देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउडामा जमेकी कृष्णा

देशान्तर


काठमाडौं । कृष्णा सिडारीलाई सानैदेखि गीत गाउने रहर थियो । घरमा भएको रेडियोमा गीत गुञ्जिँदा उनी त्यसैको लयमा स्वर मिलाउथिन् । देउडा गीत गुञ्जिता त उनको खुसीको सीमा नै नाघ्थ्यो । कपीमा गीत उतारेर गुनगुनाइरहेकी हुन्थिन् । त्यही इच्छाशक्तिले उनी सानैदेखि साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा सक्रिय हुन्थिन् । उनको बालसुलभ हृदयमा आफ्नो भाषा, साहित्य, कला, संस्कृतिप्रति झुकाव थियो र गायनतर्फको अगाघ प्रेम ।
त्यही इच्छाशक्तिलाई मूर्तता दिन २०७२ सालमा कृष्णाको पहिलो देउडा गीत ‘चोखो माया फेरि’ रेकर्ड भयो । गीत रेकर्ड भइसकेपछि उनले थुप्रै प्रतिक्रिया पाउन थालिन् । सामान्य परिवारमा जन्मिएकी कृष्णाको परिवार पनि छोरीको प्रतिभा देखेर खुसी भयो । प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्दैगर्दा गीत रेकर्ड गरेकी कृष्णाले त्यसपछि अध्ययन र सांगीतिक यात्रालाई सँगसँगै अगाडि बढाउन थालिन् । २०८० सम्म आइपुग्दा एक दशकमा उनले दुई सयभन्दा बढी गीतमा स्वर भरिसकेकी छन् ।
कृष्णाका ‘बास घुघुती, देउ¥या, साली को बैंस, झल्का लाइगई साली, आजभोलि मायालु’जस्ता थुप्रै गीतश्रोताको मनमा बस्न सफल भएका छन् । कृष्णाले देउडा गीत र सुदूरपश्चिम क्षेत्रलाई प्राथमिकतामा राखेर सांगीतिक जीवनलाई अगाडि बढाइरहेकी छन् ।


‘हाम्रो गीत / संगीतलाई हामीले नै माया गर्ने हो । त्यसैले मैले देउडा गीतलाई प्राथमिकतामा राखेर गीत गाइरहेकी हुन्छु । धेरैले काठमाडौं जान पनि सुझाव दिइरहेका हुन्छन् । तर, मलाई सुदूरपश्चिममै रहेर देउडाको क्षितिजलाई फराकिलो तुल्याउनु छ । हामी सबै अलिकति नाम र दाम कमाएर पलायन हुने हो भने हाम्रो संस्कृतिलाई कसले जोगाउने भन्ने विषयले पनि मलाई चिन्तित तुल्याइरहेको हुन्छ । त्यसैले मैले देउडामै आफ्नो भविष्य खोजिरहेकी छु,’ उनले भनिन् । आफ्नो पुस्तामा पनि देउडाप्रतिको प्रेम बढ्दो रहेको बताउँदै उनले त्यसले आफूलाई खुसी तुल्याउने गरेको बताइन् ।
कृष्णालाई सांगीतिक क्षेत्रमै जीवन सफल तुल्याउनु थियो । त्यसैले उनी २०७४ सालमा अत्तरियास्थित ‘अलिसा रेकर्डिङ स्टोडियो’सँग आबद्ध भइन् । उनकै सक्रियतामा अलिसाले गीत रेकर्डसँग २०७४ बाट म्युजिक भिडियोको काम पनि गर्न थाल्यो । कृष्णाले गीत गायनसँगै फोटोग्राफी, भिडियोग्राफी, अडियो र भिडियो इडिटिङलगायत काम पनि गर्न थालिन् ।


‘अहिले म आफू गाउनेमात्र होइन गाउन चाहने नयाँ पुस्तालाई प्रेरित गरिरहेकी छु । सुदूरपश्चिममै हामीले सुलभ रूपमा गीत रेकर्ड गर्ने, म्युजिक भिडियो तयार गर्नेलगायत काम गरिरहेका छौं । यसले गीत गाउनकै लागि हाम्रा कलाकारहरूले काठमाडौं आउनुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भनिन् । हाल कृष्णा अलिसा स्टुडियोको सहसञ्चालिकाको रूपमा सक्रिय छिन् ।
कृष्णा अहिले म्युजिक भिडियो सुटिङसँगै निर्देशनमा पनि संलग्न छिन् । म्युजिक भिडियो खिच्ने सुदूरपश्चिमबाट कृष्णा सायद पहिलो महिला हुन् । अहिले उनलाई काम गर्न भ्याइनभ्याइ छ । स्टुडियोले अपेक्षित काम पाइरहेको छ ।
सुरुमा आर्थिक जोहोका लागि विभिन्न बाटाहरू खोज्ने कृष्णाले अहिले परिवारको जिम्मेवारी पनि सम्हालेकी छन् । घरको गर्जो टार्न उनैको आम्दानीले ठूलो सहयोग पु¥याइरहेको छ । छोरीले यसरी नाम र दाम दुवै कमाउँदा बुवा–आमा पनि दंग छन् ।
कृष्णाले हालसम्म थुप्रै पुरस्कार तथा अवार्डहरू पनि जितेकी छन् । सुदूरपश्चिम इन्टरटेनमेन्ट म्युजिक अवार्ड, विशाल राष्ट्रिय म्युजिक अवार्ड, रारा राष्ट्रिय म्युजिक अवार्डजस्ता थुप्रै अवार्ड जितेकी छन् । यसले आफूलाई निकै आत्मसन्तुष्टि दिइरहेको उनको प्रतिक्रिया छ । सुदूरपश्चिममै बसेर पनि केन्द्रसम्म आफ्नो प्रभाव छर्न सकिएकोमा उनी खुसी व्यक्त गर्छन् । आगामी दिनमा पनि उनले देउडा क्षेत्रलाई अगाडि बढाउने योजना बनाएकी छन् ।