पाइरहेको छु । आफ्नो कामबाट म निकै खुसी छु । आशा छ दर्शकले मेरा अघिल्ला सिर्जनाहरूलाई जसरी नै यसलाई पनि मन पराइदिनुहुनेछ भन्ने ।
माया माया हो भन्दै गीता ढुंगानाको प्रेममा चुर्लुम्म डुब्नु भएको छ नि ? हो कथाले माग्यो त्यसपछि डुबियो । रिलमा कथाले मागेजस्तै घरमा पनि श्रीमती ज्यूको मायामा डुबिएकै छ । भिडियोमा गीताजीसँगको सहकार्य राम्रो भएको छ । उहाँ एक कुशल मोडल हुनुहुन्छ । उहाँको काम मन प¥यो ।

व्यक्तिगत जीवनमा पनि तपाईंको यो कथा मिल्छ ?
गीत फिक्सन हो । सबैका कथा सधैं गीतमा आउँछन् भन्ने हुँदैन । मैले विशुद्ध रूपमा मागी विवाह गरेको हुँ । मेरो धर्मपत्नी शान्ति थापा हुन् । हामीले विवाहपछि प्रेम सुरु गरेका हौँ । विवाहपछि भने हाम्रो जीवनमा माया माया नै भएको छ । तर गीत कल्पनामा डुबेर गरिएको एउटा सिर्जना र समाजका कतिपय पात्रहरूलाई चित्रण गरेर बनाएको एउटा भावनाको प्रस्तुतीकरण हो । मेरो जीवनमा ठ्याक्कै नमिले पनि मायालु उमेरका कैयौँ पात्रहरूको कथा हो मेरो यो पछिल्ला सिर्जना माया माया हो ।

आफैं अभिनयमा होमिँदा कत्तिको जोखिम मोल्नुप¥यो ? डर लागेन ?
म आफैंमा एउटा रंगमञ्चको कलाकारका रूपमा काम गरिसकेको मान्छे हुँ । अभिनयमा डुबेपछि डर भन्ने कुरा कता हराउँदो रहेछ कता । काम गर्दै जाँदा अब आफूले पनि आफ्नो कला देखाउनु पर्छ भन्ने लाग्यो र माया माया होमा आफैं अभिनय गरे । गीताजीसँगको सहकार्यले गीत झनै मजबुत बनेको छ । मैले कल्पना गरेको प्रेमिकाको गज्जबको भूमिका उहाँले निभाइदिएका कारण दर्शकले पनि सहज रूपमा लिनुहुनेछ भन्ने आशा छ ।
भाइरल भइदियो, फिल्म ‘रेसम फिलिली’को पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलोजस्ता हिट गीत बजारमा आउँदा कस्तो प्रतिक्रिया पाउनु भएको थियो ? हिट हुँदाको मज्जा कस्तो हुँदो रहेछ ?

म गायक हुनुभन्दा अगाडि नै मेरो परिचय गीतकारका रूपमा स्थापित भयो । पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो अघि मेरो गीतहरू दर्शकले नोट गर्नु भएको थिएन । तर जब पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो आयो त्यसपछि मैले आफ्नो परिचय नै दिइरहनु परेन । गीत नै मेरो परिचय बन्यो । अझै भाइरल भइदियो हिट भएपछि त मलाई भाइरल गायक कै संज्ञा दिइयो । त्यसपछि गायकको एउटा भिन्ने परिचय बन्यो । आफ्नो कामबाट निकै खुसी छु ।
गीतसंगीतमा मात्रै लागेर बाँच्न सकिने अवस्था छ त नेपालमा ? तपाईं संगीत सिर्जनाका अलावा अरू के कस्ता कामहरू गर्नुहुन्छ ?
गीतसंगीतमा मात्रै लागेर नेपालमा बाँच्न सक्ने कलाकारहरू औँलामा मात्रै गन्न सकिने अवस्थामा हुनुहुन्छ । मेहनत गर्दै जाँदा एक दिन त्यो समय नआउला भन्न सकिन्न । मुख्य कुरा त कर्म र त्यसपछि भाग्य पनि हो । गीतसंगीतको कर्मका अलावा म भक्तपुरको सापिडोल जगातीमा रहेको तौडोलछाप बचत तथा ऋण सहकारी संस्थामा विगत सात वर्षदेखि म्यानेजरको रूपमा कार्यरत छु ।
के अब तपाईँलाई दर्शकले मोडलका रूपमा फेरि पनि देख्न पाउनु हुनेछ ? पक्कै पनि । अब म आफ्ना गीतमा आफैं अभिनय गर्नेछु । साथीभाइका गीतमा मोडलका रूपमा अफर आएमा अभिनय गर्नेछु ।

तपाईँको हिट गीत भाइरल भइदियोले अहिलेसम्म कति आम्दानी ग¥यो ? भन्न मिल्छ ? भाइरल भइदियोले तपाईंका लागि पेन्सन नै दिएजस्तो गरी डलर दिइरहेको छ भन्छन् नि ?
हो । मेरा लागि भाइरल भइदियो लक नै बनेर आयो । मेरो परिचय बन्यो यो गीत । फेरि पनि यस्तो सिर्जना ल्याउनका लागि कोसिस जारी छ । आजको दिनसम्म भाइरल भइदियोले ५० लाखभन्दा बढी आम्दानी गरेको हुनुपर्छ । ठ्याक्कै त हेर्नपर्छ । तर मेरा लागि भाइरल भइदियो साँच्चिकै सरकारी कर्मचारीको पेन्सनजस्तै बनेर आएको छ । हरेक महिना यसबाट राम्रो आम्दानी भइरहेको छ ।

आफ्ना दर्शक र श्रोतालाई के भन्न चाहनुहुन्छ ?

अहिलेसम्म पाएको मायामा ऋणी छु । दर्शक, श्रोता हाम्रा भगवान् हुन् । उहाँहरूको मनोरञ्जनका लागि छिट्टै नै अर्को सशक्त सिर्जना लिएर आउने तयारीमा छु । फेरि छमछम दर्शकलाई नचाउने छु ।