देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धन्दावाल मन्त्रीहरू

देशान्तर

काठमाडौं । सुशासन र पारदर्शिताकोे नारा लगाएर नथाक्ने पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षीमा रहँदा विवादित मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने भन्दै सदनमा अबरोध गरिरहने नेकपा एमालेले उत्तरी धापका कारण रातारात नयाँ गठबन्धन गरेर हतारहतार बनाएको मन्त्रिमण्डलका सदस्यहरू हेर्दा धेरैजसो विवादित र धन्दावाल मन्त्रीहरू देखिएका छन् । सत्तारूढ नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले केही दिनअघि बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नु परेकोले वर्तमान सत्तारूढ गठबन्धनमा विवादित मान्छे भएकाले शुद्ध नभएको स्विकार गरेकी थिइन् । 

अघिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा रहेकै बेला नागरिकता प्रकरणमा मन्त्री पद र सांसद एकैपटक गुमाएका र हाल सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपाका सभापतिसमेत रहेका रवि लामिछाने नयाँ गठबन्धनमा पुनः सोही जिम्मेवारीमा पुगेका छन् । ग्यालेक्सी फोरके टेलिभिजन खोल्दार रविका पार्टनर रहेका गितेन्द्रबाबु राई (जीबी) देशभरिका आधा दर्जन सहकारी ठगी गरेर फरार छन् । प्रहरीले इन्टरपोलमार्फत उनलाई पक्राउ पुर्जी जारी गरेको छ । जीबी र रविमाथि प्रहरीले अनुसन्धान चलिरहेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसमेतले छानबिन गरिरहेको छ । उनको पुरानो नागरिकताका आधारमा लिएको राहदानी दुरुपयोगको अनुसन्धान बाँकी नै छ । तर लामिछाने स्वार्थ जोडिएको मन्त्रालयमा पुगेका छन् । उनी जोडिएको मुद्दा ओझेलमा पर्ने सम्भावना छ । पहिलो पटक नागरिकता विवाद मिलाउन गृह मन्त्रालय पुगेका भनिएका लामिछानेलाई अहिले सहकारी ठगी प्रकरण मिलाउनकै लागि गृहमा मरिहत्ते गरेको भनेर टिप्पणी भएको छ । 

प्रचण्ड सरकारका अर्का विवादित मन्त्री हुन् अर्थ मन्त्रालय सम्हालेका वर्षमान पुन । उनी यसअघिको पहिलो परीक्षणमै असफल अर्थमन्त्री हुन् भने विवादित पनि । उनले आफ्नो पहिलो इनिङमा एउटा पनि बजेट ल्याउन सकेका थिएनन् । हाल थन्केर बसेका र लिलामीको आह्वान गर्दा पनि आवेदन नपरेका दुई चिनियाँ जहाज खरिद गर्न पनि स्वीकृति दिने पनि पुन नै हुन् । पछिल्लो समय उनी सुन तस्करीका अभियुक्तसँगको साँठगाँठमा मुछिएका पात्र हुन् । पुनका सुन तस्करीमा संलग्न गिरोहसँग सम्पर्क र सम्बन्धमा रहेको पुष्टि हुने गरी तस्बिर तथा विवरणहरू सार्वजनिक भइसकेका छन् । उनका पारिवारिक सदस्य सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहका व्यापारिक साझेदार रहेको खुलेको थियो । तर सत्तारूढ दलको प्रभावशाली नेता भएकाले अनुसन्धानबाट बच्दै आएका छन् । नेपालको अर्थतन्त्र डामाडोल भएको बेला लयमा ल्याउन सक्ने अर्थतन्त्र बुझेको ब्यक्ति मन्त्रालयमा आउनुपर्ने हो तर प्रचण्डको भित्रिया भएकै कारण पुनलाई ल्याइएकोमा दुई मत छैन । पुनमा राजनीतिक चेत भए पनि अर्थतन्त्रसम्बन्धी ज्ञानको अभाव रहेको अर्थशस्त्रीहरूकै भनाइ छ । 

 यस्तै मन्त्री पदमा रहँदा भ्रष्टाचारमार्फत कालोधन जम्मा गरेको आरोप लागेका र सम्पत्ति शुद्धीकरण विभागमा परेको उजुरी ‘तामेली’ रहेको विवादित छविका अर्का मन्त्री हुन् नेकपा एमालेको तर्फबाट नेतृत्व गरेर सरकारमा गएका रघुवीर महासेठ । महासेठ यसअघि विभिन्न मन्त्रालयमा पुगेका तर कमजोर कार्यसम्पादन भएका ‘टेस्टेड’ हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली ‘दाहिना’ भएकै कारण उनले पटक–पटक शक्तिशाली मन्त्रालय हत्याउन पाएका छन् । उनी पदको पावरमा रकम नलिइकन कुनै काम नगर्ने भनेर आलोचित र विवादित छन् । महासेठ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिन घेरामा रहेका व्यक्ति हुन् ।

बार्दली गठबन्धनको दोस्रो संस्करणको वर्तमान सत्ता गठबन्धनको अर्का विवादास्पद पात्र हुन् ‘म्यानपावर’ व्यवसायी श्रममन्त्री डोलप्रसाद अर्याल । उनी यसअघि पनि सोही मन्त्रालयमा गएका थिए । अर्याल विगतमा श्रम र रेमिट्यान्ससम्बन्धी कारोबारमा संलग्न थिए । उनीमाथि वैदेशिक रोजगार कम्पनी सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रालिको लगानीकर्ता भएको आरोप छ । उनी सो कम्पनीको अन्तर्राष्ट्रिय मार्केटिङ निर्देशक र इजिलिंक नामको रेमिट्यान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भएका व्यक्ति हुन् ।