नेपाली कला क्षेत्रमा दिवाकर भण्डारी सुपरिचित नाम हो । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ मा जन्मिएका भण्डारी लोकप्रिय टेलिशृंखला ‘मेरी बास्सै’का कलाकार (सापटी काका), लेखक तथा निर्देशक हुन् । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा रमाउँदै विगत झन्डै तीन दशकदेखि व्यावसायिक रूपमा नै यसैमा समर्पित भण्डारीले थुप्रै गीत, सडक नाटक, टेलिचलचित्र र चलचित्रहरूमा विभिन्न विधाको अनुभव सँगालिसकेका छन् । प्रस्तुत छ– दर्जनौं सम्मान, पुरस्कार अनि अवार्डबाट विभूषित भइसकेका उनै भण्डारीसँग कालिका महतले गरेको भलाकुसारी
तपाईंले कलाकारितांको यात्रा कहिले र कहाँबाट सुरु गर्नुभयो ?
मेरो कलाकारिता यात्राको थालनी बाल्यकालदेखि नै भएको हो । त्यतिबेला गाउँघरमा हुने पूजाआजा, बिहेबटुलो, चाडबाड आदिमा पुग्थें र रमाइलो गर्दथेँ । त्यसैबाट मैले कला क्षेत्रमा बिउ रोपियोभन्दा हुन्छ । पछि विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमध्ये गायन, नृत्य र अभिनयमा म तिखारिएँ । आठ कक्षासम्म पुग्दा विद्यालयको सांस्कृतिक कार्यक्रममा प्रायः प्रथम हुन थालेँ । अनि १० मा पुग्दा त त्यस्ता कार्यक्रमहरूको संयोजनमात्रै गरिनँ, अन्तरविद्यालय, क्षेत्रस्तरीय, जिल्लास्तरीय, अञ्चलस्तरीय आदि कार्यक्रममा सर्वोत्कृष्ट कलाकारको रूपमा चिनिएँ । मैले २०५१ सालमा माछापुच्छ्रे माविबाट एसएलसी पास गरेलगत्तै चेतनामूलक सडक नाटकको लेखन/निर्देशन गरेको छु ।
कलाकारिता रहरले गर्नुभयो कि पैसा कमाउने उद्देश्यले गर्नुभयो ?
रहर, चाहना, रुचि, सोख त छँदैछ त्यसको अलावा पैसाका लागि व्यावसायिक कलाकारिता पनि भयो नि । त्यतिबेला दैनिक ८० रुपैयाँको दरले काम गरेको मेरो मानसपटलमा अझै ताजा छ ।
कहाँ–कहाँ, कुन–कुन भूमिकामा रहेर काम गर्नुभयो ?
मैले २०६६ सालमा नेपाली चलचित्र ‘चिनो’ मा अभिनय गरें । २०६७ मा टेलिचलचित्र ‘मेरी गंगा’ को निर्देशन गरें । यसैगरी २०६८ मा चलचित्र ‘राज’, २०६९ मा ‘कन्यादान’ र २०७० मा ‘नाइँ नभन्नु ल–२’ मा अभिनयमार्फत कला–क्षमता माझें । ‘एके फोट्टी सेभेन’ र ‘गडबडी’ माचाहिँ अभिनयका साथै मुख्य सहायक निर्देशन गरें । यस्तै २०७२÷०७३ मा टेलिचलचित्र ‘ल खत्तम’ मा ७२ भागसम्म अभिनय, लेखन र निर्देशन गरेँ । २०७३ सालपछि भने मुख्यतः हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा अभिनय, लेखन र निर्देशन गर्दै आइरहेको छु ।
यी विधामध्ये कुन चाहिँ कठिन हुन्छ ?
कठिन त आ–आफ्नो क्षेत्रमा सबै छन् । तर, सबैभन्दा बढी कठिन भनेको निर्देशन हो । कला–मनोरञ्जन क्षेत्रको मियो भनेकै निर्देशन÷निर्देशक हो । यसले सबै विधाका संयोजन र सम्पादन गर्दछ ।
त्यसपछिका दिनमा कसरी अगाडि बढ्नुभयो ?
यसरी सडक नाटकलगायतको काम २०५६ सालसम्म गरेँ । अनि टेलिचलचित्र ‘धुन’ मार्फत अभिनय यात्रा अगाडि बढाएँ । त्यसपछि त दर्जनौं नाटक मञ्चन, लेखन र निर्देशन गरेँें । २०६१ मा ‘एउटै मिल्यो हजारौं हजारमा…’ र ‘दाइ त हङकङको…’ बोलको गीत समावेश गीति एल्बम ‘एउटै मिल्यो हजारौं हजारमा’ ल्याएँ । यही दौरानमा टेलिचलचित्रमा अभिनय, सहायक निर्देशन तथा निर्देशन गरेँं ।
कलाकारिता क्षेत्रमा लागेर राम्रो गरेँजस्तो लाग्छ ?
मलाई त रमाइलो लागेको छ । यसै क्षेत्रमा सन्तुष्ट पनि छु । अहिलेसम्म जे जति पाएको छु, यो सबै कलाकारिता क्षेत्रबाटै पाएको हुँ । पछुताउन पर्ने गरी आजको मितिसम्म केही गुमाएको छैन । लाखौं दर्शकको सद्भाव, माया पाएको छु । कलाकारितामा मैले अझै धेरै गर्न बाँकी नै छ । उद्देश्य टाढाकै लिएको छु । अब अन्तर्राष्ट्रिय स्तरको निर्देशक बन्ने लक्ष्य छ ।
कलाकार बनेर देश र समाजको लागि कत्तिको योगदान गरेँजस्तो लाग्छ ?
मैले कलाकारिताको माध्यमबाट अहिलेसम्म जे जति असल कर्म गरिरहेको छु यो भनेकै समाज–राष्ट्रको लागि हो । विगत ६ वर्षदेखि ५ जना अनाथ बालबालिकाको अध्ययन÷विद्यालय खर्च पनि व्यहोर्दै आएको छु । यसबाहेक भूकम्प, नाकाबन्दी, कोरोना, बाढीपहिरोलगायत महामारी र संकटका बेला सहयोग, उद्धार तथा राहत वितरणजस्ता सामाजिक कार्यसमेत गरिरहेको छु । मेरो सास रहेसम्म समाज र राष्ट्रकै हितमा काम गर्छु ।
तपाईंले गरेको कामको सम्बन्धित पक्षले सही मूल्यांकन भएको छ जस्तो लाग्छ ?
अहिलेसम्म त मज्जाले भएको छ । जस्तो कि म नेपाल रेडक्रस सोसाइटी र लोकदोहोरी गीत प्रतिष्ठान नेपालको आजीवन सदस्य छु । लायन्स क्लब, चलचित्र कलाकार संघ अनि टेलिफिल्म कलाकर्मी मञ्चको सदस्य छु । यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको सचिवालय सदस्य छु । मेरो कला र योगदानको कदरस्वरूप विभिन्न संस्थाले अभिनन्दन, पुरस्कार र अवार्डसहित सम्मान गरेका छन् । चर्चित कलाकार तथा निर्देशकको हैसियतमा मैले ‘नेसनल टेलिफिल्म अवार्ड– २०७९’, ‘नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सव सम्मान’, ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीबाट सम्मान– २०७८’, ‘ढिकुरपोखरी समाज सम्मान– २०७८’, ‘ढिकुरपोखरी युवा क्लब सम्मान– २०७६’ आदि पाएको छु । यस्तै कला–मनोरञ्जनसँग सम्बन्धित कार्यक्रममा कुशल निर्णायकको भूमिका पनि निर्वाह गरेको छु ।
कलाकारिताबाट मानसम्मान मात्रै पाउनु भएको छ कि, आर्थिक उपलब्धि पनि भएको छ ?
मानसम्मानको अतिरिक्त आर्थिकोपार्जन पनि राम्रो छ । ममात्रै होइन, नेपालमा अहिले दक्ष, व्यावसायिक कलाकार आर्थिक रूपमा निकै सबल छन् । मेरो कुरा गर्नुहुन्छ भने म यही पेसाबाट सन्तुष्ट छु । आफ्नो, घरखर्च चल्नेमात्रै होइन, राम्रो कमाइ भएकाले बचत पनि राम्रै छ । फेरि, म धेरै विधामा सक्रिय छु, व्यस्त छु । यस अर्थमा म अरूको तुलनामा महँगो भएकाले आम्दानीसमेत राम्रै हुन्छ ।
प्रतिक्रिया