देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको नेतृत्वमा विपक्षी गठबन्धन 

देशान्तर

काठमाडौं ।  साझा उम्मेदवार उठाएर चुनाव लडे पनि माओवादीले धोका दिएपछि एक वर्षका बीचमा दोस्रो पटक प्रतिपक्षी बेन्चमा पुगेको संसद्कै पहिलो दल नेपाली कांग्रेसले माओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकाल्दै संसद्मा विपक्षी मोर्चा निर्माणको तयारी थालेको छ भने एमाले र माओवादीलाई छाडेर पनि जुनसुकै बेला कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन संसदीय गणितमा बहुमतमा पुग्ने सम्भावना बढ्दै गएको छ । अघिल्लो पटक कांग्रेसले प्रधानमन्त्री नदिएको भन्दै बालकोट पुगेर केपी ओलीको आशीर्वादमा प्रधानमन्त्री बनेका प्रचण्डले पछि फेरि कांग्रेससहितको गठबन्धनमा फर्किए पनि अब भने बारम्बार बेइमानी गर्ने प्रचण्डलाई साथ नदिने र साथमा पनि नल्याउने वाचासहित कांग्रेस अगाडि बढ्न थालेको हो । 

कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक, केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकबाट समेत माओवादीले बेइमानी गरेको धोका दिएको निष्कर्ष निकालेको छ भने प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने घोषणा गरेको छ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा बस्दा सरकारले भोग्नुपर्ने दबाब भने सामान्य नहुने राजनीतिक वृत्तका जानकारहरू बताउँछन् । 

कांग्रेसले सरकारलाई दिएको विश्वासको मतसमेत फिर्ता लिइसकेकाले प्रचण्डले अब ३० दिनभित्रै संसद्बाट पुनः विश्वासको मत लिनैपर्छ । विश्वासको मत लिने दिनसम्म नै प्रचण्ड सरकार धरमराउने कतिपयको विश्लेषण छ । त्यसो त दुई दिनअघि बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले खुलेआम रूपमा नै प्रचण्डलाई ‘तपाईंले धोका दिएकाहरू एक ठाउँमा जम्मा भए तपाईंको हालत के हुन्छ ?’ भनेर प्रश्न गरिसकेका छन् । 

कांग्रेसको आडमा प्रधानमन्त्री बन्ने तर, कांग्रेसलाई दोषारोपण गरेर गठबन्धन फेर्ने प्रचण्डको गैरराजनीतिक संस्कारपछि हालैमात्र महासमिति बैठक सम्पन्न गरेको कांग्रेसलाई समसामयिक राजनीतिकसँगै सैद्धान्तिक आड पनि मिलेको छ । कम्युनिस्टहरू विश्वासिला हुँदैनन्, कांग्रेस एक्लै अगाडि बढ्नुपर्छ र एक्लै चुनावमा जानुपर्छ भन्ने मत कांग्रेसमा बलियो हुँदै गएको छ । माओवादीलाई साथमै लिने र आलोपालो सहमतिअनुसार दुई वर्षपछि प्रधानमन्त्री बन्ने दिन पर्खेर बसेका सभापति शेरबहादुर देउवा पनि प्रचण्डको पछिल्लो कदमबाट रुष्ट भएका छन् । अब कुनै पनि अवस्थामा माओवादी र त्यसका अध्यक्ष प्रचण्ड कुनै पनि क्षेत्रमा सहकार्य नगर्ने मनस्थितिमा देउवा पुगेका छन् ।

राजनीतिक समीकरण फेरिएसँगै एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्तिलगायत पार्टीसँग देउवाले छलफल गरिसकेका छन् भने सबै दलबाट सकारात्मक जवाफ पाएको कांग्रेसका नेताहरूले बताएका छन् । 

हिजो सत्ता सञ्चालनमा आफूले कमजोरी गर्ने र दोष जति कांग्रेसलाई थोपर्ने प्रचण्ड चरित्रबाट आक्रोशित भएको कांग्रेसले अब सरकारले बनाउने नीति र संसद्ले बनाउने कानुनमा कांग्रेसको भूमिका कति हुन्छ भनेर देखाइदिने मुडमा पुगेको छ । संसद्को बहुमतले कानुन बनाउने भए पनि शान्ति प्रक्रियालाई पूर्णता दिने र संघीयता कार्यान्वयन गर्ने अत्यावश्यक ऐन निर्माण कांग्रेसको समर्थनबिना सम्भव हुने छैन ।