देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तर संवाद

गठबन्धन टुटेकोमा आपत्ति छैन 

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर  राणाले पुरानो गठबन्धन टुटेर नयाँ गठबन्धन बन्ने कुरालाई आफूले स्वाभाविक रूपमा लिएको बताएका छन् । चुनावअघिको गठबन्धन एउटा, चुनावपछिको गठबन्धन अर्को र फेरि बीचमा पनि दुई पटक गठबन्धन फेर्ने अस्थिर चरित्र बोेकेका प्रचण्डका कारण नेपाली जनताले धोका पाएको पनि टिप्पणी गरे । उनले राजनीतिक धोका कांग्रेसले मात्रै नभई जनताले पनि पाएको देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँगको कुराकानीमा बताए । उनै राणासँग गरिएको कुराकानीको सम्पादित अंश । 

पछिल्लो राजनीतिक घटनाक्रमबारे तपाईंंको टिप्पणी ?

अहिलेको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कांग्रेसको संसदीय दलको बैठक र प्रमुख सचेतक रमेश लेखकमार्फत सदनमा पनि भनिसकेका छौं । अहिलेको अवस्थालाई छोटो शब्दमा भन्दा राजनीतिक धोका हो । यो धोका माओवादी अनि विशेष गरेर त्यसका अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डबाट पाएका छौं ।

कांग्रेसले किन राजनीतिक धोका पायो, प्रश्न यो पनि हो नि ?

प्रचण्डले नेपाली कांग्रेसलाई किन राजनीतिक धोका दिनुभयो त्यसको कारण मैले बुझेको छैन । यो कुरा त उहाँलाई नै थाहा होला । त्यहाँ विभिन्न राजनीतिक र प्रचण्डको व्यक्तिगत कारण पनि हुन सक्छ । राजनीतिक धोका हामीले किन भनिरहेका छौं भने, फागुन २१ गते बवहान गठबन्धन नरहेको भन्ने कुरा जानकारी हाम्रो पार्टी र नेतृत्वले पायो । फागुन २० गतेसम्म पार्टी  सभापति शेरबहादुर देउवा र हाम्रा अरू नेताहरूले प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्दा केही समस्याहरू आएको छ, त्यो मिलाउन पर्छ, तर गठबन्धनमा समस्या छैन ‘कोलिसन इन्ट्याक्ट’ हुन्छ भन्ने किसिमको कुरा हामीलाई हाम्रो नेतृत्वले भन्दै आउनु भयो । हामीले यो थाहा पाएको होइन, दुईचार हप्ता अगाडिदेखि  विभिन्न यस्ता कुराहरू ‘माओवादीले एमालेसँग कुरा गरिरहेको छ, प्रचण्डले यो गरिरहेका छन्, अरूसँग गठबन्धनको बारेमा कुरा भइरहेको छ ।’ भन्ने आइसकेपछि  हामीले हाम्रो नेतृत्वलाई पनि यस्तो कुराहरू आएको छ सतर्क हुन प¥यो भनेर भनिसकेपछि हाम्रो नेतृत्वले यसमा चासो दिएकै हो ।

सभापति, उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डसँग भेटेर  यस्तो कुराहरू सुनिन्छ के हो ? भनेर प्रश्न गर्दा प्रचण्डले त्यस्तो केही होइन, केही कुराहरू आएको छ, पार्टीभित्र समस्या आएको छ । तपाईंहरूको कोशी प्रदेश सरकार निर्माणको घटना, गोदावरीमा फागुन ७-१० चलेको महासमितिको बैठकबारे विभिन्न प्रश्नहरू आएको छ, यसलाई मिलाइरहेको छु यसलाई मिलाउँछौं  त्यसले गर्दा गठबन्धनमा केही समस्या छैन, मैले केपी ओली र रवि लामिछानेसँग ‘टीआरसी’ विधेयकको विषयमा हो भनेर जवाफ दिनुभएको थियो । गठबन्धन टुटेको र टुटाउने विषयमा हामीलाई ठूलो आपत्ति छैन । श्रीमान् श्रीमती ‘डिभोर्स’ हुन्छ, दाजुभाइको झगडा हुन्छ, साथीभाइ छुट्टिन्छ । यसरी नै राजनीतिक पार्टीहरूको कुरा नमिलिसकेपछि हामीहरू पनि आफ्नो आफ्नो बाटो लाग्नुपर्छ भन्ने कुरो त्यो ठूलो कुरा होइन, तर यसमा स्पष्टता हुनुपर्छ । 

कस्तो गठबन्धन गरेको, पाँच वर्ष पनि नटिक्ने गठबन्धन किन गरेको भनेर कांग्रेसलाई पनि त प्रश्न गर्न मिल्छ नि ?

गठबन्धन हामीले टुटाएको होइन । फागुन २१ गते विहान हाम्रा नेताहरू पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला गएर प्रचण्डसँग यो के गरेको हो र गठबन्धनकै विषय र त्यहाँ राष्ट्रियसभाको अध्यक्षका साथै अर्थ मन्त्रालयको विषयमा पनि कुराहरू आएको थियो । अर्थ मन्त्रालय पनि राखे हुन्छ, राष्ट्रियसभाको अध्यक्ष पनि लिनुस् भनेर भन्नु भएको थियो । त्यसैले प्रचण्डले भाग नपुगेर होइन । सायद प्रचण्डको मनमा अब ९ महिनाभित्र सम्झौताअनुसार माधवकुमार नेपाललाई पद छोड्नुपर्छ, मैले गठबन्धन कायम राखे भने प्रधानमन्त्री बन्ने समय छोटिन्छ भन्ने मनमा थियो कि, अरू कुरा पनि थियो कि त्यो मलाई थाहा छैन । किन उहाँले यस्तो गर्नुभयो त्यस विषयमा उहाँले नै भन्ने हो ।

प्रचण्डले त कांग्रेसबाट धोकामात्रै पाएको कुरा गर्नुभयो त संसद्मा ?

म कुरा प्रस्ट पार्न चाहन्छु । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले महासमितिको बैठकमा त्यहाँ विभिन्न प्रस्ताव र कुराहरू उठ्छन् । महामन्त्री गगन थापाले अब आउने निर्वाचनमा गठबन्धन नगर्ने भन्ने प्रस्ताव गर्नु भएको हो । महामन्त्रीले अहिले नै गठबन्धन तोड्ने कुरा गर्नु भएको थिएन । महामन्त्री थापाको प्रस्तावमा महासमितिका अधिकांश साथीहरूले गठबन्धन गर्ने कि नगर्ने अहिले नै निर्णय गर्ने विषय होइन, चार वर्ष चुनावको लागि समय बाँकी छ, परिस्थिति हेरेर निर्णय गर्ने भनेर बहुमत सदस्यले आधिकारिक निर्णय भएको छ । कोशी प्रदेशमा केही समस्याहरू आएका छन् । त्यो कोशी प्रदेशको समस्या त्यहीमात्रै सीमित छ । अरू प्रदेशमा  माओवादीले भनेको जस्तो धोका भएको छैन । कोशी प्रदेशमा एक वर्षदेखि पाकिराखेको राजनीति छ । यसलाई राष्ट्रिय राजनीतिले असर पारेको होइन, त्यहाँको आन्तरिक प्रदेशको राजनीतिले भएको हो भनेर माओवादीलाई हामीले बुझाइसकेका छौं । अर्को कुरा भनेको हिन्दु राष्ट्रको कुरा ।

हाम्रो यो पार्टीमा १०-१५ वर्षदेखि उठ्दै आएको कुरा हो । हाम्रो स्व. नेता खुमबहादुर खड्काले उठाउँदै आएको कुरा हो । हाम्रो लोकतान्त्रिक पार्टीमा प्रचण्डले भनेको अथवा शेरबहादुर देउवाले भनेको मात्रै कुरा लागू हुँदैन । अर्थात् सभापतिले नै ल्याएको कुराको विपक्षमा बोल्ने एउटा लोकतान्त्रिक पार्टीभित्र सबैको अधिकार छ ।   हिन्दु राष्ट्रले हाम्रो एजेन्डासम्म प्रवेश पाएको छैन । त्यसैले एउटा लोकतान्त्रिक पार्टीले कसरी काम गर्छ भन्ने कुरा प्रचण्डलाई सबै कुरा थाहा छ । जसरी प्रचण्डले पाँच वटा कुराहरू सदनमा कांग्रेसलाई लक्षित गरेर भन्नुभयो, त्यसले उहाँलाई खासै असर पारेको होइन । उदाहरणका लागि प्रचण्डजीलाई जंगलबाट नेपाली कांग्रेसले सिंहदरबारमा ल्यायो, त्यतिबेला पनि गिरिजाप्रसादले त्यो निर्णय लिनुअगाडि पार्टीभित्र ठूलो विवाद थियो । ठूलो ‘भ्वाइस’ त्यसको विपक्षमा थियो । त्यतिबेला प्रचण्ड किन जंगलबाट आउनुभयो त ? त्यसैले लोकतान्त्रिक पार्टीभित्र विभिन्न किसिमका धारणाहरू आउँछ र आउनुपर्छ ।  तर, आधिकारिक निर्णयमा विश्वास राख्नुपर्छ । महासमितिको बैठक अगाडि कसले एउटा स्टल राखेर पर्चा बाँड्यो भन्ने कुरामा केन्द्रित हुन नै जरुरी थिएन । त्यो भनेको प्रचण्डको निहुँमात्रै हो । त्यसैले यसलाई हामीले राजनीतिक धोका भनि राख्या छौं । हाम्रो कुनै पनि आधिकारिक निर्णयमा प्रचण्डले भनेका पाँच आरोपमा टेकेर कुनै पनि गरेका छैनौं । कोशीको कुरा मान्दछु । त्यहाँ हामीबीचमा केही समस्या आएको हो । त्यस विषयमा त बालुवाटारमै बसेर छलफल गरेर सल्टाइएको थियो ।

माओवादीले चुनावदेखि हरेक ठाउँमा कांग्रेसबाट धोका पाएको कुरा पनि त छ ?

क्षति कसले भोग्यो वा भोगेन त्यो त मलाई थाहा भएन । सायद प्रत्यक्ष निर्वाचनमा गठबन्धन नभएर सबै पार्टी एक्लै-एक्लै चुनाव लडेको भए रुकुम रोल्पासहित अरु दुई चार वटा सिट बाहेक माओवादीलाई अरु ठाउँमा चुनाव जित्न गाह्रो हुन्थ्यो । म मान्दछु विशेष गरेर उपत्यकामा नेपाली कांग्रेसका भोटरहरूले माओवादीलाई भोट हालेको छैन । भोटहरू क्रस भएको छ । तर त्यो भोट हामीले रोक्न सक्दैनौं । त्यही किसिमको घटना रोल्पमा पनि भएको छ ।  रोल्पामा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार अमरसिंह पुनले हारेर स्वतन्त्र उम्मेदवार माओवादीकै कारण विजयी भएका छन् । उनी टिकट नपाउँदा मात्रै स्वतन्त्र भएका थिए पछि माओवादीमै फर्किए । त्यसैले धोका भनेको केही हदसम्म राजनीतिक गठबन्धनमा भोट कन्भर्ट गर्ने क्रममा शतप्रतिशत कन्भर्ट हुँदैन । र मतपत्रमा चुनाव चिह्न नपाइसकेपछि हामीले जति आग्रह गरे पनि हामीले भनेको ठाउँमा भोट हाल्न सक्दैन । धेरैले हाल्छ कतिले त हाल्दैन । माओवादी र कांग्रेसका दुवैको अवस्था त्यही हो ।

गठबन्धन बन्ने भत्कने सामान्य कुरा जस्तै भइसक्यो, प्रश्न के हो भने आम जनताले के पाए ?

आम जनताले धोका पाए । नेपाली जनताले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी  र हाम्रो गठबन्धनमा कांग्रेस, माओवादी, समाजवादी र अरू पार्टीहरू मिलेर ‘प्रिपोल एलाइन्स’ गरेको थियो । प्रिपोल एलाइन्स गर्दा हामीले जनतालाई मिलेर स्थिरता दिन्छौं,  हाम्रो संविधानमा त्यही किसिमको प्रावधानहरू छन्, जहाँ एउटा पार्टीलाई बहुमत ल्याउन गाह्रो हुन्छ । त्यसैले हामीले यो देशलाई स्थिरता दिनको निम्ति हामीले ‘प्रिपोल एलाइन्स’ गर्छौं भनेर आश्वासन दिएर जनताले मिलेर पाँच वर्ष सरकार चलाउन म्यान्डेट दिइसकेपछि अहिलेको अवस्थामा गठबन्धन  टुटेको नेपाली कांग्रेसलाई मात्र होइन, नेपाली जनतालाई धोका दिएको हो । 

अब फेरि नयाँ समीकरण बनाउने खेलमा कांग्रेस लागिसकेको हो ?

नेपाली कांग्रेस नयाँ गठबन्धन बनाउने खेलमा लागिसकेको पनि छैन र लाग्दा पनि लाग्दैन । जरुरी पनि छैन । किनभने पुष्पकमल दाहाल प्रचण्डले भनिसक्नुभयो ‘म बाँचुन्जेल देशमा उथलपुथल भइरहन्छ ।’ उहाँले त्यो कुरा किन बोल्नुभयो, मनभित्रबाट बोल्नु भएको हो कि चाहँदा नचाहँदै निस्किएको हो त्यो मलाई थाहा छैन । एउटा कुरा प्रस्ट के हो भने प्रचण्ड भनेको अस्थिर व्यक्ति हो । प्रचण्ड जहाँ राजनीतिक अस्थिरता हुन्छ त्यहाँ उभिनुहुन्छ । उहाँले गरेको नेतृत्वमा पनि आउने दिनमा कुनै न कुनै बहानाको कारण यो समस्या आउँछ । र यो नयाँ गठबन्धनलाई नेपाली कांग्रेसले भत्काउन लाग्नुपर्ने जरुरी म देख्दिनँ ।

शेरबहादुर देउवाको पछिल्लो दौडधुपलाई के बुझ्ने त ?

 शेरबहादुर देउवाको दौडधुपलाई हामीसँग जो साथीहरू गठबन्धनमा थिए, त्यो पार्टीका नेताहरूकहाँ माधव नेपाल, उपेन्द्र यादव, महन्त ठाकुर, सीके राउत, रेशम चौधरीलगायतसँग उहाँको भेट भएको हुन सक्छ । उहाँले के भन्नुभएको छ भने ‘हामीहरूसँगै एउटा गठबन्धनमा रहेको हो, प्रचण्डजीले छाडेर एमालेसँग जानुभयो, हामीहरू इन्ट्याक्ट बसौं, भनेर पार्टी सभापतिले भन्नु भएको हो । त्यो भनेको अहिले बनेको गठबन्धन टुटाउनेभन्दा पनि आफूसँग भएको साथीहरूसँगै सहमति गरेर आफूसँग सरकारमा सहभागी सबै साथीहरूलाई एकै ठाउँमा उभ्याउन प्रयास गर्नु भएको हो । 

तर, प्रयास त सफल भएन है ?

प्रयास सफल भएन ।  अहिलेसम्म एकीकृत समाजवादीबाट दुई जना मन्त्री सहभागी भइसक्नु भयो, उपेन्द्र यादवजीले पनि गठबन्धनमा सहभागी हुने कुराको निर्णय गरिसक्नु भएको छ । त्यसबाहेक अरू दुई वटा पार्टीका नेताहरू हामी विपक्षमै बस्छौं भन्नुभएको छ । यो एउटा राजनीतिक दायित्व र जिम्मेवारी पनि हो  । प्रचण्डले छोडेर जाने बित्तिकै यो पुरानो गठबन्धनमा रहेका दलहरूसँग सहकार्य कायम राख्नुपर्ने दायित्व नेपाली कांग्रेसको पनि हो ।

अहिले एमाले र कांग्रेस गम्भीर वार्तामा छन् भन्ने पनि सुनिन्छ त ?

नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा गम्भीर वार्तामा छैनन् । हाम्रो पार्टी सभापति र हाम्रो नेतृत्वको गल्ती चाहिँ के भयो भने माओवादीसँग गठबन्धन भइसकेपछि पनि एमालेसँगको वार्ता गर्ने च्यानल कायमै राख्नुपर्ने थियो त्यो गर्न सकेनौं ।

तपाईंहरू त ढुक्क हुनुहुन्थ्यो, अबको केही समयपछि माधव नेपाल त्यसपछि कांग्रेसको प्रधानमन्त्री भनेर होइन ?

हो, हामी ढुक्क थियौं । हामीले विश्वास गरेका थियौं । किनभने एक पटक माओवादी र एमालेको गठबन्धन टुटिसकेको थियो । गठबन्धन टुटेपछि हामी सबैले पुरानै गठबन्धनमा फर्कंदा सबैले सबक सिकेको कुरा गरेका थियौं । र प्रचण्ड अत्यन्तै शंकालु व्यक्ति भएकाले हामीले एमालेसँग कुरा गर्दा गठबन्धनमा अप्ठेरो पर्छ भनेर नै बारम्बार एमाले अध्यक्ष केपी शर्मा ओलीले सभापति शेरबहादुर देउवालाई, एमालेकै सांसदहरूले स्वयं मसँग पनि कुरा गर्दा सिरियस्ली लिएनौं । हामीले नै सभापतिसहित नेताहरूलाई एमालेसँग कुरा गर्ने हो कि भनेर सोध्दा यस्तो नगरौं, गठबन्धन बिग्रन सक्छ र प्रचण्डले शंका गर्छन् भन्ने जवाफ हामीलाई दिनुभएको थियो । अर्कोतिर प्रचण्डले टीआरसी र विभिन्न राजनीतिक विषय भनेर केपी ओली, रवि लामिछानेलगायतसँग कुरा गरिरहनु भएको रहेछ । भित्री रूपमा नयाँ गठबन्धन बनाउने  रणनीति लगभग दुई तीन महिना अगाडि सुरु भएको रहेछ ।

अब, कांग्रेस र एमाले सहकार्य गर्ने अवस्थामा पुग्न सक्छन् ?

 अहिले हामीले त्यो मनस्थिति बनाइसकेका छैनौं । चार वर्ष बाँकी छ, नेपालको राजनीतिमा भोलि यो हुन्छ, भनेर भन्नै गाह्रो  हुन्छ । किनभने चुनाव अगाडिको गठबन्धनका आधारमा चुनाव जितेका छौं, संसद्मा सबैभन्दा ठूलो पार्टी कांग्रेस अधिकांश प्रदेशमा बहुमत हुँदाहुँदै पनि गठबन्धन फुटेको अवस्था छ । यस्तो भनेपछि भोलि के हुन्छ भन्ने कुरामा अहिले नै यो हुन्छ हुँदैन भन्ने अवस्था छैन । कांग्रेस र एमाले सहकार्य हुन पनि सक्छ ।

कांग्रेसको आन्तरिक राजनीतिलाई हेर्ने हो भने, कतिपयले यो गठबन्धन भत्कँदा खुच्चिङ पनि भन्या छन् नि ?

होला । 

किन यस्तो ?

कांग्रेसभित्रै पनि माओवादीलाई मूलधारको राजनीतिमा ल्याउँदा कतिपय साथीहरूले ल्याउन हुँदैन भन्नु भएको थियो ।  कतिपय साथीहरूले अब हामी गणतन्त्रमा उभिन्छौं भनेर गिरिजाप्रसाद कोइरालाले निर्णय गर्दाखेरि अधिकांश नेताहरूले यो गल्ती हो भन्नु भएको थियो ।  त्यसैले नेपाली कांग्रेसभित्र त्यो ठीक हो या बेठीक हो भन्ने कुराको राजनीतिक र वैचारिक धारहरू निस्किरहन्छ । नेपाली कांग्रेसभित्र वैकल्पिक धारहरू एउटामात्रै होइन कहिले त दुई वटा पनि निस्कन्छ । अझ वैकल्पिक धारसँगै गुट पनि रहेको छ । त्यो नभएको भए पार्टीभित्र एकता हुन्थ्यो भन्ने कुरा हामीले धेरै पटक सुनेका पनि छौं । तर एउटा लोकतान्त्रिक पार्टी भएकाले मेरो सभापति वा नेताहरूले राखेको कुरा चित्त बुझेन भने वैकल्पिक प्रस्ताव राख्ने मेरो राजनीतिक अधिकार पनि छ ।

अब संसद्मा नेपाली कांग्रेसको भूमिका कस्तो ?

हाम्रो प्रमुख सचेतकले संसद्मा कांग्रेस कस्तो भूमिकामा रहन्छ भनेर बोलिसक्नु भयो । किन गठबन्धन टुट्यो, के के भयो र अब आउने दिनमा हाम्रो भूमिका के हुने भन्ने कुरा प्रस्ट पारिसक्नु भएको छ । हाम्रो रचनात्मकका साथै गुण र दोषका आधारमा सशक्त प्रतिपक्षको भूमिका हुन्छ ।